शनिबार, साउन ४, २०७६

‘खाडी प्रतिबन्धपछि नेपाली महिला कामदार झन् जोखिममा छन्’

कुवेतमा घरेलु कामदारको रुपमा कार्यरत नेपाली युवती कानी शेर्पाको यौन शोषण र मृत्युको समाचार बाहिरिएपछि नेपालले विक्रम सम्वत् २०५५ कार्तिकमा नेपाली महिलालाई खाडी मुलुक जान प्रतिबन्ध लगायो। 

स्वदेशमा रोजगारी नपाएर विदेश जान बाध्य नेपाली महिलाका लागि खाडीमा सुरक्षित तवरले काम गर्न पाउने वातावरण बनाउन पहल गर्नुको सट्टा प्रतिबन्ध लगाउने सरकारी निर्णयको आलोचना भयो। सरकार अन्ततः पछि हट्यो र प्रतिबन्ध फुकुवा गर्ने निर्णय लियो।

तर, त्यसयता पनि नेपालले पटक–पटक विभिन्न तरिकाले नेपाली महिलाको आप्रवासन अधिकार खोस्दै आएको छ, कहिले काम गर्न जान नपाउने देश तोकेर त कहिले यति वर्ष नपुगेका महिला घरेलु कामदारका रुपमा जान नपाउने भनेर।

पछिल्लोपटक विक्रम सम्वत् २०७३ साल चैत २० गते सरकारले फेरि नेपाली महिलालाई घरेलु कामदारका रुपमा खाडी मुलुक जान प्रतिबन्ध लगाएको छ। संसद्को एक समितिले खाडीमा नेपाली महिलाले यौन दुर्व्यहार, शारीरिक एवं आर्थिक शोषण र मानसिक पीडा भोगिरहेको प्रतिवेदन दिएपछि सरकारले ती समस्या सम्बोधन गर्नुका सट्टा प्रतिबन्ध लगाउने निर्णय गरेको हो।

यस्तो प्रतिबन्धले नेपाली महिलाको सुरक्षा गर्नुका सट्टा तिनलाई झन् जोखिम मोलेर, गैरकानूनी रुपमा र दलाललाई मोटो रकम बुझाएर खाडी जाने बाटोतर्फ धकेलेको धेरैको भनाइ छ। यसै विषयमा केन्द्रित रहेर पौरखी नेपालका  अध्यक्ष मञ्जु गुरुङसँग  इन्द्रसरा खड्काले गरेको कुराकानी :

-नेपाली महिला कामदारलाई खाडी जान लगाइएको प्रतिबन्धले कस्तो असर परेको छ?

नेपालमा महिला साक्षरता कम छ। पढेलेखेका अधिकांश नेपाली महिलाले स्वदेशमै कुनै न कुनै काम पाउँछन्। वा, अमेरिका, यूरोप र अष्ट्रेलियाजस्ता देश जान्छन्। घरेलु कामदारको रुपमा खाडी जानेमा अधिकांश धेरै नपढेका, परिवारबाट अपहेलित,  छोराछोरी धेरै भएका र श्रीमानले छाडेका महिला हुन्छन् । उनीहरूका लागि पेट पाल्ने र परिवार धान्ने सबैभन्दा भरपर्दो उपाय भनेकै वैदेशिक रोजगार हो। त्यसमा पनि सरकारले दुई वर्षदेखि प्रतिबन्ध लगाइदिएको छ। यसैले, उनीहरू अहिले लुकिछिपी वैदेशिक रोजगारमा जान बाध्य छन्।

-लुकिछिपी भन्नाले?

पहिले सहज थियो। घरेलु कामदारका रुपमा खाडी जाने नेपाली महिलाले काठमाडौंबाटै सोझै खाडी उड्न पाउँथे। अहिले उनीहरू  भारत, श्रीलंका र थाइल्याण्ड हुँदै खाडी पुग्छन्। यसरी लुकिछिपी जाँदा झन् शोषण र ठगीमा पर्ने सम्भावना हुन्छ।

-नेपाली महिलालाई घरेलु कामदारका रुपमा खाडी जान खुला गरिँदा पनि त समस्या हुन्छ नि!

घरेलु कामदारमा जाने केही नेपाली महिला यौन हिंसा र श्रम शोषणका शिकार भए भन्दैमा सबैलाई रोक्नु राम्रो हैन। खाडीमा घरेलु कामदारका रुपमा जाने नेपाली महिला आखिर किन हिंसामा पर्छन्? किन उनीहरूको श्रम शोषण हुन्छ? यस्ता पेचिला प्रश्नको उत्तर खोज्नु र समस्या सम्बोधन गर्नुको सट्टा सबैलाई प्रतिबन्ध लाउनु कति विवेकी हुन्छ?

-घरेलु कामदारका रुपमा खाडी जाने नेपाली महिला समस्या पर्नुको कारण चाहिँ के हो?

सबैभन्दा ठूलो समस्या भाषा हो। त्यसपछि सीपको अभावमा। कोरिया र जापान बाहेक अन्य देश जाने नेपाली कामदारले गन्तब्य मुलुकको भाषा सिकेकै हुँदैनन्। खाडी मुलुक जाने नेपाली महिला कामदार पनि त्यत्तिकै जान्छन्। रोजगारदातासँग दोहोरो संवाद गर्न नसकेपछि शोषण र हिंसामा पर्ने सम्भावना उच्च हुन्छ। र, भाषाको अभावमा आफूमाथि अन्याय हुँदा न्याय खोज्न पनि सक्दैनन्।

-नेपाली महिलालाई काम गर्न जानबाट रोक्नु कानूनसम्मत छ त?

विक्रम सम्वत् २०४२ मा जारी भएको वैदेशिक रोजगार ऐनले महिलालाई विदेश जाने अनुमति दिँदैन थियो। त्यसविरुद्ध हामीले लामो संघर्ष गर्‍यौँ। त्यसैको नतिजा स्वरुप विक्रम सम्वत् २०६४ मा वैदेशिक रोजगार ऐनको दफा ८ मा लिङ्गको आधारमा कामदारलाई विभेद गरिँदैन भन्ने वाक्यांश पर्‍यो। त्यसलाई हामीले नीतिगत सुधारका रुपमा लिएका थियौँ। तर फेरि आज महिला कामदारमाथि प्रतिबन्ध लगाइएको छ। महिला कमजोर वर्ग हुन् र तिनलाई संरक्षण चाहिन्छ भन्ने पुरुषवादी सोचद्वारा निर्देशित भएर सरकारले यो प्रतिबन्ध लगाएको हो।

-तपाईंहरू यसविरुद्ध के गर्दै हुनुहुन्छ?

हामीले प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छौँ। तर, कुनै फैसला आएको छैन। महिलालाई वैदेशिक रोजगारीमा जानबाट रोक्नुका सट्टा तिनले भोग्ने समस्या सम्बोधन गर्दै बाटो सहज बनाइदिनुपर्छ भनेर हामी श्रम तथा रोजगार मन्त्रालय, महिला मन्त्रालय, मानब अधिकार आयोग, महिला आयोग, श्रम समिति र प्रधानमन्त्रीे कार्यालय समेत पुगेका छौँ। तर, सकारात्मक परिणाम आइसकेको छैन। यस विषयमा सरकारले कुनै पहल नै गर्दैन।

-किन?

किनकि, सरकारका लागि सायद यो महत्वपूर्ण विषय होइन। सरकारी प्रतिबन्धले समस्यामा परेका महिला कामदारहरू आन्दोलन गर्न सक्दैनन्। सडकमा टायर बाल्न सक्दैनन्। उनीहरूलाई अहिलेसम्म विदेशबाटै मतदान गर्ने अधिकार पनि छैन। यसैले, उनीहरूको आवाजको सुनुवाई भइरहेको छैन।

-कति नेपाली महिला अहिले विदेशमा घरेलु कामदारको रुपमा कार्यरत छन्?

यसको यकिन सरकारी आँकडा छैन। किनकि, धेरै महिलाहरू भिजिट भिसामा जान्छन्। तर, हाम्रो आफ्नै स्रोतबाट संकलित सूचना अनुसार, लेबनानमा १२ देखि १४ हजार नेपाली महिला घरेलु कामदार छन्। साउदी अरबमा ७० हजारभन्दा नेपाली महिला कामदार छन्। इराकको एउटा प्रान्तमा मात्रै १२ हजार नेपाली महिला कामदार छन्। कुवेतमा ९ हजार छन्।

 Published Date: Sunday, 21st April 12:36:39 PM