शनिबार, असार २७, २०७७

महंगियो तरकारी, कालिमाटीभन्दा बजारमा दोब्बर मूल्य

काठमाडौं, वैशाख ८ : लकडाउनका कारण कालिमाटी फलफूल तथा तरकारी बजारमा थोक बजार बन्द भएको छ। जसले गर्दा उपभोक्ताले कालिमाटीबाटै आउने तरकारी महंगोमा खरिद गर्नुपरिरहेको छ।

यतिवेला कालिमाटीमा गोलभेडाको मूल्य प्रतिकेजी ३० देखि ४० रुपैयाँ छ। तर, बजारमा भने ९० देखि एक सय रुपैयाँ पुगेको छ। त्यस्तै, कालिमाटीमा काउली १५ देखि २० रुपैयाँ किलो छ भने बजारमा ८५ रुपैयाँमा बिक्री भइरहेको छ।

सोमबार कालिमाटीमा प्याजको भाउ ३० देखि ३५ रुपैयाँ छ भने बजारमा ८० रुपैयाँ पुगेको छ। मुला कालिमाटीमा १५ देखि २० रुपैयाँ किलोको दरले बिक्री भइरहेको छ भने बजारमा एक सय रुपैयाँ पुगेको छ। करेला प्रतिकिलो ७५ देखि ८० रुपैयाँमा कालिमाटीमा बिक्री भइरहेको छ भने बजारमा १५० रुपैयाँ पुगेको छ।

कालीमाटी तरकारी बजारमा थोक बजार बन्द गरिएसंगै विचौलियाले मनलाग्दी तरकारीको भाउ बढाएका हुन्। उनीहरुले तरकारी पसलमै महंगोमा बिक्री गर्छन्। जसले गर्दा उपभोक्ताले पनि कालिमाटीभन्दा दोब्बरमा तरकारी खरिद गर्नुपरिरहेको छ।

तरकारी पसलले पनि कालिमाटीबाटै सिधै तरकारी ल्याउन नपाउँदा महंगो भएको बताउँछन्। कागेश्वरी मनोहरा नगरपालिकाको गोठ्ठटारस्थित तरकारी पसल सञ्चालन गरिरहेकी सीता श्रेष्ठ सिधैँ खरिद गर्न नपाउँदा महंगो भएको बताउँछिन्।

उनी भन्छिन्, ‘पहिला सिधैं कालीमाटी गएर तरकारी ल्याइन्थ्यो। आजभोलि एक व्यपारीबाट अर्काे व्यापारी हुँदै तीन–चारजना विचौलियाबाट पसलसम्म आइपुग्छ। त्यसैले महंगो भएको हो।’

कालीमाटीसम्म तरकारी ल्याउनेले एउटा व्यापारीलाई दिन्छ। एकले अर्कालाई बिक्री गर्दै तीन–चार जनापछि मात्रै तरकारी पसलमा पुग्छ। ‘चरणबद्ध रुपमा अन्तिममा पसलसम्म आइपुग्दा कालीमाटीको मूल्यभन्दा दोब्बर मूल्य पसलेलाई पर्छ,’ उनी भन्छिन्।

स्थानीय स्तरमा उत्पादित तरकारी वरपर नै बिक्री हुन्छ। त्यो पसलसम्म पुग्ने गरेको छैन।

गत शनिबारदेखि कालीमाटीमा कारोबार बन्द गरिएको छ। भीडभाडलाई कम गर्न चैत १६ गतेदेखि नै खुद्रा व्यापार रोकिएको थियो।

त्यसयता थोक बजार चलिरहेको थियो। तर, शनिबारदेखि थोक बजार पनि बन्द गर्दा समस्या हुन थालेको हो। अहिले ब्यापार बन्द गरिएको र संकलन केन्द्र मात्र राखिएको सूचना अधिकारी विनय श्रेष्ठले बताए।

अहिले पनि तरकारी आयात भइरहेको बताउँदै उनले भने, ‘तरकारी आयातमा रोक लागाइएको छैन। २४ घन्टा नै आइरहेको छ। व्यापारीले बिहानको समयमा आएर तरकारी लिएर महानगरले तोकेको स्थान अर्थात आफ्नो सम्पर्कमा रहेका व्यापारीहरुलाई अन्य स्थानबाट बिक्री वितरण गरिरहेका छन्।’

अहिले काठमाडौं महानगरपालिकाले बल्खु, कलंकी, स्वयम्भू, बालाजु, वनस्थली, गोंगबु, वसुन्धारा, महाराजगञ्ज, चावहिल, तीनकुने, खुलामञ्च गरी ११ स्थानमा वैकल्पिक तरकारी बजार तोकेको छ।

दैनिक चार सय टन आयात

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार, अहिले नेपाल र भारतबाट तरकारी आउने गरेको छ। दैनिक चार सय टन तरकारी आउने गरेको समितिले जनाएको छ। यस अघि नौ सय टन आउने गरेको थियो।

सूचना अधिकारी श्रेष्ठले अतिआवश्यक तरकारी मात्रै भारतबाट आइरहेको बताए। ‘अहिले भारतबाट अतिआवश्यक तरकारी कागती र प्याज भित्रिरहेको छ। अन्य तरकारी देशभित्रकै छ। काठमाडौंंका छिमेकी जिल्लाहरुबाट आइरहेको छ,’ श्रेष्ठले भने।

उनका अनुसार, भारतबाट २५ प्रतिशत तरकारी आउने गरेको छ। बाँकी चितवन, धादिङ, सर्लाही, मकवानपुर, काभ्रेलगायतका जिल्लाको तरकारी नै रहेको छ। लकडाउन अघि ५० प्रतिशत तरकारी भारतबाट आउने गरेको थियो।

 Published Date: Monday, 20th April 14:32:31 PM