मंगलबार, असार ३, २०७६

सार्वजनिक यातायातको भाडा बढ्यो, महँगी पनि बढ्ने

काठमाडौंं, जेठ ३० : सरकारले सार्वजनिक सवारीको भाडा ५ देखि १२ प्रतिशतसम्म वृद्धि गरेको छ।

यातायात व्यवस्था विभागले असार १ गतेदेखि लागू हुने गरी सार्वजनिक यातायातको भाडाा वृद्धि गरेको हो। यातायात व्यवस्था विभागले सरोकारवालाहरुसँग बुधबारमात्रै छलफल गरेको थियो।

विभागले ट्याक्सीदेखि लामो तथा छोटो दूरीसम्मका सार्वजनिक सवारीको भाडा वृद्धि गरेको हो। सार्वजनिक सवारीको भाडा २०७२ माघ यता समायोजन नभएको भन्दै व्यवसायीहरुले भाडा वृद्धि गर्न माग गर्दै आएका थिए। 

२०६५ मा सरकारले सार्वजनिक सवारीको भाडा समायोजन गर्न बैज्ञानिक भाडा निर्धारण मापदण्ड लागू गरेको थियो। उक्त मापदण्डमा ३५ प्रतिशत भार इन्धनको र ६५ प्रतिशत मूल्य वृद्धि लगायतको भार हुने व्यवस्था छ। 

‘प्रत्येक वर्ष भाडा समायोजन गर्नेगरी बैज्ञानिक भाडादर लागू भएको भएपनि सरकारले व्यवसायीलाई ढाँटेर चार वर्षसम्म भाडा बडाएको थिएन,’यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले भने। 

सवारीसाधनमा प्रयोग हुने स्पेयर पाट्सदेखि कर्मचारीको सेवा सुविधा तथा मूल्य वृद्धि आकाशिएपनि  सरकार यातायात व्यवसायीलाई निरुत्साहित गर्न उद्दत रहेको सिटौलाको आरोप छ। तराई क्षेत्र र पहाडी क्षेत्रमा भाडा समायोजन भिन्दाभिन्दै दरमा हुँदै आएको छ। त्यस्तै, मिटर ट्याक्सीको भाडा समेत समायोजन गरिएको छ। 

भाडा बढेसँगै काठमाडौं उपत्यकामा अब सार्वजनिक सवारीसाधन चढ्ने यात्रुले ४ किमिसम्मको भाडा १६ रुपैयाँ तिर्नुपर्ने भएको छ। यसअघि ४ किमिसम्मको १४ रुपैयाँ थियो। पहाडी जिल्लामा भने योभन्दा बढी भाडा यात्रुले तिर्दै आएका थिए। 

त्यस्तै, मिटर ट्याक्सीमा समेत १० प्रतिशत भाडा बढाइएको छ । सरकारले ढुवानी गर्ने सार्वजनिक यातायातदेखि यात्रु बोक्ने सवारीसम्मको भाडा वृद्धि गरेकाले महँगी बढ्ने समेत निश्चित भएको छ। 
 

 Published Date: Thursday, 13th June 17:41:18 PM