मंगलबार, साउन २७, २०७७

‘कोरोना भाइरसको जाँच नेपालमा राम्रोसँग भएकै छैन’

अमोद प्याकुरेल। | तस्वीर:रिवाज राई

कोरोना भाइरस विश्वभर फैलिएपछि विश्व स्वास्थ्य संगठनले महामारी घोषणा गरेको छ। चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) अहिले एक सय २७ देशमा देखिएको छ।

कोरोना भाइरसको उद्गमस्थल वुहानबाट नजिकै रहेको नेपाल पनि संक्रमणको उच्च जोखिममा रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। नेपालमा अहिलेसम्म एक जनामा मात्रै कोरोना भाइरसकाे संक्रमण देखिएपनि महामारीका रुपमा फैलिन नदिन सरकारले उच्च सतर्कता अपनाएको छ।

यही विषयमा अमेरिकाको नर्थ फ्लोरिडा विश्वविद्यालयमा चिकित्सा समाजशास्त्रको प्राध्यापन गर्दै आएका अमोद प्याकुरेलसँग काठमाडौं प्रेसका लागि सोनी शाहीले गरेको कुराकानी : 

-विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसकाे संक्रमणलाई महामारी घोषणा गरेको छ। यसको अर्थ के हो? 

कुनै पनि रोग अनियन्त्रित रुपमा फैलिन्छ भने त्यसैलाई महामारी भनिन्छ। अहिले कोरोना जुन गतिमा विश्वभर फैलिएको छ, यसलाई नै खासमा महामारी भनिन्छ।
 
-कोरोना भाइरसलाई महामारी घोषणा गर्नुको कारण के हो?

कोरोना भाइरस भनेको नयाँ रोग हो। यसको प्रकृति कस्तो हो भन्ने विषय अनुसन्धानकै क्रममा छ। विश्वव्यापी रुपमै यो भाइरस तीव्र रुपमा फैलिसकेको र यसलाई नियन्त्रण गर्न नसकिएकाले विश्व स्वास्थ्य संगठनले यसलाई महामारी घोषणा गरेको हो।

चीनबाट कोरोना भाइरसको संक्रमण सुरू भएर छोटो समयमा सबैतिर फैलियो। त्यसपछि इरान, इटाली र दक्षिण कोरियामा सबैभन्दा धेरै संक्रमण भएको पुष्टि भयो। अहिले एक सय २७ देशमा कोरोना भाइरसको प्रकोप बढेको र मृत्यु हुनेको संख्यामा पनि वृद्धि भएकै कारणले पनि यसलाई महामारी घोषणा गरिएको हो।

तसर्थ अहिले कोरोना भाइरसको संकट अर्को चरणमा पुगिसकेको छ। यसकाे विश्वव्यापी खतरा पनि बढ्दै गएको छ। तत्कालै नियन्त्रणका लागि सरकार र सम्बन्धित निकायले कदम चाल्न जरूरी छ।

कोरोना भाइरसबाट प्रभावित राष्ट्रहरूले नियन्त्रणका लागि के गर्नुपर्छ?

सबैभन्दा पहिले कोरोना भाइरस संक्रमण हुनुभन्दा अघि नै सतर्कता अपनाउनुपर्छ। सम्बन्धित निकायले जनचेतना फैलाउने, आर्थिक, सामाजिक र व्यक्तिगत रुपमा सबल बनाउने, सरकारले स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखेर नीति बनाउने लगायतका कार्यबाट कोरोना भाइरसको जोखिमलाई न्यूनीकरण गर्न सकिन्छ।

अहिले पनि जनमानसमा त्रास पैदा गर्ने तरिकाले समाचारहरु प्रकाशन/प्रशारण भइरहेका छन्। कसैले नेपालमा आइसकेको त छैन नी भन्ने कुराहरू पनि गर्छन्। तर, कोरोना भाइरस लागेपछि उपचार गरौंला भन्नु मुर्खता हो। यो भाइरस तीव्र रुपमा सर्ने भएकाले यसको संक्रमण देखिनु अगाडि नै आवश्यक सतर्कता अपनाउनु पर्छ। 

सुरूमा पश्चिमी मुलुकमा पनि कोरोना भाइरसलाई खासै वास्ता गरिएको थिएन। तर, अहिले योसँग सम्बन्धित हरेक कुरालाई सावधानीपूर्ण ढंगमा लिन थालिएको छ।