सोमबार, मंसिर २३, २०७६

एसिड आक्रमणका पीडितले चलाएको चर्चित क्याफे

ताजमहल विश्वकै सुन्दर वास्तुकला होला। तर त्योभन्दा आधा माइलमात्रै टाढा एउटा नयाँ गन्तव्यले सबैको ध्यानाकर्षण गरिरहेको छ। सिरोज ह्याङआउट।

“पहिलो पटक भारतीय पर्यटकहरूको एउटा समूहले मेरो साहसलाई प्रशंसा गरेको बताउँदा म एकदमै एकदमै खुशी भएँ,” २२ वर्षीया रूपाले भनिन्। उनी एसिड आक्रमण पीडित हुन्। उनीसँगै अन्य चार पीडितले क्याफे सिरोज ह्याङआउट सञ्चालन गर्छन्। 

सिरोज ह्याङआउट आउने ग्राहकहरू सधैं सन्तुष्ट भएर फर्कन्छन्। उत्कृष्ट कफी मात्रै नभएर त्यहाँ पाइने स्न्याक्स पनि स्वादिलो छ।

उत्तर प्रदेशको आग्रामा डिसेम्बर २०१४ मा खोलिएको सिरोज ह्याङआउट, महिलाविरूद्ध हुने हिंसा अन्त्य गर्न प्रतिबद्ध समूह स्टप एसिड एट्याक्सको क्राउडफन्डिङ परियोजना हो। यसमा “इच्छा अनुसार भुक्तान गर्ने” चलन छ। यसबाट हुने आम्दानी भारतमा हुने एसिड आक्रमणका पीडितको पुनर्स्थापनाका लागि प्रयोग गरिन्छ।

“समाचारमा हाम्रोबारे सुनेर संसारभरिका मानिसहरू यहाँ आउँछन्,” २० वर्षीया चञ्चल कुमारीले  भनिन्। उनी पनि एसिड आक्रमणमा परेकी अर्की महिला हुन् जसले क्याफे सञ्चालन गर्न सहयोग गर्छिन्। विवाहको प्रस्ताव अस्वीकार गरेपछि एक जना पुरूषले सन् २०१२ मा उनीमाथि एसिड आक्रमण गरेका थिए। “हामीजस्ता एसिड आक्रमणका पीडितहरू कसरी जीवन सम्हालिरहेका छन् भनेर हेर्न उनीहरू आउँछन्,”उनले भनिन्।

कुमारीले हालै मात्र पाँचौं पटक “रिकन्स्ट्रक्टिभ सर्जरी” गरेकी छिन्। रूपा, रितु साइनी, गीता माहोर र नीतु माहोरसँगै उनी पनि क्याफेमै काम गर्छिन्। एसिडले जलेको अनुहार र घाउ लागेको आत्माको पीडा बोकेर उनीहरूले घरभित्रै वर्षौं बिताएका छन्।

उनीहरूले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सन् २०१३ मा सुरू भएको फेसबुक अभियान “स्टप एसिड एट्याक्स (एसएए)” बारे थाहा पाए। यसको कार्यालय नयाँ दिल्लीमा छ। संस्थाले एसिड एट्याक पीडितलाई कानूनी र औषधि उपचारका साथै आक्रमणको अभिघात व्यवस्थापन गर्न सहयोग गर्छन्। सिरोज ह्याङआउट उनीहरूकै यस्तै एउटा कार्यक्रम हो।

एसिड आक्रमण भारतको एउटा कुरूप सत्य हो। नेश्नल क्राइम रेकर्ड्स ब्युरोले हालै एसिड आक्रमणका घटनाहरूको अभिलेख राख्न थालेको छ। ब्युरोको अनुमान अनुसार देशभर वार्षिक एक हजारभन्दा धेरै एसिड आक्रमणका घटनाहरू हुन्छन्। तर बदनामी र फेरि आक्रमणमा पर्ने डरले पीडित र उनको परिवारले त्यस्ता आक्रमणहरू उजुरी गर्दैनन्।

 

एसएएले देशभरि रहेका स्वयंसेवकमार्फत् संकलन गर्दछ। संस्थासँग एसिड आक्रमणमा परेका ४३० जनाको जानकारी छ। तीमध्ये ३५० जनालाई गएको दुई वर्षमा आक्रमण भएको थियो। ‍तीमध्ये ७० जनाभन्दा धेरैसँग संस्थाको सम्पर्क छ र उनीहरूलाई सहयोग पनि गरेको छ।

संकलित तथ्याङ्क अनुसार करिब ७० प्रतिशत पीडित महिला नै हुन्छन्। तीमध्ये ५० जनाभन्दा धेरैलाई तिरस्कृत प्रेमीले आक्रमण गरेका हुन्छन्। भारतमा एसिड खुलेआम बिक्री गरिन्छ। एसिड आक्रमणको उच्च दरको एउटा ठूलो कारण यो पनि हो। एक लिटर एसिड मात्रै ५० सेन्टमा किन्न पाइन्छ।

एसएए ४२ वर्षीया गीता माहोर र उनकी २६ वर्षीया छोरी नीतुका लागि केही गर्न चाहन्थे। २३ वर्षअघि गीताका पति तथा नीतुका पिताले उनीहरूमाथि एसिड छ्यापे। दुवै जनाको अनुहार कुरूप भयो। दृष्टि पनि कमजोर भयो। आक्रमण हुँदा नीतुकी एक वर्षीय बहिनी छेउमा सुतेकी थिइन्।

उनको ज्यान गयो। सहयोग गर्ने कोही नभएपछि उनीहरू आक्रमणकारी पिता र पतिसँगै बस्न बाध्य भए। दैनिक तनाव र थप घरेलु हिंसाबाट राहत दिन, जीविकोपार्जनका लागि अवसर जुटाउनु महत्वपूर्ण भएको एसएएले ठान्यो। यसो गर्न सके उनीहरू क्रमिक रूपमा घरबाट निस्केर सुखी जीवन बाँच्न सक्छन् भन्ने एसएएको सोंच थियो।

“विकृत अनुहारकै कारण समाजबाट अपहेलित हुन थालेपछि एसिड आक्रमणका पीडितको जीवन झन् अभिघातपूर्ण हुन्छ। उनीहरूको हात समाउने र आत्मविश्वास पुनर्स्थापना गर्ने कुनै व्यक्तिको आवश्यकता हुन्छ,” एसएएका संस्थापक आलोक दिक्षित भन्छन्। 

आज, माहोर र नीतु एकाबिहानै क्याफे जान तयार हुन्छन्। ग्राहकहरूलाई कफि र नास्ता दिन्छन्। आफ्नो कथा पनि सुनाउँछन्।

सिरोज ह्याङआउटमार्फत् एसिड आक्रमणका पीडितलाई उनीहरूको रोजाइँको सीपमूलक तालिम दिनु एसएएको लक्ष्य थियो। एसएएको सहयोग पाएर माहोरले आग्राकै एउटा होटेलमा “बेकिङ कोर्ष” पूरा गरिन्। उनी अब चाँडै ग्राहकहरूलाई कुकिज र कपकेक पनि उपलब्ध गराउने छिन्।

करिब-करिब दृष्टिविहीन नीतु एसएएकै एक जना स्वयंसेवकसँग गायन सिकिरहेकी छिन्। उनी भन्छिन्,“म अतिथिहरूलाई क्याफेमा खुशीले स्वागत गर्न चाहन्छु। हाम्रो जीवन बद्लिँदैछ भन्ने उनीहरूले थाहा पाउनुपर्छ।”

१९ वर्षीया साइनी भारतका लागि भलिबल खेल्थिन्। पारिवारिक सम्पत्तिको विवाद हुँदा एक जना आफन्त पुरूषले उनलाई एसिडले छ्यापे। उनको देब्रे आँखा गुम्यो। उनी खेल खेल्न सक्दिनन्। तर क्याफेमा उनी हिसाबकिताब हेर्छिन्।

“एसएएमा आबद्ध भएपछि मेरो जीवन परिवर्तन भयो,” उनी भन्छिन्,“मैले पाएको भावनात्मक सहयोगले अनुहार नलुकाइ बाहिर निस्कने आँट पलायो। मेरो विकृत अनुहारबारे मानिसहरू के सोंच्छन् मलाई वास्ता छैन।”

सौतेनी आमाले एसिड खन्याउँदा रूपा मात्रै १२ वर्षकी थिइन्। उनी सिपालु दर्जी हुन्। उनले सिलाएका पहिरन क्याफेमा प्रदर्शन र बिक्री पनि गरिन्छ। उनी भन्छिन्,“सिरोज ह्याङआउटले हामीलाई जीवन अघि बढाउने अवसर मात्रै नभएर हाम्रो कथालाई बाहिर पनि ल्याउँदैछ।”

“यो सत्य हो,” २० वर्षीया ग्राहक शिखा सिंहले भनिन्। उनी फेशन डिजाइनकी विद्यार्थी हुन्। साताको एक पटक क्याफे पुग्छिन्।

“यी महिलाहरूलाई मैले नभेटेकी भएँ एसिड आक्रमणका पीडितबारे मैले कहिले थाहा पाउने थिइनँ। बाधा व्यवहाधानका बाबजुद आफ्नो सपना पूरा गर्न उनीहरूले काम गरेको देख्नु गज्जबको कुरा हो। मलाई अहिले म्याकडोनाल्ड वा केएफसीभन्दा सिरोज ह्याङआउटमा समय बिताउन मन पर्छ। कम्तिमा मैले गरेको खर्च राम्रो काममा प्रयोग हुन्छ भन्नेमा ढुक्क छु।”

यो लेख टेक पार्टकी प्रिती सालियानले लेखेकी हुन्। उनी बेंगलोरकी पत्रकार हुन्।
 

 Published Date: Thursday, 28th November 07:14:45 AM