मंगलबार, भदौ ३, २०७६

नदीका विशाल प्रजातिहरु तीव्र गतिमा लोप हुँदै गएको नयाँ अनुसन्धानको ठहर

कुनै समय विश्वको नदी र तालमा राज गरेका विशाल प्रजातिका जीवको संख्या गएको ५० वर्षमा मासिँदै गएको नयाँ अध्ययनले देखाएको छ।

ताजा पानीका याङ्जे डल्फिनजस्ता केही विशाल जीव लोप भइसकेका छन्। अब मिकोङ जायन्ट, क्याटफिश र स्टिङरेदेखि भारतको घडियाल र युरोपको स्टर्जनसम्म लोप हुने खतरामा छन्। मात्रै तीनवटा चिनियाँ जायन्ट सफ्टशेल कछुवा जीवित पाइएका छन्। 

त्यसमा पनि सबै भाले हुन्। युरोप, उत्तर अफ्रिका र एसियाभरि यस्ता जीवको संख्या सन् १९७० यता ९७ प्रतिशतले घटेको छ।

मासु, छाला र अण्डाका लागि गरिने हत्याले उनीहरूको संख्या घटाएको हो। त्यसमाथि कृषिका लागि आवश्यक पर्ने ताजा पानीको प्रयोग र बढ्दो प्रदुषणले समस्या झन् बढाएको छ। वैज्ञानिकहरूले ७२ देशका एक सय २६ प्रजातिको मुल्याङ्कन गर्दा ठूला जीवको संख्या औसत ८८ प्रतिशतले घटेको पाइएको छ।

“विभर” जस्ता धेरै प्राणीहरू उनीहरूको पर्यावरणीय प्रणालीमा मुख्य प्रजाति हुन्। उनीहरूको संख्या घटे जीविकाका लागि पानीमा निर्भर सबै प्राणी तथा वनस्पतिमा गम्भीर प्रभाव पर्ने अनुसन्धाताले बताएका छन्।

“यी प्रजातिको अवस्थाबारे यो नतिजाले हामीलाई सावधान गराएको छ,” अमेरिकाको युनिभर्सिटी अफ नेभाडाका जेब होगनले भने, “तीमध्ये धेरैजसो लोप हुने जोखिममा छन्। अधिकांशलाई हाम्रो सहयोग आवश्यक छ। धेरै ढिलो हुनुअघि नै हामीले उनीहरूबारे बुझ्नुपर्छ र सुरक्षित राख्नुपर्छ।”

दक्षिणपूर्वी एसियाको मिकोङ नदी पृथ्वीकै सबैभन्दा धेरै विशाल प्रजातिका माछा पाइन्छन्। होगनले त्यहाँ दुई दशकसम्म काम गरेका छन्। तिव्र गतिमा बढिरहेको जनसंख्या विशाल प्रजातिका माछामा दबाव सिर्जना गर्दा तिनीहरूको संख्या करिब शुन्यमा झरेको होगन बताउँछन्।

मिकोङ नदीमा विश्वकै ठूलो क्याटफिश पाइन्छ। यसको तौल तीन सय केजीसम्म हुन्छ। यहाँ सबैभन्दा ठूलो प्रजातिको कार्प र फ्रेशवाटर स्टिङरे पनि पाइन्छ। सबैलाई दुर्लभ र लोप हुने गम्भीर खतरामा वर्गीकरण गरिएको छ। 

तीस केजीभन्दा ठूला तौलका माछालाई “रिभर जायन्ट” भनिन्छ। विश्वभरि नै उनीहरूको संख्या घटिरहेको छ। “कुनै समय जताततै पाइने युरोपियन स्टर्जियन युरोपका सबै प्रमुख नदीबाट नाश भइसकेका छन्। यो प्रजाति अहिले फ्रान्सको ग्यारोनमा मात्रै पाइन्छ,” ग्लोबल चेञ्ज बायोलोजी नामक जर्नलमा प्रकाशित अनुसन्धाताहरूको प्रतिवेदनमा उल्लेख छ। यसको अर्थ सो प्रजातिका माछा पाइने क्षेत्र ९९ प्रतिशतले घटेको छ।

युरेसियन बिभर पाइने क्षेत्र पनि आधाभन्दा धेरै हराएको छ। तर यसलाई संयुक्त अधिराज्य, गणतन्त्र चेक, एस्टोनिया, फिनल्यान्ड र अन्यत्र भित्र्याउने काम भइरहेको छ। यो जनावर वासस्थानको एउटा महत्त्वपूर्ण इञ्जिनियर हो।

जलविद्युतको बाँध निर्माणले एमजन, कङ्गो र मिकोङजस्ता नदीमा ठूला प्रजातिका माछाले सामना गर्नुपरेको खतरा चिन्ताजनक भएको अनुसन्धाताले बताएका छन्। 

ठूला प्रजातिका प्राणीलाई ठूलो क्षेत्र चाहिन्छ। बाँधले उनीहरूको मार्ग र खानाको क्षेत्र छेक्छ। विश्वकै ठूला दुई तिहाइ नदी निर्बाध बग्दैनन्।

ताजा पानीका प्राणी जमिनका पशुभन्दा छिटो घट्दैछन्। नदी र तालका विशाल प्राणी घट्दा पनि साना प्राणी र वनस्तपतिलाई जोखिम छन्।

“जैविक विविधताको हानि हाम्रो पृथ्वीले सामना गर्नुपरेको सबैभन्दा ठूलो चुनौतीमध्ये एक हो। यसले पर्यावरणीय सेवाको नष्ट गरिरहेको छ भने मानवीय हित जोखिममा छ,” अनुसन्धाताले चेतावनी दिएका छन्।

पृथ्वी छैठौं “मास एक्सटिङ्कसन” को सुरूमा पुगेको केही वैज्ञानिकको विचार छ। मे महिनामा, वन्यजीवनको विनाशले विश्वभर अर्थतन्त्र, जीविका, खाद्य सुरक्षा, स्वास्थ र जीवनको गुणस्तर खस्काइरहेको एउटा प्रतिवेदन सार्वजनिक भएको थियो।

यद्यपि नयाँ अध्ययनले निरन्तरको संरक्षण प्रयासले केही सफलता हात परेको उल्लेख गरेको छ। अमेरिकामा स्टर्जनका दुई प्रजाति, अमेरिकन बिभर र एसियन इरावदी रिभर डल्फिनको संख्या बढेको अध्ययनमा उल्लेख छ।
 

द गार्जियनबाट नेपाली अनुवाद

 Published Date: Monday, 12th August 07:28:31 AM