शुक्रबार, असोज १६, २०७७

जलवायु परिवर्तनको असरले सगरमाथामा घाँस उम्रिदैछ

पृथ्वीमा तापक्रम तिव्रगतिमा बढिरहेको छ । यसको प्रत्येक्ष असर हिमालय क्षेत्रमध्ये सगरमाथामा देखिन थालेको छ । सगरमाथा लगायत हिमालयमा घाँस र झाडी देखा पर्न थालेका छन्।

वनस्पतीको सानो तर उल्लेखनीय वृद्धिले पानीको श्रोतमा पर्ने प्रभावको जानकारी अहिले उपलब्ध नभए पनि हिन्दुकुश हिमालय क्षेत्रमा बाढीको सम्भावना बढ्नसक्छ। एसियाको दशवटा ठूलो नदी प्रणालीमा यसले पानी आपुर्ति गर्छ। यहाँबाट १.४ अर्ब मानिसले पानी उपभोग गरिरहेका छन्।

वनस्पति उम्रिने सबैभन्दा अग्लो क्षेत्रमा वनस्पतिको वृद्धि पहिचान गर्न वैज्ञानिकहरूले स्याटलाइटको तथ्याङ्क प्रयोग गरेका छन्। त्यहाँ झार र साना झाडी उम्रिएका छन्। त्यहाँ मौसमी हिउँ पर्छ।  यसले सो क्षेत्रकै जलविज्ञानमा महत्त्वपूर्ण भूमिका खेल्नसक्छ।

नासाले उपलब्ध गराएको सन् १९९३ देखि २०१८ सम्मको तस्बिर अध्ययन गरेर एक्जेटिर विश्वविद्यालयका अनुसन्धाताले समुद्र सतहभन्दा ४,१५० देखि ६ हजार मिटर अग्ला चार वटा क्षेत्रमा वनस्पतीको विस्तार मापन गरेका छन्।

यो शताब्दी सुरू भएदेखि हिमालयका ग्लेसियर पग्लिन सुरू भएको छ। चार दशकमा झण्डै एक चौथाइ हिउँ पग्लिसकेको छ। वनस्पतीमा जलवायु परिवर्तनले ल्याएको परिवर्तनले त्यहाँको पारिस्थिकीमा ठूलो जोखिम भएको अनुसन्धानले देखाएको छ।

“हिमालयमा हिउँ पग्लिने क्रमबारे थुप्रै अध्ययन भएका छन्। एउटा अध्ययनमा सन् २००० देखि २०१६ सम्म हिउँ पग्लिने क्रम दोब्बर भएको देखिएको छ,” एक्जेटिर पेनरिन क्याम्पसको इन्भाइरोन्मेन्ट एन्ड सस्टेनेबिलिटी इन्स्टिट्युटकी डा. क्यारेन एन्डरसनले बताइन्।

“प्रमुख हिमाली प्रणालीमा हिउँको क्षति अनुगमन गर्नु र बुझ्नु महत्त्वपूर्ण छ। तर सबनिभल पारिस्थिकी (वनस्पती उम्रिने सबैभन्दा अग्लो स्थान) स्थानीय हिउँभन्दा धेरै ठूलो क्षेत्र छ। उक्त क्षेत्र र त्यसले पानीको आपुर्तिमा कस्तो भूमिका खेल्छन्, त्यसबारे हामीलाई थोरै मात्र जानकारी छ” उनले भनिन् । 

थप वनस्पतीले पानीको आपुर्तिमा कस्तो प्रभाव पार्छ त्यसको जानकारी नभए पनि आर्कटिकमा बढ्दो वनस्पती सम्बन्धी अध्ययनले वरपरको परिदृश्यमा न्यानो प्रभाव पारेको पत्ता लगाएको छ। वनस्पतीले बढी प्रकाश सोस्ने र माटो न्यायो हुने देखिएको छ।

“हिमालयका लागि यो राम्रो समाचार होइन,” एन्डरसनले भनिन्, “सबनिभल क्षेत्रमा मौसमी हिउँ पर्छ। यहाँको तापक्रम बढे हिउँ छिटो पग्लिन्छ र बाढीको जोखिम हुन्छ।”

तर वनस्पतीको वृद्धिले हिमालय क्षेत्रमा तापक्रम बढ्ने र बाढीको जोखिम नहुन पनि सक्ने बताइन्। तिब्बतमा गरिएको एउटा अध्ययनले वनस्पतीको पातबाट वाष्पिकरण भएको पानीले खासमा चिस्यानजस्तै प्रभाव पार्ने देखाएको छ।

“यो क्षेत्रबारे हामीलाई खासै केहि थाहा छैन। हामीले यसबारे अनुसन्धान गर्नुपर्छ किनभने हिमालयमा यो नै पानीको मुख्य श्रोत हो,” उनले बताइन्।

ग्लोबल चेञ्ज बायोलोजीमा प्रकाशित अध्ययन प्रतिवेदन गुगलको नयाँ अर्थ इन्जिनले सम्भव भएको हो। इन्जिनमार्फत् क्लाउडमा आधारित सरकारी स्याटलाइट डाटा सजिलै प्रयोग गर्न मिल्छ। यसअघि स्याटलाइट डाटा हेर्नलाई मात्रै अनुसन्धाताले सुपर कम्प्युटर बनाउनुपर्थ्यो।

“यसले वास्वतमै यस्ता काममा क्रान्तिकारी परिवर्तन ल्याएको छ। ठूलो परिमाण, लामो समय श्रृङ्खलाका अनुसन्धातालाई यसले सजिलो बनाएको छ,” एन्डरसनले भनिन्।
दि गार्जियन

 Published Date: Sunday, 12th January 2020 1:21:59 am