बुधबार, मंसिर २५, २०७६

युरोपका आकाशमा छिट्टै नेपाली विमानले उडान भर्नेछन् : पर्यटनमन्त्री भट्टराई

काठमाडौं, साउन २९ : संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले युरोपका आकाशमा छिट्टै  नेपाली विमानले उडान भर्ने बताएका छन्।

चेम्बर अफ कमर्शले बुधबार राजधानीमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री  भट्टराईले अन्तर्राष्ट्रिय उड्डयन सुरक्षा मापदण्ड पालना गर्नुका साथै उड्डयन अडिटमा नेपालको अवस्था निकै राम्रो रहेकाले अब उडानमा रोक लगाइरहनु पर्ने अवस्था नरहेको बताए।

उडानमा लगाइएको रोक फुकुवा गराउने सम्बन्धमा आफूले छलफल र वार्ता गरिरहेको भन्दै उनले छिट्टै युरोपेली मुलुकको आकाशमा नेपाली विमानले उडान भर्ने विश्वास व्यक्त गरे। मन्त्री भट्टराईले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको उडान सुरक्षा मापदण्ड विश्वमा सरदर ६० प्रतिशत रहेकोमा नेपालको ६६ दशमलव ५ प्रतिशत रहेकाले अब उडानमा रोक लगाउनुपर्ने कुनै औचित्य नरहेको बताए।

इयुले सन् २०१३ देखि नेपाली वायु सेवा कम्पनीलाई युरोप उडानमा रोक लगाउँदै आएको छ। मन्त्री भट्टराईले हालै मात्रै हिमालयन एयरलाइन्सलाई चीनका थप गन्तव्यका लागि र श्री एयरलार्ई दिल्ली, कोलकाता, अहमदावाद र  ढाका उडानका लागि अनुमति दिएको जानकारी दिँदै सरकार सधै निजी क्षेत्रलाई प्रोत्साहित गर्दै नीतिगत अप्ठ्याराहरु खोल्न तयार रहेको बताए। 

उनले आन्तरिक उडानमा विदेशीले तिर्नुपर्ने शुल्कबारे मन्त्रालयले छिट्टै सरोकारवालासँग छलफल गर्ने तयारी गरेको जानकारी पनि दिए।

कार्यक्रममा चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले ट्राफिकका कारण जहाजलाई धेरै समय आकाशमा होल्ड गराउने र लगेज लिन समय लाग्ने समस्याको सम्बोधन गर्न मन्त्रीको ध्यानाकर्षण गराएका थिए। उनले विमानस्थलभित्र रहेका ड्युटी फ्रिलाई प्रभावकारी बनाउन पनि आग्रह गरे।


 

 Published Date: Wednesday, 14th August 19:12:55 PM