शनिबार, साउन ४, २०७६

आईपीएल फाइनल : चमकदार चियरलिडर्सको चमकहीन जिन्दगी

| तस्वीर:वीसीसीआई

हैदरावाद – विश्वकै महङ्गो क्रिकेट प्रतियोगिता इन्डियन प्रियिमर लिग (आइपिएल) को फाइनल खेल आज आइतबार हुँदैछ।

दक्षिण भारतको हैदरावादमा हुने यो फाइनल खेलमा आइपिएलका दुई परिचित प्रतिद्वन्द्वी मुम्बई इन्डियन्स र चेन्नई सुपरकिङ्स भिड्दैछन्। 

रोहित शर्मा नेतृत्वको मुम्बई इन्डियन्स र महेन्द्रसिंह धोनी नेतृत्वको चेन्नई सुपरकिङ्स आईपीएलकै सर्वाधिक सफल क्रिकेट टिम पनि हुन्। दुबैले तीन–तीन पटक आईपीएल जितेका छन्। 

जसले जिते पनि यो फाइनल खेल दर्शकको स्मृतिमा लामो समय ताजै रहने पक्का छ। तर, यो फाइनल खेल मात्र होइन, पूरै आईपीएललाई रङ्गीन बनाउने चियरलिडर्सलाई भने कमैले मात्र सम्झेलान्। 

अरुले सम्झिराखे पनि बिर्से पनि चियरलिडर्स आईपीएलको अभिन्न हिस्सा भइसकेका छन्। अब त उनीहरूबिना आईपीएलको कल्पना गर्न पनि गाह्रो हुन्छ। 

बद्लिँदो क्रिकेट संस्कृति

विभिन्न देशबाट आएका यी चियरलिडर्सले भारतको परम्परागत क्रिकेट सोच र संस्कृति नै बदल्दैछन्। 

क्रिकेटलाई धार्मिक अनुष्ठान ठान्ने परम्परावादी क्रिकेटप्रेमीहरूले पनि अहिले आईपीएलमा चियरलिडर्सको उपस्थितिलाई केही सहज रुपमा लिन थालेका छन्।

तस्वीर : वीसीसीआई

सन् २००८ मा आइपीएल सुरू हुँदा केही नेताले चियरलिडर्र्सको विरोध गरे। चियरलिडर्सका कारण क्रिकेट भ्रष्ट हुने उनीहरूको भनाइ थियो। क्रिकेटको गरिमा जोगाउन चियरलिडर्सको प्रयोगमै प्रतिबन्ध लगाइनुपर्ने माग पनि कतिपयको थियो। 

खासगरी चियरलिडर्सले लगाउने छोटा पहिरनप्रति परम्परावादी क्रिकेटप्रेमीहरूको आपत्ति थियो। उनीहरूको भावनामा चोट नपुगोस् भन्ने उद्देश्यले कतिपय सहरमा चियरलिडर्सको पहिरनलाई ‘शालीन’ बनाइएको पनि छ। रोयल च्यालेञ्जर्स बैंग्लोरमा महिलासँगै पुरूष चियरलिडर्स पनि राख्ने गरिएको छ। 

‘हामी खेलाडीहरूलाई खेल जित्न सहयोग गर्छौं। तर, हामीलाई उनीहरूसँग भेट्न र अन्तरक्रिया गर्न दिइँदैन।’ 

ब्याट्स्म्यानले चौका वा छक्का हान्दा संगीत र धुवाँको विस्फोट हुन्छ। आकाशभरि झिलिमिलि ‘पम–पम’ छरिन्छन्। र, छोटा ‘स्कर्ट’ र टिमिक्क ‘टप्स’ लगाएका चियरलिडर्स मुस्कुराउँदै उफ्रिन्छन्। गर्मी बढेर ४० डिग्री नै किन ननाघोस्, उनीहरू नाचिरहन्छन्।

बेलायत, ब्राजिल, क्यानडा, रूस, दक्षिण अफ्रिका र अन्य देशबाट आएका चियरलिडर्सको समूहले प्रत्येक वर्ष आइपिएल खेल्ने टिमलाई आठ सातासम्म देशभरि पछ्याउँछन्। खेलाडीले महँगा र विलासी फ्लाइट र होटेल पाउँछन्। तर चियरलिडर्सले भने ‘बजेट’ सुविधा मात्रै पाउँछन्।

बन्धनमा चियरलिडर्स

हेर्दा स्वतन्त्र र निष्फिक्री झैं लाग्ने चियरलिडर्सहरू वास्तवमा धेरे बन्धनमा बाँधिएका हुन्छन्। दिल्ली क्यापिटल्सको चियरलिडर टोलीकी सदस्य केली स्मिथ भन्छिन्, ‘थुप्रै नियम बनाइएका छन् – खेलाडीहरूलाई नहेर्नु, हेरेर नहाँस्नु, आदि।’ 

बेलायतबाट आएकी २४ वर्षीया स्मिथ थप्छिन्, ‘हामी खेलाडीहरूलाई खेल जित्न सहयोग गर्छौं। तर, हामीलाई उनीहरूसँग भेट्न र अन्तरक्रिया गर्न दिइँदैन।’ 

चियरलिडर्सले दशर्कबाट दुर्व्यवहार पनि भोग्ने गरेका छन्। स्ट्याडियममा चियरलिडर र फ्यानबीच धातुले बनेको पर्खाल लगाइएको हुन्छ। यद्यपि, उनीहरूको अनलाइन ट्रोल रोकिएको छैन। भीडले गर्ने त्यस्तो दुव्र्यवहार निकै भयावह पनि हुन्छ।

दुःख दिनलाई सामाजिक सञ्जालमा कसैले नक्कली ‘अकाउन्ट’ खोलिदिएको चार्ली च्याप्पेलाले बताइन्।

‘चियरलिडिङ गर्दाको फोटो राखेछन् । उनीहरूले मलाई धम्क्याए। भारतमा किन आएको भनेर पनि सोधे,’ उनले भनिन्।

चियरलिडर्स र महिला हिंसा

सन् २०१२ मा २३ वर्षीया विद्यार्थीको सामुहिक बलात्कार र हत्यापछि भारतले सारा विश्वको ध्यानाकर्षण गर्‍यो। घटनाको देशव्यापी विरोध पनि भयो। यौन उत्पीडकविरूद्ध नेताहरूले कडा सजाय लागु गरे। कानूनी सुनुवाइलाई पनि तीव्रता दिए। तर महिलाविरूद्ध हुने हिंसा रोक्न व्यवस्थापिका असमर्थ रहेको अभियन्ताहरूले निरन्तर दाबी गरिरहे।

सन् २०१६ को पछिल्लो सरकारी तथ्याङ्क अनुसार भारतमा दैनिक सयभन्दा धेरै बलात्कारका घटना दर्ता हुन्छन्। 

‘अविश्वसनीय अवसर’ भएकाले यो काम सुरू गरेको च्याप्पेलाले बताइन्।

‘आमाले मलाई भारत सम्बन्धी एउटा किताप दिनुभयो । दिल्ली महिलाका लागि अनुपयुक्त भएको एउटा पृष्ठमा लेखिएको थियो,’ च्याप्पेलाले भनिन्। ‘तर गहिरिएर सोंच्दा, यस्तो विश्वमा जहीं पनि हुनसक्छ।’

‘मैले भारतमा मात्रै चियरलिडिङ गरेकी छु। यहाँको सँस्कृति, मानिस, पागलपन – एकदमै कुल छ,’ क्यानडाकी लिन्डा लोपातिन्स्कीले भनिन्।

‘भारतीय पुरूषको सवालमा, मलाई खासै चिन्ता छैन। यो मेरो मात्रै सोंच हो। पक्कै पनि केही मानिसहरू भिन्न तरिकाले सोंच्दछन् । हामी यहाँ व्यावसायिक काम गर्न आएका हौं।’

एजेन्सीहरूमा आधारित

 Published Date: Sunday, 12th May 07:13:06 AM