मंगलबार, भदौ ३, २०७६

बालबालिकालाई यौन दुर्व्यवहार भए-नभएको चिन्न कसरी सिकाउने?

समाचारपत्र होस् वा सामाजिक सञ्जाल । बाल यौन दुर्व्यवहारका भयानक समाचार प्रत्येक दिन पढ्न पाइन्छ। बाल यौन दुर्व्यवहारको रोकथाममा केन्द्रित परामर्शदाताको रूपमा मलाई धेरैले प्रायः एउटै प्रश्न सोध्ने गर्छन्   “यौन दुर्व्यवहारका घटना पहिलेभन्दा अहिले बढेको हो?” नयाँ आरोपको बग्रेल्ती बढेका हुन् कि भनेर जान्न स्याहारकर्ता र शिक्षकहरू उत्सुक छन्।

यो उचित प्रश्न हो। यसको उत्तर सजिलो छैन। यौन दुर्व्यवहार सम्बन्धी अपराधिक घटनाबारे कमै मात्र उजुरी पर्छन्। तर यो दुःखद घटनाको अनुभवबारे कुरा गर्ने धेरै मञ्च उपलब्ध छन्। 

बिस्तारै ती अँध्यारा स्थान उघ्रिदै आउन थालेका छन् । जहाँ ती दोषी लुक्दै आएका छन्। यसको कुकृत्यलाई सहयोग गर्नेहरूको पोल पनि खुल्न थालेको छ। त्यसैले विश्वासिला पादरी वा परिवारका सदस्यले गरेको दुर्व्यवहार पढ्न कठिन र साक्षी बन्न पीडादायी हुने भए पनि अन्ततः आवाजविहीनको आवाज बन्न थालेकोमा म खुशी छु। 

तथ्याङ्कहरूको आधारमा संयुक्त राज्य अमेरिकामा दशमध्ये एक बालबालिका १८औं जन्मदिन मनाउनुअघि नै यौन दुर्व्यवहारमा पर्ने गरेका छन्। हामी यो विषयबाट टाढा भाग्न सक्दैनौं।

पीडितको कथा बाहिरिदैं जाँदा अब नयाँ युगको सुरूआत भएको छ। फेब्रुअरीमा न्यूयोर्कले चाइल्ड भिक्टिम्स एक्ट लागु गरेको छ। अब बाल यौन दुराचारका दोषीलाई कारवाही गर्ने दायरा फराकिलो भएको छ। पीडितले न्याय पाउने बाटो पनि फराकिलो भएको छ। 

जूनमा न्यूयोर्कको स्टेट एसेम्ब्लीले “एरिन्स ल” पारित गर्यो । जसअनुसार सबै सार्वजनिक विद्यालयमा यौन दुर्व्यवहारसम्बन्धी शिक्षा अनिवार्य गरिएको छ। अब रोकथाममा केन्द्रित हुने समय आएको छ। जीवनमा कठिनाइ झेलिरहेका र जोखिममा रहेका बालबालिका पहिचान गर्न अपराधीहरू खप्पिस छन्। तर बालबालिकालाई सुरक्षा दिन आमाबाबु र स्याहारकर्ताले धेरै काम गर्न सक्छन्।

यौन दुरव्यवहारबाट बच्न के सिकाउने?

१.    बालबालिकालाई उनीहरूको भावना महत्त्वपूर्ण र उनीहरू सम्मानयोग्य भएको सिकाउनुहोस्। तर यसको अर्थ उनीहरूले मन लागेको गर्न पाउने भन्ने अर्थ लगाउनु हुँदैन। बालबालिकाले आफ्नो भावना सुनाउँदा हामीले त्यसलाई मान्यता दिनुपर्छ भन्न मात्रै खोजिएको हो। 

बालबालिकाले सम्मान पाए र उनीहरूको भावनाले मान्यता पाए, उनीहरू स्वयंबारे सचेत हुन्छन्। आफ्नो भावना चिन्न पनि सहयोग पुग्छ। हाम्रो भावना पहिचान गर्नसक्नु नै केहि खराब भइरहेको कुरा जान्नुको पहिलो पाइला हो। बालबालिकालाई सजिलै बहकाउन सकिन्छ भन्ने तथ्यमा अपराधी आश्रित हुन्छन्। के ठीक र के बेठीक भनेर खुट्याउन सक्ने बालबालिका जोखिमबाट बच्न सक्ने सम्भावना बढी हुन्छ।

२.    बालबालिकाहरूलाई शरिरको गोप्य अङ्ग कसैले पनि छुन, हेर्न वा त्यसबारे कुरा गर्न हुँदैन भनेर सिकाउनुहोस्। अस्पताल लगायत उपयुक्त स्थानबाहेक अन्यत्र गरिएका यस्ता कार्य अनुचित हुनेबारे बताउँनुहोस्। 

बालबालिकाहरू दुई वर्ष पुग्दानपुग्दै यो अवधारणा बाँड्नुहोस्। उनीहरूलाई नुहाइदिदाँ वा शौचालयको बानी बसाउने क्रममा पनि यो अवधारणा सिकाउन सकिन्छ। बच्चा ठूलो हुँदै जाँदा यो संवाद विस्तृत हुनसक्छ। विभिन्न परिस्थिती, संवाद वा अभिनय गरेर पनि यसबारे छलफल गर्न सकिन्छ। यो नियम सबैमा लागु हुन्छ भनेर बच्चाले थाहा पाएको सुनिश्चित गर्नुहोस्। धेरै बालबालिकालाई तपाईंले नबताएसम्म यसबारे थाहा हुँदैन।

३.    शरिरका गोप्य अङ्गबारे कहिले कुरा लुकाउनु हुँदैन भनेर बालबालिकालाई सिकाउनुहोस्। डाक्टरले उनीहरूको गोप्य अङ्ग हेरेर कुनै समस्या भए नभएको पत्ता लगाउने भएकाले त्यो अनुचित नहुनेबारे बताउनुहोस्। डाक्टरले परीक्षण गर्दा आमाबाबु पनि त्यहाँ उपस्थित हुनुहोस्। नभए बालबालिका डाक्टरकहाँ गएको र परीक्षणका क्रममा भएका घटनाबारे जानकारी राख्नुहोस्। 

उनीहरूलाई “सिक्रेट” र “सरप्राइज” को भिन्नताबारे बुझाउनुहोस्। सरप्राइजबारे थाहा हुने र थाहा पाएपछि सहज र खुशी लाग्छ। तर कहिले पनि कसैलाई बताउन नहुने सिक्रेट ठीक हुँदैन। त्यसले हामीलाई दुखी बनाउने र दुविधामा पार्नेबारे बालबालिकालाई बताउनुहोस्। दोषीले बालबालिकासँग गरेका गतिविधि गोप्य राख्ने प्रयास गर्ने भएकाले यसबारे जानकारी दिनु अत्यन्त महत्त्वपूर्ण छ।

४.    बालबालिकाले आफूनजिकका वयस्कलाई आदर्श मान्छन्। बालबालिकाले गरेका अनुभवको अर्थ बुझ्न उनीहरूकै सहयोग लिन्छन्। त्यसैले आफ्नै कथा सुनाउनुहोस्। सकेसम्म धेरै भावना र अनुभूति पनि बाँड्नुहोस्। यसले बालबालिकालाई आफ्नै अनुभव बाँड्न सहजता हुनेछ। यसबाट आफ्नो भावना अभिव्यक्त गर्नुको अर्थ र महत्त्वबारे पनि बालबालिकाले थाहा पाउनेछन्।

उनीहरूले नबुझेका प्रश्नहरू पनि आउनसक्छन्। तपाईंले सुनाउने कथाहरू दुर्व्यवहारसँगै सम्बन्धित हुनुपर्छ भन्ने छैन। बालबालिकासँग गरिने यस्ता सञ्चारले उनीहरूलाई रिस, दुविधा, खुशी र दुःखको भावना बाँड्न सहयोग पुग्नेछ। अरूलाई पनि त्यस्तै अनुभव हुँदोरहेछ भनेर पनि बुझ्नेछन्। बालबालिकालाई छुनअघि उनीहरूको अनुमति लिनुहोस्। बालबालिकालाई साना साना विषयमा अनुमित लिदाँ, उनीहरूको शरिरमाथि उनीहरूकै नियन्त्रण भएको बोध हुन्छ। यसले उनीहरूलाई दोषीबाट सुरक्षित हुन सहयोग गर्नेछ।

५.    बालबालिकालाई “नाइँ” भन्न सिकाउनुहोस्। भावनात्मक इमान्दारी र शारीरिक सीमाबारे बालबालिकालाई सिकाउँदा उनीहरूलाई शरिरमाथि नियन्त्रण राख्न सहयोग पुग्नेछ। “नाइँ। मलाई अँगालो नहाल्नुहोस्। तर हात मिलाउन सक्नुहुनेछ” भन्न सिकाउँदा उनीहरूले विकल्पको छनोट गर्न सक्छन् भन्ने बुझ्नेछन्। यति गर्दा पनि दुर्व्यवहार वा दुर्व्यवहार गर्नेलाई बालबालिकाले रोक्न सक्छन् भन्ने छैन। यौन दुर्व्यवहारबाट पीडित बालबालिकाले दुर्व्यवहारको घटना खोल्दैनन्। त्यसैले उनीहरूले “नाइँ” भन्न नसके वा भाग्न पनि नसके, कम्तिमा भएको दुर्व्यवहारबारे कसैलाई बताउन सक्छन् भन्ने बुझाउनु अत्यन्तै महत्त्वपूर्ण छ। जे जस्तो भए पनि उनीहरूले भनेका कुरामा विश्वास गर्ने बताउनुहोस्। तपाईंलाई ती कुरा भनेर उनीहरू कुनै समस्यामा नपर्ने पनि बुझाउनुहोस्।

दुर्व्यवहारको घटना खोल्न बालबालिकालाई आमाबाबु र स्याहारकर्ताले सहयोग गर्नसक्छन्। उनीहरूलाई आवश्यक मान्यता र सहयोग पनि पाउनसक्छन्। दुर्व्यवहार रोक्नु पनि उत्तिकै महत्त्वपूर्ण छ। उनीहरूलाई आवश्यक ज्ञान र सीप दिएर कसरी सुरक्षित हुने भन्नेबारे सिक्न र कुनै दुखद परिस्थितीमा सहयोग गर्न सक्छौं भन्ने बुझाउन हामीले सहयोग गर्न सक्छौं।

लेखक डा. शानी जोल्डान भर्स्चलाइजर बाल यौन दुर्व्यवहार रोकथाम गर्न प्रतिबद्ध मगेनु नामक संस्थाका प्रमुख कार्यकारी अधिकृत हुन्। यो लेख न्यूयोर्क टाइम्सबाट नेपाली अनुवाद गरिएको हो। 
 

 Published Date: Tuesday, 13th August 07:13:36 AM