बिहीबार, साउन २९, २०७७

कोरोना भाइरसको खोप परीक्षणका मेरा तीता-मिठा अनुभव

अक्सफोर्ड विश्वविद्यालयले कोरोना भाइरसको खोप परीक्षण गर्न लागेको सूचना ट्वीटरमार्फत पाएपछि खोप परीक्षणमा सहभागी हुने निधो मैले लिएँ।

आवश्यक व्यक्तिगत तथा स्वास्थ्य सम्बन्धी विवरण भरेर अर्को साता सेन्ट जर्ज विश्वविद्यालयमा खोप परीक्षणका लागि उपस्थति भएँ। मलाई डाक्टर इभा गलिजासँग भेट्न भनिएको थियो। उनको कार्यकक्षमा पुग्दा सूचना पाए १० मिनेटअघि उनी बाहिरिएकी थिइन्।

१० हजार जनामा त्यस खोप परीक्षण गर्ने भनेको अक्सफोर्ड विश्वविद्यालयले त्यस दिन उपस्थितिको अन्तिम मिति भनेको थियो। परीक्षणका लागि भनेर त आएँ तर मेरो चाहना व्यर्थ हुन्छ कि झैँ भयो।

गालिजाको अनुपस्थितिमा पनि उनको टिमले मलाई भ्याक्सिन लगाइदिने निधो गरे। गालिजाको जस्तो परामर्श उनीहरुले दिन नसक्ने हो कि भन्ने मेरो मनमा बेचैनी भयो। गालिजा हुन्थिन् भने उनले मलाई सम्पूर्ण व्याख्या गरेर निश्चिन्त पार्थिन्। एक साताअघि फोटो तथा भिडियोमार्फत व्याख्या गर्दै उनले मलाई आश्वस्त तुल्याएकी थिइन्।

मैले हेरेको दृश्यमा चिम्पान्जीमा रुघाखोकी लगाउने भाइरसले पनि उसको श्वासप्रश्वासमा पुर्‍याएको असर र कोरोना भाइरसले श्वासप्रश्वासमा पुर्‍याउने असर समान प्रकृतिको रहेको व्याख्या अनुसन्धानकर्ताले गरेका थिए। 

त्यसकै आधारमा भ्याक्सिन तयार पारिएको अनुसन्धानकर्ताहरुले बताइरहेका थिए।

चिम्पान्जीमा देखिएको भाइरसको आनुवंशिक बदलाव (Genetically Altered) गरेको प्रक्रिया देखाइएको थियो। चिम्पान्जीमा देखा पर्ने भाइरसमा कोभिडले उत्पादन गर्ने प्रोटिन राख्दा ग्लाइकोप्रोटिन उत्पादन भयो। त्यही ग्लाइकोप्रोटिन मानिसको शरीरमा हुँदा कोभिड भाइरसको संक्रमण भएको र त्यसविरुद्ध शरीरको प्रतिरोधात्मक क्षमता बढेमा कोभिड भाइरसबाट मानिसहरु संक्रमित नहुने दृश्यमा दाबी गरिएको थियो।

उनीहरुले बनाएको भ्याक्सिनले शरीरमा ग्लाइकोप्रोटिन विरुद्ध लड्ने क्षमताको विकास गर्न सक्ने अनुसन्धानकर्ताहरुको भनाइ थियो। मर्स र इबोलाको उपचारमा प्रयोग गरिएको भ्याक्सिनमा परिमार्जन गर्दै यो भ्याक्सिन बनाइएको व्याख्या ‍उनीहरुको थियो।

यो परीक्षणको भ्याक्सिन कत्तिको स्वस्थकर छ भन्ने मेरो प्रश्नमा उनको टीमले मलाई चित्त बुझ्दो जवाफ दिन सकेनन्। खैर मैले भ्याक्सिन लगाएँ तर मनमा अनेक शंका उपशंका कायम भइरह्यो। मनमा तर्कना उठ्न थाल्यो, भ्याक्सिनले कस्तो असर गर्ला ? अन्य अंगमा असर गर्ला कि नगर्ला ? मनमा सकारात्मक कुरा पनि खेल्न थाले। मेरो शरीरमा परीक्षण भएको भ्याक्सिन सफल भयो भने त बेलायतीलाई कोरोनाको त्रास हुने छैन। दैनिक ४० हजार कोरोना संक्रमित व्यहोरिरहेको अमेरिकालाई राहत हुनेछ।

१५ लाख कोरोना संक्रमित रहेको ब्राजिलले पनि राहत महसुस गर्नेछ। भाइरसको त्रासले आक्रान्त विश्वले नै सहजता महसुस गर्नेछ। भ्याक्सिन लगाएपछि बढो आत्मविश्वास पैदा भयो, सामुदायिक स्तरमा फैलिरहेको कोरोनाले मलाई अब भेट्ने छैन।

भ्याक्सिन लगाएको एकसातापछि मलाई फेरि बोलाइयो। चिकित्सकहरु भ्याक्सिनको असरबारे बुझ्न चाहन्थे। उनीहरुले मेरो रक्त परीक्षण गरे। स्वाब निकाले। परीक्षण गरिएको एक सातापछि नतिजा हात लाग्यो। मेरो कोरोना नेगेटिभ थियो।

नतिजा नेगेटिभ आएपनि मलाई कोरोना लाग्ने सम्भावना पूर्ण रुपमा भने टरेको हो वा होइन भन्ने ग्यारेन्टी गर्न अनुसन्धानकर्ताहरुले सकेका छैनन्। जबसम्म उनीहरुले मलाई निर्धक्क बनाउन सक्दैनन्, तबसम्म मैले मेरी श्रीमती, छोरी, परिवारलाई संक्रमणको जोखिमबाट बचाउन कडा रुपमा नियममा बाधिनुपर्नेछ।

सन् १९७६ मा स्वाइन फ्लू भ्याक्सिनको परीक्षण गर्दा ३० जना मानिस मरेको घटना मेरो मानसपटलमा घुमिरहेको छ। आशा छ, यो भ्याक्सिनको परीक्षणमा सहभागी १० हजार मानिसमध्ये कसैले ज्यान गुमाउने छैनन्। अक्सफोर्डले गरेको भ्याक्सिन परीक्षण सफल नहुन पनि सक्छ। तर यस्तो चरम निराशावादी वातावरणमा उसको अनुसन्धानले मानिसहरुमा निकै आशा पलाएको छ।

आविष्कारका प्रक्रिया पट्ट्यार लाग्दा नै हुन्छन्। पट्ट्यार लाग्दा परीक्षणले नै विज्ञानलाई सफल बनाउँछ। अक्सफोर्डको कदम पनि सफल होस् विश्वले राहत पाओस्।

(बीबीसी डटकमबाट अनुवादित)

 Published Date: Thursday, 23rd July 06:34:46 AM