शुक्रबार, असोज ९, २०७७

यसरी घटाउँदैछ भारतले विवाहको खर्च

भारतीय विवाह एकदमै खर्चिला हुन्छन्। विवाह सम्पन्न हुन धेरै दिन लाग्छ। सयौं निम्तालु हुन्छन्।

तर यो पटक सामाजिक प्रतिष्ठालाई जोखिममै राखेर भए पनि धेरै परिवारले खर्च कटौती गर्दैछन्। यो विश्वकै पाँचौं ठूलो अर्थतन्त्र ओरालो लागेको संकेत हो।

भारतीयहरू दैनिक उपभोग्य सामग्रीदेखि जीवनमा एक पटक गरिने विवाहको खर्च पनि घटाइरहेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतको आर्थिक वृद्धि ६ वर्षयताकै न्यून छ। बेरोजगारी चार दशकयता उच्च छ। महँगी पनि बढिरहेको छ। श्याम्पुदेखि मोबाइल डाटाको खर्च घट्दै गएको छ।

उदाहरणका लागि पलक पञ्चमियाँले आफ्नो विवाह खर्च एक तिहाइले कटौती गरेकी छिन्। मुम्बईमा हुने विवाहमा उनले लत्ताकपडा र अतिथि खर्च घटाएकी छिन्।
“सुरूमा मैले ७३ हजार भारू पर्ने ड्रेस रोजेकी थिएँ,” उनी भन्छिन्,“तर मेरो प्रेमीलाई धेरै महँगो भएजस्तो लाग्यो। त्यसैले केही सस्ता विकल्प हेर्न म यहाँ आएकी हुन्।” उनी विवाह सम्बन्धी व्यापार मेलामा किनमेल गर्न आएकी थिइन्।

केपिएमजी नामक अनुसन्धान कम्पनीले जनाए अनुसार भारतको विशाल विवाह उद्योगको वार्षिक कारोबार ४० ५० अर्ब अमेरिकी डलर बराबर छ। विवाह मनाउने क्रम एक सातासम्म हुनसक्छ। थुप्रै कार्यक्रम पनि हुन्छन्। विभिन्न परिकारको स्वादसँगै संगीत र नृत्य पनि प्रस्तुत गरिन्छ। उपहार त कति हो कति!

केही कार्यक्रममा सहभागी हुन विदेशीले त टिकट पनि किन्ने गर्छन्। तर आजभोलि केही अत्यन्तै धनाढ्यबाहेक विवाह खर्च घटाउने क्रम सुरू भएको छ। बचत उनीहरूको प्राथमिकता हो। हालै मात्रै अम्बानी परिवारको विवाह समारोहमा दश करोड अमेरिकी डलर खर्च गरिएको खबर छ।

“पहिले भारतीय विवाह विशाल कन्सर्टजस्तै हुन्थ्यो तर अहिले परिवर्तन आएको छ,” मनिन्दर सेठीले भने। उनी देशभर विवाह मेला आयोजना गर्ने वेडिङ एसियाका संस्थापक हुन्।

नोटबन्दी

भारतमा सेप्टेम्बरदेखि जनवरीको मध्यसम्म विवाहको सिजन हुन्छ। सन् २०१६ मा कालो धन नियन्त्रण गर्न ठूलो परिमाणमा नगद झिक्न नपाउने “नोटबन्दी” जारी गर्‍यो। त्यसयता खर्च कम हुन थालेको हो।

मोदीको यो निर्णयले अर्थतन्त्र प्रभावित भएपछि बेहुलीका सामग्री बनाउने मुम्बईस्थित सपना डिजाइन्स स्टुडियो महिनौं बन्द भयो। “कुनै प्रदर्शनी भइरहेका थिएनन्। हाम्रा लागि बिक्री गर्ने कुनै मञ्च पनि थिएन,” स्टुडियोका मालिक विशाल हरियाणीले भने।

सन् २०१७ मा गुड्स एन्ड सर्भिसेज ट्याक्स (जिएसटि) लागू भएपछि बाँकी आशा पनि मर्‍यो।  जिएसटी लागू भएपछि धेरै साना व्यवसाय बन्द भए। त्यसयता स्टुडियो चलाउन विशाललाई चुनौती भएको छ। ग्राहकहरू खर्च गर्नै नमान्ने उनले बताए।

“हामी ग्राहकको बजेट अनुसार कपडा तयार गर्छौं। एक सातासम्म विवाह अचेल ३६ घण्टे समारोहमा रूपान्तरण भएको छ,” उनले भने, “हामीले जिएसटी तिर्नुपर्छ। कामदारलाई पैसा दिनुपर्छ र ग्राहकलाई पनि छुट दिनुपर्छ।”

दु: ख र लाज

अनिश्चित आर्थिक अवस्थाका कारण भारतको मध्यम वर्गीले नगद बचत गर्न थालेका छन्।

“पुरै अर्थतन्त्र सुस्ताएको छ। नतिजा विवाह खर्च घटेको छ। अत्यन्तै धनाढ्यबाहेक सबै प्रभावित छन्,” इन्डएसिया फन्ड एड्भाइजर्सका प्रदीप साहले भने।

विवाहका लागि असाध्यै खर्च गर्ने भारतीयहरू कर्जा लिनसमेत पछि पर्दैन थिए। तर भव्य समारोहलाई सामाजिक प्रतिष्ठाको रूपमा हेरिने भएकाले अहिलेको परिस्थिति दु:ख र लाज बनेको छ।

“हामीले छिमेकी समेत बोलाएका छैनौं। यो लाजको विषय हो तर अहिलेको परिस्थितिले हामीलाई अर्को बाटो पनि दिएको छैन,” ५२ वर्षीया तारा शेट्टीले भनिन्। उनको छोराको विवाह हुँदैछ।

“मेरो समयमा हामी धेरै खर्च गर्थ्यौं। हजारौं मानिस निम्त्याइएका हुन्थे,” उनले भनिन्,“मेरो विवाह एकदमै भव्य भएको थियो। तर अहिले मेरै छोराको विवाह त्यसको ठ्याक्कै विपरीत हुँदैछ।”
 

 Published Date: Saturday, 11th January 2020 2:18:48 am