मंगलबार, भदौ ३, २०७६

मदनकी पत्नीलाई राष्ट्रपति बनाउँदा मैले माग्न मिल्दैनथ्यो

नेकपा नेता मोहनचन्द्र अधिकारी।

नेपालका नेल्सन मण्डेला अर्थात् मोहनचन्द्र अधिकारी। पञ्चायती व्यवस्थाविरुद्ध लड्दा उनी १७ वर्ष नौ महिना जेल परे। ०४६ सालको परिवर्तनपछि जनआन्दोलनका कमाण्डर गणेशमान सिंहले उनलाई ‘नेपालका नेल्सन मण्डेला’ घोषणा गरेका थिए। भारतीय नेता (पछि प्रधानमन्त्री) चन्द्रशेखरले उनलाई ‘एसियाका नेल्सन मण्डेला’ उपमा दिएका थिए।

८२ वर्षीय अधिकारी यतिबेला गुमनाम छन्। नयाँपुस्ताले उनलाई चिन्नै छाडिसक्यो। उनले सिङ्गो जीवन खर्चेको नेपाल कम्युनिष्ट पार्टीले पनि उनलाई बिर्सिसक्यो। मदन–आश्रित स्मृति दिवसको दिन अपरान्ह उनको निवास पुग्दा अधिकारी प्रेम रावतको प्रवचन हेरेर बसिरहेका थिए। ‘आज बल्खु जानुभएन?’ भन्ने प्रश्न गर्दा उनले प्रतिप्रश्न गरे, ‘के थियो र? मलाई त खबर गर्दैनन्।’

०२८ सालको झापा विद्रोहका नेता थिए– मोहनचन्द्र। पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीका साख्खै भतिजा। कांग्रेसको सदस्य, भन्सारका हाकिम आफ्ना पिताजीसँग विद्रोह गरेर हिँडेका थिए उनी। वृद्ध अधिकारीलाई मुटुको व्यथा छ। डाइवेटिज पुरानै रोग हो। उनैले नेतृत्व गरेको झापा सङ्घर्षका सहकर्मी केपी शर्मा ओली पार्टी अध्यक्ष र प्रधानमन्त्री छन्। उनीहरूकै सिको गर्दै ठूलो सशस्त्र विद्रोह गर्ने पुष्पकमल दाहाल प्रचण्ड पनि उनैको पार्टी–अध्यक्ष हुन आइपुगेका छन्। माधव नेपाल, झलनाथ खनाल पनि उनैको पार्टीका तर्फबाट देशको प्रधानमन्त्री भइसके। तर, अधिकारी भन्छन्, ‘त्यो तहका कोही पनि नेता वर्षौंदेखि भेट्न आएका छैनन्, म पनि पार्टी कार्यालय जान सक्दिनँ।’

पार्टीले मासिक पाँच हजार रुपैयाँ भत्ता दिने गरेको भए पनि सात–आठ वर्षदेखि त्यो पनि बन्द गरिदिएको छ। शायद् योगका कारण होला, उनको अनुहारमा चमक छ। कान पनि राम्ररी सुन्छन्। अझै पनि राजनीतिप्रतिको रुचि घटेकै छैन। आफ्नै नेताहरूलाई बुर्जुवा देख्ने उनी गरिब र धनीबीचको खाडल बढेकोमा पनि चिन्तित छन्। उनी भन्छन्, ‘नेपालमा फेरि कम्युनिष्ट क्रान्ति हुन्छ।’ एकपटक राष्ट्रियसभा सदस्यबाहेक कहिल्यै पनि उनले संसदीय पदसमेत पाएनन्। हिजोआज काठमाडौंको ढुङ्गाअड्डास्थित ‘कमरेड मोहनचन्द्र अधिकारी टोल’मा सीमित भएको छ उनको चिनारी। उनीसँग काठमाडौंप्रेस का माधव ढुङ्गेलले गरेको संवाद :


 
मदन–आश्रित स्मृति दिवसको कार्यक्रममा पनि देखिनुभएन । तपाईंलाई पार्टीले बोलाउन छाडेको कति वर्ष भो?

पाँच–छ वर्षभन्दा बेसी नै भो होला । उहाँ कामरेडहरूले आफूलाई मात्र कम्युनिष्ट मान्नुभएको छ । उहाँहरू बहुदलीय जनवादी हो । म ‘न्यु डेमोक्रेसी’ (नौलो जनवाद)को प्रवक्ता हुँ, यो देशको । त्यसकारण मलाई बिर्सनु स्वाभाविक हो!

नौलो जनवादीलाई नरुचाउनेले बोलाएनन्  भन्ने लाग्यो ?

हो । त्यत्ति हो ।

आफूले सिंगो जीवन खर्च गरेको पार्टी । यस्तो कार्यक्रममा समेत खबर नगर्दा दुःख लाग्दैन?

पहिला–पहिला मलाई लाग्थ्यो– के गरेको होला जस्तो ?! तर, अब उहाँहरूले ‘प्राक्टिस’ नै त्यस्तो गर्नुभो, म त संयमित हुनैपर्‍यो नि!

कम्युनिष्ट आन्दोलन गर्दाखेरी त आफूले सक्दो गरेकै हो । त्यो जनताले भन्ने कुरा हो, मैले भन्ने कुरा हैन । जनताको मनमा के छ, त्यो म भन्न सक्दिन । तर, मलाई साथीभाइले बिर्सनु भएको हैन कि बिर्सेकोजस्तो भान गर्नुभएको हो।

स्वास्थ्य अवस्था कस्तो छ?

स्वास्थ्य ठीकै छ भन्नुपर्‍यो । मेरो स्वास्थ्य बिग्रेको धेरै वर्ष भो । त्यसबाट अलिअलि ‘रिकभर’ भएको छ । मेरो मुटुमा पेसमेकर लगाउनुपरेको छ । जेलमा रहँदा १७ वटा बिमारी थिए, अहिलेसम्म एउटाको पनि इलाज गर्ने मौका पाएको छैन । अब बिमारी थपिँदै छ।

डाइवेटिज छ । निको नहुने रोग भो । मुटुको व्यथा भो । अहिले त उहाँहरू नै हुनुहुन्छ, प्रधानमन्त्री र अरु उच्च ओहोदामा । साथीभाइले दिएको ‘टर्चर’ (यातना) पनि खप्नुपरिरहेको छ, मैले।

केपी शर्मा ओली त तपाईंले नेतृत्व गरेको झापा विद्रोहकै एक जना नेता हो । आफ्नै सहकर्मी पार्टी अध्यक्ष र प्रधानमन्त्री हुँदा खुशी लाग्दैन?

आफ्नै साथी प्रधानमन्त्री भएजस्तो लागेरै म चूप लागेर बसेको हुँ । तर, प्रधानमन्त्रीले चाहिँ मलाई त्यस्तो दोस्तानाभाव राख्नुभएको छैन।

ओलीजी पहिले पार्टी अध्यक्ष अनि प्रधानमन्त्री हुनुभो । यी पदमा जानेबेलामा त तपाईंले पनि सघाउनुभो होला नि?

अध्यक्ष चुन्ने कुरामा म आफूले गएर टीभीमा भनिदिएको हो– आठ पटकजति । आठ वटा टीभीबाट । अब केपी ओलीको पालो भनेर । तर, अब उहाँको पालोमा उहाँले किन बिर्सनुभो ? मलाई थाहा छैन।

तपाईंहरूले बनाउनुभएको नेकपा माले, त्यसपछि ०४७ सालपछि एमाले हुँदै अहिले माओवादीकेन्द्र मिलेर नेपाल कम्युनिष्ट पार्टी बनेको छ । यत्रो ठूलो कम्युनिष्ट पार्टी बन्दा पनि खुशी लाग्दैन?

हेर्नुस्, पार्टी बनेको सुन्दा त मलाई खुशी लागेको छ । एउटैबाट फुटेर विभिन्न जिल्लामा जिल्लाव्यापी पार्टी भएका थिए । फेरि बिस्तारै–बिस्तारै घुम्दैफिर्दै जसरी भए पनि एकतामा आउनुभो । तर, यो पार्टीले जनताको जसरी भलो गर्नुपर्थ्याे, त्यसरी भलो गरेको मलाई लाग्दैन।

यो बहुदलीय जनवादको बोलबाला भएको अहिलेको स्थिति हो । त्यो बहुदलीय जनवाद भनेको एउटा बुर्जुवा ‘थिङ्किङ’ (सोच) हो । त्यो बुर्जुवा थिङ्किङले गाइड गरेको छ। अहिले नेपालमा राज्य छ भनेर मानिस भन्छन् । म त वर्गको हिसाबले हेर्ने मान्छे हुँ । मैले चाहिँ देखेको चाहि के भने अहिलेको ‘रुलिङ’ (शासक) वर्ग सर्वहारा र मजदुर–किसान वर्गको हुनसकेको छैन।

केपी ओली, प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतमजस्ता ठूला नेतासँग भेटघाटै छैन, तपाईंको?

मलाई भेट्न चिनजानका मान्छे आउनुहुन्छ । ठूल्ठूलो नेताजी खलकका मान्छे कोही पनि आउनुभएको छैन । उहाँहरू किन हो कुन्नि ! उहाँहरूलाई लाज लाग्छ कि मसित कुरा गर्न आउन वा मेरो बारेमा सोध्न ? त्योचाहिँ म भन्न सक्दिनँ।

उहाँहरू पनि बुर्जुवा हुनुभएको छ, अहिले । पार्टीमा बुर्जुवाहरूकै बोलबाला छ । प्रचण्ड कामरेडलाई पनि गृहयुद्ध सुरु गर्नुभएको बेला मैले भनेको थिएँ– गृहयुद्ध अहिले आवश्यक छैन, ‘पिसफुट ट्राञ्जिसन’ (शान्तिपूर्ण रुपान्तरण) आवश्यकता हो । उहाँहरूले त्यो मान्नुभएन । पछि त हतियार नै बुझाउनुभो । त्यसप्रति चाहिँ मलाई दुःख छ।

०४६ सालको परिवर्तनपछि तपाईंलाई ‘नेपालको नेल्सन मण्डेला’ भन्थे । ती दिन सम्झिनुहुन्छ, अहिले? कस्तो लाग्छ?

मलाई नेल्सन मण्डेला भनेको दिन पनि सम्झना छ । मलाई गणेशमानजीले नेपालको नेल्सन मण्डेला भन्नुभएको हो । भारतको प्रधानमन्त्री चन्द्रशेखरजीले एसियाको मण्डेला भन्नुभो । भनेर के गर्ने ? सबाल यो हो।

अब म त्यो पद्वी लिएर बस्न पनि अप्ठेरो छ । नेपालको नेलसन मण्डेला वा एसियाको नेल्सन मण्डेलाले चुक्नु त भएन नि ! त्यो छवि धान्नैपर्‍यो नि ! त्यसै कारणले मैले हाम्रो संस्कृतिको आधार ‘बसुधैव कुटुम्बकम्’ हो। त्यो मैले बुझेको छु।

मैले सोचेको छु– कुनै न कुनै दिन मानव साम्यवादमा पुग्छ । कमरेड माओत्सेतुङको ‘भर्सन’ मा भन्ने हो भने यो हजारौँ चोटीको संशोधनवाद खत्तम भएर क्रान्ति हुन्छ । अनि मात्र मानवमुक्त हुन्छ । त्यो दिन पर्खेर बस्ने हो । जीवन रहेसम्म भेटियो भने भेटियो, तत्र त्यसैको निम्ति जीवन उत्सर्ग गर्ने हो।

तपाईंलाई पार्टीले किन काम नदिएको?

मलाई साठी वर्षको उमेरदेखि नै मित्रहरूले काम दिनुभएन, पार्टीमा । भरतमोहनजी मेरो काका, मभन्दा चार वर्षजेठो मान्छेलाई चाहिँ स्थायी कमिटीमा राखिराख्नुभो। सांसद् बनाई राख्नुभो । मलाई चाहिँ उहाँहरूले न सरकारमा न सदनमा न पार्टीमा कहीँ पनि स्थान दिनुभएन।

त्यसकारणले उहाँहरू कामरेड हैन, बुर्जुवा नै जस्तो लाग्छ, मलाई । बुर्जुवाको व्यवहार जस्तो गरेपछि मैले पनि त त्यही भन्नुपर्‍यो नि ! आजकाल बुर्जुवा नै जस्तो मानेको छु, त्यो कम्युनिष्ट पार्टीको नेतृत्वलाई चाहिँ । तल्लो तह चाहिँ कमरेड नै हो।

नेकपा (एमाले) सँग सम्बन्ध नभएको कति भयो?

केन्द्रबाट म सल्लाहकार समितिमा आएँ। म ६० वर्षको भएपछि उहाँहरूले सल्लाहकार समितिबाट पनि हटाइदिनुभो । कम्युनिष्टमा पनि उहाँहरू अलि बहुदलीय जनवादी धारको व्यक्तिहरू हुनुहुन्थ्यो । उहाँहरूले हटाउनुभयो । अहिले ६० वर्षभन्दा धेरै उमेरको भएर पनि अहिलेसम्म उहाँहरूले आफ्नो नेतृत्वको पद छाड्नुभएको छैन । चलाइराख्नु भएको छ । यो त कस्तो भयो भने सीधै सामन्तले गर्ने, बुर्जुवाले गर्ने व्यवहार मात्र हो । यो कुनै सर्वहारावर्गीय चिन्तन भएको व्यक्तिले गर्ने होइन।

बहुदलीय जनवाद चाहिँ कस्तो सिद्धान्त हो नि?

बहुदलीय जनवाद मदन भण्डारीको थोपरिएको एउटा लाइन हो । त्यसले देशलाई न समाजवादमा लिएर जान्छ, न साम्यवादमा पुर्‌‌‌याउँछ । बहुदलीय जनवाद भनेको ‘टोटल्ली’ (जम्माजम्मी) बुर्जुवासितको ‘सरेन्डर’ (आत्मसमर्पण) हो । अरु केही पनि हैन । पूँजीपतिहरूसितको सरेन्डर हो । विस्तारवादीहरूसितको सरेन्डर हो । अहिलेसम्म हाम्रो देश किन उन्नतिमा गएको छैन ? भन्दाखेरी सबले भ्रष्टाचार गर्नुभएको छ।

मसँग भ्रष्टाचार गर्ने योग्यता थिएन, त्यसैले साथीहरूले पद दिएनन् भन्ने लाग्छ तपाईंलाई?

मेरो भ्रष्टाचार गर्ने योग्यता छैन भन्ने कुरा मेरा समकक्षीहरूलाई थाहा छ । म २००८ सालमै मेरा बाबु ‘कस्टम अफिसर’ (भन्सार अधिकृत) हुनुहुन्थ्यो जनकपुरमा । मैले भनेको थिएँ, ‘पिताजी घूस नखानुस्, म कांग्रेस पनि हुन्न । लाइट कार पनि चढ्दिनँ भनेर ।’ मैले अहिलेसम्म लाइट कार चढेको पनि छैन । त्यस्तो बेइमानी गरेर देशमा हिँडेको पनि छैन।

रह्यो अब मेरा साथीहरूले के गर्नुभएको छ भन्ने कुरो । गरेको कुरा त जगजाहेर छ । अहिले सरकार चलाउने व्यक्तिहरू जत्तिकै उफ्रिए पनि ‘करप्सन’ (भ्रष्टाचार) ले सीमा नाघेको छ नि त ! उहाँहरूले कसरी यसलाई लिनुभएको छ ? हिजोको अवस्थाबाट उहाँहरू गुज्रिसक्नुभो । वर्तमानमा त उहाँहरू नै धनाढ्य र बुर्जुवा बनिसक्नुभएको छ । ‘फिलोसोफी’ (दर्शन) अनुसार हेर्ने हो । तिनीहरू सबै बुर्जुवा भए।

तपाईंले दाबी गर्नुभएन– म पनि योग्य छु भनेर । सांसद्, मन्त्रीे, राष्ट्रपतिका लागि समेत योग्य छु भनेर?

मैले दाबी गर्न मिल्दैनथ्यो । म त्यति पदलोलुप मान्छे होइन । मैले के सोचेँ भन्दा जस्तो भए पनि मभन्दा ठूलो मदन भण्डारीकी पत्नीलाई कसैले राष्ट्रपति दिन्छ भन्दाखेरी मैले अड्चन गर्न मिल्यो ? मदन भण्डारी त यहाँको ‘अथोरिटी’ भइसके । उनकी प्रियतमालाई दोस्रो पटक पनि राष्ट्रपति बनाउँदा मैले माग्ने त कुरा आएन नि!

पहिले त मान्छे कुन वर्गमा जन्म्यो भन्ने हिसाबको सोच पनि थियो । मान्छेलाई तीन वर्ष वा पाँच वर्षसम्म जाँच गरेर मात्र कम्युनिष्ट पार्टीको सदस्यता दिइन्थ्यो ।  मजदुर, किसान र हली–गोठालाको सेवा गर्छु भन्ने अठोटको साथ उसले सपथ ग्रहण गरेको हुन्छ । अहिले त त्यो सपथग्रहणलाई साथीहरूले बिर्सनुभो । अहिले त आफू मोटाउने मात्र सोच्नुहुन्छ । भनेपछि उहाँहरू बुर्जुवाको सन्तान नभएर कसको सन्तान त?

भनेपछि कमरेडहरू नै नयाँ बुर्जुवा हुनुभो?

हो, हजुर–हजुर ! नयाँ बुर्जुवा । खासमा उहाँहरू पेटी बुर्जुवाबाट आउनुभएको हो । कम्युनिष्ट पार्टीको सिद्धान्त र सांगठनिक रूपबाट हेर्दा विद्यार्थी र पढे-लेखेकोलाई पनि पेटी बर्जुवामै राखिन्छ । उहाँहरू नेपालको पेटी बुुर्जुवा छाडेर बिग बुर्जुवा हुनुभएको छ।

जिन्दगी कसरी चलाइराख्नुभएको छ, औषधि केले खानुहुन्छ, घर–व्यवहार कसरी चल्छ भनेर पार्टीका कुनै ठूला नेताले सोध्नुभएको छ?

सदस्यता लिएको साथी हो भन्ने पनि छैन । अफिस टाढा छ, म पनि जान सक्दिनँ । हिँड्न सक्दिनँ । फेरि बिमारी छु । मुटुको व्यथा छ । यो धुलोमा हिँड्न चाहन्न पनि, सक्दिन पनि । त्यसैले म अफिसमा गएर सदस्यता शुल्क तिरेको छैन । एउटा कम्युनिष्ट पार्टीको सदस्यलाई कमिटीमा राख्ने र कुरा सुन्ने केही गर्नुभएको छैन । उहाँहरू बुर्जुवा सोचाइमा मात्र हुनुहुन्छ नेपाली जनताले उहाँहरूलाई चिन्न अझ पनि बाँकी छ जस्तो मलाई लाग्दैन।

झापा सङ्घर्षपछि १७ वर्ष नौ महिना त जेलमै बस्नुभो?

मभन्दा पनि बढी जेल बस्ने पनि छन्, झापा आन्दोलनकालका । म पनि बसेको मान्छे हुँ । म पनि झापा सङ्घर्षको एउटा साथी हुँ भनेर पनि मान्यता दिन छाड्नुभएको छ । अझ केही साथीहरूले बुर्जुवाको दलाली गरेर झापा आन्दोलन गर्नु नै गलत थियो शान्तिपूर्ण रूपमै परिवर्तन ल्याउथ्यौँ भन्न पनि आँट गरिसक्नुभएछ।

तपाईंलाई चाहिँ झापा सङ्घर्ष गल्ती थियो भन्ने लाग्दैन? 

आफ्नो प्रसंशा गरेको भन्ने नलागोस् । मलाई लाग्छ– झापा सङ्घर्ष हुँदैनथ्यो भने आज गणतन्त्र हुँदैनथ्यो । हिजो झापामा सङ्घर्ष भएको थियो । त्यसले कम्युनिष्टलाई एकीकृत बनायो । अहिले कम्युनिष्ट पार्टी एकीकृत भएको छ । जसले जनगणतन्त्र भनेर घोषणा गरेको छ । बुर्जुवा जनगणतन्त्रले पनि केही हुनेवाला छैन । सर्वहारावर्गीय हली–गोठालाको नेतृत्वमा वा उनीहरूको सेवकको रूपबाट आफू प्रस्तुत भएर, उनीहरूको राजनीतिक दृष्टिकोणबाट उनीहरूको अनुयायी भएर हिँड्ने कुरा अहिलेसम्म नेपाली कम्युनिष्टले बुझ्नुभएको छैन।