आईतबार, फागुन ११, २०७६

डेनमार्कले हावाबाट उत्पादन गर्‍यो ४७ प्रतिशत ऊर्जा 

पोहोर साल डेनमार्कले विद्युत खपतको झण्डै आधा माग हावाबाट उत्पादन गरेको छ। यसमा तीव्र खर्च लागत कटौती र प्रविधिको ठूलो योगदान छ।

डेनमार्कको ग्रिड सञ्चालक एनर्जीनेटले ४७ प्रतिशत ऊर्जा हावाबाट उत्पादन भएको जनाएको हो। यसअघि सन् २०१८ मा ४१ प्रतिशत र सन् २०१७ मा ४३ प्रतिशत ऊर्जा हावाबाट उत्पादन गरिएको थियो।

वायु ऊर्जाको सदुपयोग गर्नेमा युरोपेली देशहरू अग्रणी छन्। तर सबैलाई डेनमार्कले उछिनेको छ। प्रतिस्पर्धी आयरल्यान्डले सन् २०१८ मा २८ प्रतिशत वायु ऊर्जा उत्पादन गरेको विन्डयुरोपको तथ्याङ्क छ। पोहोर साल युरोपेली संघभर १४ प्रतिशत वायु ऊर्जा खपत भएको छ।

अगष्टमा नर्थ सिस्थित होर्न्स रेभ ३ अफशोर विन्ड फार्मबाट भाट्टेनफल सञ्चालनमा आएपछि डेनमार्कको वायु ऊर्जा उत्पादनमा आंशिक वृद्धि भएको हो। समुद्रका वायु टर्बाइनले गत वर्ष १८ प्रतिशत ऊर्जा उत्पादन गरे। एनर्जीनेटले जनाए अनुसार सन् २०१८ मा त्यहाँबाट १४ प्रतिशत वायु ऊर्जा उत्पादन भएको थियो। पोहोर सालको अनशोर वायु ऊर्जा भने २९ प्रतिशत रह्यो।

अहिले विश्वभरि खपत भइरहेको ०.३ प्रतिशत बिजुली समुद्रमा बनाइएका वायु टर्बाइनबाट उत्पादन भए पनि आउने दुई दशकमा यो क्षमता १५ गुणाले बढ्ने इन्टरनेसनल एनर्जी एजेन्सी (आइए) ले गत अक्टोबरमा जनाएको थियो।

हरितगृह ग्याँसलाई सन् २०३० सम्म ७० प्रतिशतले घटाउने डेनमार्कको लक्ष्य छ। पोहोर साल पारित गरेको नयाँ जलवायु कानून अनुसार नवीकरणीय ऊर्जाबाटै शत प्रतिशत बिजुली उत्पादन गरिनेछ।

भेस्टासजस्तो ठूला वायु टर्बाइन कम्पनी डेनमार्कमै छ। विश्वकै ठूलो अफशोर विन्ड निर्माता ओर्स्टेड पनि डेनमार्कमै छ। डेनमार्कले सन् १९७० को दशकदेखि वायु ऊर्जामा वृहत लगानी सुरू गरेको हो।
 

 Published Date: Tuesday, 7th January 07:03:21 AM