मंगलबार, भदौ ३, २०७६

विश्व खाद्य आपूर्तिमा जलवायु परिवर्तनको खतरा

विश्वको जमिन र पानीका श्रोत अभूतपूर्व दरमा दोहन भइरहेको संयुक्त राष्ट्र संघको नयाँ प्रतिवेदनले चेतावनी दिएको छ।

जलवायु परिवर्तनको प्रभावसँगै यसले मानव जातिको भोक मेट्ने क्षमतामा गम्भीर दबाब दिइरहेको छ। विश्वको जमिन र पानीका स्रोत अभूतपूर्व दरमा दोहन भइरहेको संयुक्त राष्ट्र संघको नयाँ प्रतिवेदनले चेतावनी दिएको छ। जलवायु परिवर्तनको प्रभावसँगै यसले मानव जातिको भोक मेट्ने क्षमतामा गम्भीर दबाब दिइरहेको छ।

५२ देशका सयभन्दा धेरै विशेषज्ञले तयार गरेको उक्त प्रतिवेदनको संक्षिप्त स्वरूप जेनेभामा सार्वजनिक गरिएको छ। जोखिम सम्बोधन गर्ने समयसीमा तीव्र घटिरहेको पनि उल्लेख गरिएको छ। अहिले नै ५० करोड मानिस मरूभूमिमा रूपान्तरण भएको स्थानमा बसिरहेका छन्। प्रतिवेदन अनुसार बन्ने क्रमभन्दा दशदेखि सय गुणा तीव्र दरले माटो हराइरहेको छ।

जलवायु परिवर्तनले ती जोखिमलाई अझ गम्भीर बनाउनेछ। बाटी, सुख्खा, आँधी र अन्य प्रकारका चरम मौसमी खतराले बाधा व्यवधान खडा गर्ने जोखिम उत्तिकै छ। समयकालमा विश्व खाद्य आपूर्ति घट्दै जानेछ। अहिले नै विश्वका दश प्रतिशतभन्दा धेरै जनसंख्या कुपोषणग्रस्त छन्। खाद्य अभावले अन्तर सीमा आप्रवासन बढ्ने केही विशेषज्ञहरूले बताएका छन्।

नासा गोडार्ड इन्स्टिट्युट फर स्पेस स्टडिजकी वरिष्ठ अनुसन्धान वैज्ञानिक सिन्थिया रोसनज्वेगले खाद्य संकट एकै पटक धेरै महादेशमा विकास हुने खतरा भएको बताइन्। “बहुल अन्नभण्डार असफल हुने सम्भावित जोखिम बढ्दो छ,” उनले भनिन्,“यी सबै कुरा एकै पटक भइरहेका छन्।”

प्रतिवेदनले केही आशा पनि जगाएको छ। बढ्दो खाद्य संकट समाधान गर्ने बाटो प्रतिवेदनमा प्रष्ट्याइएको छ। तर त्यसका लागि जमिनको प्रयोग र विश्वव्यापी कृषि र उपभोक्ताको व्यवहार पुनर्मुल्याङ्कन गर्नु आवश्यक छ। जमिनको उत्पादकत्व बढाउने, थोरै खाना खेर फाल्ने र वस्तु भाउभन्दा अन्य प्रकारका मासु प्रयोग गर्न मानिसलाई प्रोत्साहन गर्ने लगायतका उपाय प्रस्ताव गरिएका छन्।

”हामीले अहिले नै धेरै काम गर्न सक्छौं। यो हाम्रो अनुसन्धानको एउटा महत्त्वपूर्ण निष्कर्ष हो। विकल्पहरू उपलब्ध छन्,” डा. रोसनज्वेगले भनिन्,“तर यीमध्ये केही समाधानमा ध्यान, आर्थिक सहयोग र उपयुक्त वातावरण आवश्यक पर्नेछ।”

प्रतिवेदनको सारांशलाई इन्टरगभर्न्मेन्टल प्यानल अन क्लाइमेट चेञ्ज(आइपीसीसी)ले सार्वजनिक गरेको हो। यो संयुक्त राष्ट्र संघले संयोजन गरेको एउटा अन्तर्राष्ट्रिय समूह हो। सरकारहरूलाई जलवायु परिवर्तनबारे बुझ्न र नीति निर्माण गर्न विद्यमान अनुसन्धानको वृहत दायरा परिचालन गर्दछ। आइपीसीसीले जलवायु सम्बन्धि प्रतिवेदनका श्रृङ्खला लेख्दै आएको छ।

पोहोर सालमै पृथ्वीको तापक्रम प्रागऔद्योगिक स्तरभन्दा मात्रै डेढ डिग्री सेल्सियस बढ्दा हुने विनाशकारी परिणामबारे एउटा प्रतिवेदन लेखेको थियो। विश्वका महासागरको अवस्था सम्बन्धी प्रतिवेदन आउनै लागेको छ।

केही लेखकले खाद्य अभावले धनीभन्दा गरिब देशलाई बढी प्रभाव पार्ने बताएका छन्। यसले उत्तर अमेरिका, युरोप र विश्वका अन्य भागमा राजनीतिलाई पुनर्परिभाषित गरिरहेको आप्रवासनको प्रवाह बढाउनेछ। 

“आप्रवासनका लागि विशाल दबाबले मानिसको जीवन प्रभावित हुनेछ,” पिट स्मिथले भने। स्मिथ युनिभर्सिटी अफ एबरडिनमा वनस्पति र माटो विज्ञानका प्राध्यापक हुन्। “मानिसहरू जहाँ छन्, त्यही बस्दैनन् र मर्दैनन्। उनीहरू बसाइँ सरिरहन्छन्।”

सन् २०१० देखि २०१५ बीच अमेरिका र मेक्सिको सीमानामा आउने एल साल्भाडोर, ग्वाटेमाला र होन्डुरसका आप्रवासीको संख्या पाँच गुणा बढ्यो। संयोगवश त्यो सुख्खा समय थियो। धेरैले पर्याप्त खाना पाएनन्। यो यति असामान्य थियो कि वैज्ञानिकहरूले यसलाई जलवायु परिवर्तनको सङ्केत बताए।

जलवायु परिवर्तनले गम्भीर खाद्य अभावको खतरालाई तीव्र बनाउने प्रतिवेदनले उल्लेख गरेको छ। तातो हुँदै गएको वायुमण्डलले विश्वमा सुख्खा, बाढी, हिट वेभ, डढेलो र अन्य विपद् बढाउँदै लगेको छ भने माटोर जमिनको क्षयीकरण पनि बढ्दै गएको प्रतिवेदनमा उल्लेख छ।

वायुमण्डलमा कार्बन डाइअक्साइडको उच्च सघनताले खानाको पौष्टिक गुणस्तर पनि घटाउनेछ। बढ्दो तापक्रमले बाली फस्टाउँदैन र वस्तुभाउलाई पनि हानी पुर्यााउँछ। कार्बन डाइअक्साइड विशेषगरी जैविक इन्धन जलाएर उत्पादन भएको हरितगृह ग्याँस हो। यस्ता परिवर्तन कृषि उद्योगको अनुकूलन गर्ने क्षमताभन्दा बढी हुने अपेक्षा छ।

केही मामिलामा बदलिँदो जलवायुले खाद्य उत्पादन वृद्धि भइरहेको पनि प्रतिवेदनमा उल्लेख छ। उदाहरणका लागि तातो तापक्रमले उच्च अक्षांशमा केही बालीको उत्पादन बढाउँछ। तर समग्रमा जलवायु परिवर्तनले खाद्य अभाव भइरहेको छ। यसमा बालीको घट्दो उत्पादन, क्षयीकरणले गुमेका जमिन, मरूभूमिकरण र समुद्र सतहको वृद्धि प्रमुख कारण हुन्।

समग्रमा हरितगृह ग्याँस उत्सर्जन निरन्तर बढ्दा खाद्य लागत पनि बढ्ने प्रतिवेदनमा उल्लेख छ। यसले संसारभरिका मानिस प्रभावित हुनेछन्। “जमिन र हामीलाई धान्न खाना उत्पादन गर्ने त्यसको क्षमता एकदमै तनावग्रस्त स्थितिमा छ,” अदिती सेनले भनिन्। यसबाहेक, जलवायु परिवर्तनले कृषिलाई अझ कठिन बनाइरहँदा कृषि स्वयंले पनि जलवायु परिवर्तन बढाइरहेको छ।

सिमसार क्षेत्रको विनाश विशेष हानिकारक भएको प्रतिवेदनमा उल्लेख छ। इन्डोनेशिया र मलेसियामा ताडिको तेलका लागि खेती लगाउन यस्तो गरिएको थियो।

“पिटल्यान्ड” अर्थात दलदल/धाबी क्षेत्रले विश्वभर पाँच सय ३० देखि ६ सय ९४ टन कार्बन डाइअक्साइड भण्डार गर्दछ। सिमसार क्षेत्र सुकाउँदा त्यो कार्बन डाइक्साइड सबै वायुमण्डलमा जम्मा हुन्छ। कार्बन डाइअक्साइड एउटा प्रमुख हरितगृह ग्याँस हो जसले घामको ताप कैद गर्छ र पृथ्वीको तापक्रम बढाउँछ। झण्डै बीस रोपनी दलदल/धाबी क्षेत्रले करिब २३ हजार लिटर पेट्रोल जलाए बराबरको कार्बन डाइअक्साइड उत्सर्जन गर्दछ।

दलदल/धाबी क्षेत्र सुकेको लामो समयसम्म पनि कार्बन डाइअक्साइड उत्सर्जन भइरहन्छ। वनविनाश र जमिनको प्रयोगका कारण हुने अन्य परिवर्तनका कारण प्रत्येक वर्ष उत्सर्जन हुने पाँच गिगाटन हरितगृह ग्याँसमध्ये “एक गिगाटन सुकिसकेका दलदल/धाबी क्षेत्र खस्किरहेकोले उत्पादन भएको” वर्ल्ड रिसोर्सेस इन्स्टिट्युटका टिम सर्चिङ्गरले बताए। 

त्यसैगरी वस्तुभाउले उल्लेखनीय मात्रामा मिथेन उत्पादन गर्छन्। यो अर्को शक्तिशाली हरितगृह ग्याँस हो। विश्वभर मासुको माग बढ्दो छ। यसले वस्तुभाउको संख्या बढाएको छ। एमजनजस्तो महत्त्वपूर्ण वन प्रणालीमा वनविनाश पनि बढाएको छ।

सन् १९६१ यता गाई, भेडा, भैंसी र बाख्रा लगायतका वस्तुभाउबाट भएको मिथेन उत्सर्जन उल्लेखनीय मात्रामा वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ। प्रत्येक वर्ष, नाश गरिएका वनक्षेत्रले ६० करोड कारले उत्सर्जन गर्ने हरितगृह ग्याँस उत्पादन गर्छन्। अधिकांश वनक्षेत्र वस्तुभाउ चराउनलाई फडानी गरिन्छ।

समग्रमा, खाना प्रणालीलाई बढी प्रभावकारी बनाएर खतराको सम्बोधन गर्ने समय अझै बाँकी रहेको प्रतिवेदनले जनाएको छ। प्रतिवेदनमा माटोको प्रभावकारी व्यवस्थापन, बालीको विविधिकरण र व्यापारमा थोरै नियन्त्रण लगायत खानाको उत्पादन र वितरणमा परिवर्तन ल्याउन आग्रह गरिएको छ। विश्वभरको एक चौथाइ खाना खेर जाने पनि प्रतिवेदनमा उल्लेख गरिएको छ।

तर खाना आपूर्तिको सुरक्षा र हरितगृह उत्सर्जनको रोकथाम एकअर्कासँग मेल नखान सक्छन्। यसले कठिन विकल्प रोज्ने बाध्यता आइ पर्न सक्छ।

उदाहरणका लागि, इथानोल उत्पादनका लागि गरिने कृषिमा जैविक उर्जाजस्तो रणनीतिको व्यापक प्रयोगले नयाँ मरूभूमि र अन्य प्रकारका जमिन क्षयीकरण सिर्जना गर्ने प्रतिवेदनमा बताइको छ। ठूलो संख्यामा रूख रोप्दा पनि उस्तै नतिजा देखापर्छ। यसले बाली र वस्तुभाउलाई कम उत्पादक जमिनतर्फ धकेल्छ।

सकेसम्म धेरै रूख रोप्नाले वायुमण्डलमा हरितगृह ग्याँसको परिमाण वर्षेनी ९ गिगाटनले घट्ने पामेला म्याकएल्वीले बताइन्। उनी रटगर्स युनिभर्सिटीकी प्राध्यापक हुन्। तर यसले सन् २०५० सम्म खाद्य मुल्य पनि ८० प्रतिशतसम्म बढाउने छ।

“रूख रोपेर मात्रै हामी यो समस्याबाट उम्कन सक्दैनौं,” डा. म्याकएल्वीले भनिन्,“विश्व तापक्रमलाई १.५ डिग्रीभन्दा तल राख्ने सन्तुलनबारे हामीले संवाद गरेकै छैनौं। हामी तिनीहरूको सामना गर्न अझै तयार छैनौं।” 

विश्वको तापमानलाई १.५ डिग्री सेल्सियसभन्दा धेरै बढ्न नदिन व्यापक रूपमा रूख रोप्नेबाहेक जैविक इन्धनको प्रयोग घटाउने उल्लेखनीय जैविक उर्जा पनि आवश्यक पर्ने प्रतिवेदनमा उल्लेख छ। त्योभन्दा धेरै तापक्रम बढे, खाद्य उत्पादनमा पनि दबाब बढ्छ। यसले दुष्चक्र सिर्जना हुन्छ।

“ग्लोबल वार्मिङ दुई डिग्रीभन्दा माथि बढ्यो भने पनि दश करोड वा त्योभन्दा धेरै जनसंख्या भोकमरीको जोखिममा हुन्छन्,” एडुवार्ड डाभिनले भने। उनी इटिएच ज्युरिखका अनुसन्धाता हुन्।

प्रतिवेदनले विकासोन्मुख देशहरूमा कृषकका लागि सुलभ कर्जाको पहुँच र सम्पत्तिको शक्तिशाली अधिकार लगायत संस्थागत परिवर्तन ल्याउन पनि आग्रह गरेको छ।

पहिलो पटक, आइपीसीसीले आदिवासी जनजाति र जमिन सम्बन्धी उनीहरूको ज्ञानलाई सदुपयोग गर्न सकिने स्रोत मानेको छ। “आदिवासी र स्थानीय ज्ञान समावेश भएको कृषि अभ्यासले जलवायु परिवर्तन, खाद्य सुरक्षा, जैविक विविधताको संरक्षण, र मरूभूमिकरण र जमिनको क्षयीकरणको संयुक्त चुनौती सामना गर्न योगदान दिनसक्छ,” प्रतिवेदनमा लेखिएको छ।

यो निष्कर्ष यसतो समयमा आएको छ जतिबेला आदिवासी जनजाति खतरामा छन्। ग्लोबल विटनेस नामक गैर-नाफामुखी संस्थाले यो वर्ष सार्वजनिक गरेको एउटा प्रतिवेदन अनुसार सन् २०१८ मा आफ्नो भूमिको प्रतिरक्षा गर्दै सातामा औसत तीन जनाको हत्या भएको छ। तीमध्ये आधाभन्दा धेरैको हत्या ल्याटिन अमेरिकामा भएको छ। संस्थाले द्वन्द्व र वातावरणीय स्रोतको सम्बन्धबारे अनुसन्धान गर्ने गर्दछ।

समग्रमा, नीति निर्माताले जति लामो समय प्रतिक्षा गर्छन् विश्वव्यापी संकट रोकथाम गर्न त्यति नै कठिनाइ हुने प्रतिवेदनमा उल्लेख गरिएको छ।

“अहिले नै काम थाले जोखिम र क्षति हटाउन वा न्यूनीकरण गर्न सकिन्छ। समाजलाई फाइदा पुर्‍याउन सकिन्छ,” प्रतिवेदनमा लेखिएको छ। उत्सर्जन कटौती गर्ने प्रतिक्षा गरे “भूमिको पर्यावरणीय कार्यसम्पादन र खाना, स्वास्थ्य, बस्न योग्य बासस्थान र उत्पादनका लागि आवश्यक सेवामा अपरिवर्तनीय हानी”को जोखिम छ।
 

 Published Date: Sunday, 11th August 07:08:50 AM