आईतबार, फागुन ११, २०७६

अध्ययन भन्छ- गर्भनिरोधक चक्कीका प्रयोगकर्ताको मष्तिष्कको क्षेत्र सानो हुन्छ

गर्भनिरोधक चक्की प्रयोग गर्ने महिलाको “हाइपोथालामस” त्यसको चक्की सेवन नगर्ने महिलाको तुलनामा सानो हुने अनुसन्धाताहरूले पत्ता लगाएका छन्।

पिट्युटरी ग्लान्डभन्दा माथि हुने हाइपोथालामसले हर्मोन उत्पादन गर्दछ र शरीरको तापक्रम, मुड, भोक, यौन चाहना, निद्रा र मुटुको गति लगायतका महत्वपूर्ण शारीरिक कार्यसम्पादनहरू नियमित गर्न सहयोग पुर्‍याउँछ।

अनुसन्धाताका अनुसार हाइपोथालामसमा गर्भनिरोधक चक्की लगायत यौन हर्मोनको संरचनात्मक प्रभावबारे कहिल्यै पनि अध्ययन गरिएको छैन। हाइपोथालामसको एमआरआइ परीक्षणको संख्यात्मक विश्लेषण गर्ने प्रमाणित विधि उपलब्ध नहुनु यसको आंशिक कारण हुनसक्छ।

“यो सानो तर जीवित मानव मष्तिष्को महत्वपूर्ण भागमा गर्भनिरोधक चक्कीको प्रभावसम्बन्धी अनुसन्धानको अभाव छ,” माइकल एल. लिप्टनले भने। उनी अमेरिकास्थित अल्बर्ट आइन्स्टाइन कलेज अफ मेडिसिनको ग्रुस म्याग्नेटिक रेजनेन्स रिसर्च सेन्टरमा रेडियोलोजीका प्राध्यापक हुन्।

“हाइपोथालामसको परिमाण मुल्याङ्कन गर्ने विधि हामीले प्रमाणित गर्‍यौं र पहिलो पटक हामी के पुष्टि गर्नसक्छौं भने मुखबाट सेवन गरिने गर्भनिरोधक चक्की हाइपोथालामसको सानो परिमाणसँग सम्बन्धित छ,” लिप्टनले भने। यस्ता गर्भनिरोधक चक्की सबैभन्दा लोकप्रिय विधि हुन्। अनियमित महिनावारी, डण्डिफोरलगायत विभिन्न समस्याका लागि पनि प्रयोग गरिन्छ।

सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन्सको नेसनल सेन्टर फर हेल्थ स्ट्याटस्टिक्सको सन् २०१८ को प्रतिवेदन अनुसार सन् २०१५ देखि १०२७ सम्म अमेरिकाका १५ देखि ४९ वर्षका अनुमानित चार करोड ७० लाख महिलाले गर्भनिरोधक साधन प्रयोग गरिरहेको बताए। उनीहरूमध्ये १२.६ प्रतिशतले चक्की प्रयोग गर्छन्।

यो अध्ययनका लागि अनुसन्धाताहरूले ५० जना स्वस्थ महिलाको समूह तयार गर्‍यो। उनीहरूमध्ये २१ जना महिलाले गर्भनिरोधक चक्की खाने गरेका थिए। सबै ५० जना महिलाले मष्तिष्कको एमआरआइ गरे। हाइपोथालामसको परिमाण मापन गर्नलाई प्रमाणित विधि नै प्रयोग गरियो।

“गर्भनिरोधक चक्की खाने र नखाने महिलाबीच मष्तिष्कको संरचनाको आकारमा नाटकीय भिन्नता भएको हामीले पायौं,” लिप्टनले भने,“प्रारम्भिक अध्ययनले एउटा बलियो सम्बन्ध देखाउँछ। मष्तिष्कमा गर्भनिरोधक चक्कीको प्रभाव र मष्तिष्कको कार्यसम्पादन सम्बन्धी सम्भावित प्रभावबारे थप अनुसन्धान गर्नुपर्छ।”

अध्ययन प्रतिवेदन रेडियोलोजिकल सोसाइटी अफ नर्थ अमेरिका (आरएसएनए) को १०५ औं वैज्ञानिक सभा तथा वार्षिक बैठकमा प्रस्तुत गरिएको थियो।
 

 Published Date: Wednesday, 11th December 07:13:22 AM