सोमबार, चैत्र २४, २०७६

केही मान्छे प्रचण्डलाई हेग पठाउन पनि लागिपरेका छन् : गोकुल बाँस्कोटा (भिडियो सहित)

सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले साढे दुई वर्षपछि केपी शर्मा ओलीले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री पद हस्तान्तरण गर्ने भन्ने अहिले आएको हल्लालाई ‘स्याल हुइँया’ को संज्ञा दिएका छन्। 

काठमाडौंप्रेसका लागि माधव ढुङ्गेलसँग अन्तर्वार्ताका क्रममा मन्त्री बाँस्कोटाले भने, ‘ यहाँ त चियाको कपमा तुफान ल्याउने कोशिश हुन्छ के ! केही मान्छेहरू यहाँ एक–एक शब्द केलाएर हिँडेका छन्।’

मन्त्री बाँस्कोटाले ‘अहिले पनि केही मान्छेहरू सशस्त्र द्वन्द्वका मुद्दा उठाएर अध्यक्ष प्रचण्डलाई हेग पठाउन लागि परेको’ बताउँदै भने, ‘यत्ति कुरा नेताले बुझेका छैनन् र?’ प्रस्तुत छ, बाँस्कोटासँगको अन्तर्वार्ताको उक्त प्रसंग–

पार्टी एकताका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले साढे दुई वर्षमा प्रचण्डजीलाई प्रधानमन्त्री पद हस्तान्तरण गर्ने भन्ने लिखित सहमति भएको थियो, भनिन्छ । सहमतिबमोजिम सत्ता हस्तान्तरण हुन्छ?

यो त एकदम साधारण कुरा हो । यसमा कुनै बहस गर्नै पर्दैन । यहाँ त पार्टी नै एउटै भैसक्यो । यो र त्योको कुरै भएन नि ! अस्थिरता मच्चाउनलाई यसलाई फेरि स्याल हुइयाँ बनाए । अब फाटो ल्याउनुपर्‍यो, के–के न सार्वजनिकीकरण भए जस्तो भएको छ । दुई जनामा सहअस्तित्व पनि हुन्छ । सहकार्य पनि हुन्छ । केही व्यक्तिगत आकांक्षा पनि हुन्छन् । केही छुट्टै एजेन्डा हुन्छन् । एउटा दायित्व के हुन्छ भने यो घरभित्र हामी छौँ भने पहिला त यो घरको रक्षा हुन्छ कि हुँदैन ? तब मात्र हाम्रा बाँकी स्वार्थहरू तय हुन्छन्। 
प्रधानमन्त्री को हुने÷नहुने, पार्टी अध्यक्ष को हुने÷नहुने भनेको चाहिँ एउटा घरभित्र तल्लो तलामा तँ सुत्ने कि माथ्लो तलामा म सुुत्ने, कुन बेडमा तँ सुत्ने, कुन बेडमा म सुत्ने भन्ने जस्तो मात्र कुरा हो। 

पार्टी एकता गर्दा सहमति भएको चाहिँ हो कि हैन त?

के किताबसिताबमा आएको छ रे त्यो ! मलाई त थाहा भएन । मानौँ सहमति भयो रे, भयो त के बिग्रियो ? पार्टी नै एक भइसक्यो । पार्टी एक हुनुभन्दा अगाडि कतै एकले अर्कोलाई धोका देला कि भन्ने त्राशमा गरेको सहमति पनि हुन्छ, यस्तो कुरा । अब पार्टी एउटै भयो । 
अब एमाले जिउँदो छ ? छैन । अब माओवादी जिउँदो छ ? छैन । अब निर्वाचन चिन्ह जिउँदो छ ? छ भने एउटै भएर जिउँदो छ । अब केन्द्रीय कमिटी छुट्टाछुट्टै छन् ? छैनन् । पूर्व गुटहरू छन् होला । पूर्व लिगेसीहरू छन् होला । अझै २–४ वर्ष पनि रहला । दुइटा ठूल्ठूला पार्टी एक भएको छ । शैलीगत, सोचाइका कार्यशैलीका भिन्नता हुन्छन्। 

भनेपछि के अब नेकपा एउटै पार्टी भयो । सहमति जेसुकै भएको होस्, नयाँ ढंगले जान्छ  भन्न खोज्नुभएको?

नयाँ ढंगले जान्छ नि ! नेकपा भन्ने पार्टी रह्यो भने पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले श्रीपेच वा टोपी गज्जबले सानका साथ ढल्काएर हिँड्ने हो, जनता साथमा लिएर । पार्टी कार्यकर्ता साथमा लिएर । त्यो पार्टी जीवित वा पार्टीको घर बलियो रह्यो भने केपी ओलीले पनि त्यही गर्ने हो । यत्ति कुरा नबुझेका नेता छैनन् । त्यसैले यहाँ त चियाको कपमा तुफान ल्याउने कोशिश हुन्छ के ! केही मान्छेहरू यहाँ एकएक शब्द केलाएर हिँडेका छन्। 

भनेपछि के सहमति भएको छ भने पनि अहिले हैन, अढाई वर्ष पुगेको दिन पार्टीले निर्णय गर्त भन्न खोज्नुभएको?

यो केही मतलबको कुरा हैन । आजको प्रधानमन्त्री केपी ओलीलाई एउटा पात्रको रूपमा लिनुस् । अध्यक्ष पुष्पकमल दाहाल एउटा पात्रको रुपमा लिनुस् । दुई वर्षअगाडिसम्मका एकअर्काप्रतिका दृष्टिकोण, पार्टीका व्यक्तिका सबै कुरा हेर्दा यो पार्टी मिल्छ भन्ने कल्पना गर्न सकिन्थ्यो ? तपाईंलाई कस्तो लाग्छ ? उत्तर र दक्षिण कोरियाबीचमा एउटा ‘डि–मिलिटराइज्ड जोन’ छ । त्यहाँ चाहिँ दुईतिरबाट धकेलेको ठूलो पृथ्वी हुँदो रहेछ के ? त्यस्तै गाह्राे काम थियो । तर, मान्छेले सुइँको पाए ।

भन्दा पनि पत्याएनन् । केपी ओली र पुष्पकमल दाहाल मिल्ने ? एकले अर्काको अस्तित्व बाँकी राख्दैनन् भन्ने थियो, थिएन र ? के सोचे होला ? सोचे त्यो, माओवादी ०६४ मा कहाँ थियो ? ०७० मा कहाँ पुग्यो ? आउने चुनावमा के हुँदै थियो ? एमाले ०४८ मा कहाँ थियो ? ०५४ मा कहाँ थियो ? ०६४ मा कहाँ पुग्यो ? ०७० मा के भयो ? अब फेरि के हुँदैछ? परिवर्तन न्यायको मुद्दामा लडाइँको ‘फ्रन्ट’ मा कम्युनिष्ट पार्टी अगाडि हुने, जनमत कम्युनिष्ट पार्टीको बलियो हुने, प्रतिशत जोड्दा ६४ प्रतिशत वामपन्थीको हुने, सीट संख्या जोड्दा सधैँ ४९ प्रतिशतभन्दा तल रहने, एउटा चिजले काम गर्‍यो । त्यो पीडाबाट चेत खाएर आएका नेताहरूले के टुंगो गरिदिए भने अब पनि अल्मल गर्ने हो भने प्रतिक्रियावादी वर्गले सधैँ डेमोक्रेसीकै नाममा खाने भए। 

डेमोक्रेसी– भुक्न पाउने, खानलाउन न्याय परिश्रमको मूल्य, सम्मान सुरक्षा केही पनि नपाउने । त्यसको नाममा सधैँ मिचिरहन्छ– श्रमजीवी वर्गलाई । त्यसैले इतिहासको चालक शक्ति रहेको उत्पादक शक्ति रहेको श्रमजीवी वर्ग चाहिँ परिवर्तनमा उही फ्रन्टमा हुने, उही शोषित हुने कुरालाई बन्द गरिदिनुपर्छ भनेर दुइटा नेताले टुङ्गोटाङ्गी कहाँ पुर्‍याइदिए भने झ्याप्पै मिल्दिऊँ । सर्पाइज अट्याक! 

भनेपछि सत्ता हस्तान्तरण पनि मिलेरै टुंग्याउनु हुन्छ? 

कमरेड केपी ओली र कमरेड पुष्पकमल दाहालले नाकको डाँडीमा मात्रै हेर्छन् भन्ने मलाई लाग्दैन । नाकको डाँडी अगाडि मात्र हेर्ने चेतना थियो भने यो पार्टी आजको ठाउँमा आउँदैनथ्यो । क्षितिज पारिसम्म देखेको हुनाले यहाँ आइपुग्यो । 
के के हुन सक्थ्यो ? अहिले पनि कोशिश छ नि ! केमा ? त्यो टीआरसी कि के भन्छन् नि, यसैमा लगेर ठिंगुर्‍याएर युरोप कहा कता हेगफेग भन्दै दौडेका दौडियै छैनन् मान्छे ? यत्रो शान्ति प्रक्रिया अहिले पनि टुंगिएको छैन । के गरेर हेग पुर्‍याउने भन्नेमा छन् नि । यो केही हैन, छट्पटी हो । ती सबै कुरा बुझेका छन् क्या! 

नमिल्दा के हुन्छ, मिल्दा के हुन्छ ? नमिल्दा के भयो, मिल्दा के भयो ? धैर्यता के हो, परिणाम के हो ? आफ्नो निम्ति काम गरेको भए जुधिहाल्छ मान्छे । एउटा साधारण मान्छे र नेतामा फरक होला नि ! नेताले चुटाइ खाने कारण त्यो पनि हो । त्यस हिसाबले मलाई के लाग्छ भने उठ्दा के गर्‍यो ? हाच्छ्यू गर्दा कता फर्केर ग¥यो ? मुस्कुराउँदा कता फर्कियो ? कानेखुशी मञ्चमा बस्दा कोसित तीन पल्ट गर्‍यो, को सित दुईपल्ट गर्‍यो ? हाम्रो प्रेस यता लागेको छ । ता कि कसरी हुन्छ यो सिद्धियोस्। 

 Published Date: Monday, 10th June 13:15:15 PM