शनिबार, असार २७, २०७७

कोरोना भाइरस नियन्त्रण गर्ने स्वीडेनको रणनीति चाँडै विश्वले अपनाउने

जनवरीमा हुबेइ प्रान्तको पाँच करोड जनसंख्या चीनले क्वारेन्टिनमा राख्यो। त्यसपछि थुप्रै उदार लोकतन्त्रले नोभेल कोरोना भाइरस विरूद्ध आक्रामक अधिनायकवादी उपाय अवलम्बन गरे।

मार्चको मध्यसम्म अर्गनाइजेसन फर इकोनोमिक कोअपरेसन एण्ड डेभलपमेन्ट (ओइसिडी) अन्तर्गत अधिकांश देशले विद्यालय, विश्वविद्यालय, कार्यस्थल, र सार्वजनिक यातायात कुनै न कुनै प्रकारले बन्द गरे। सार्वजनिक भेला कार्यक्रम निषेध गरे। आन्तरिक र अन्तर्राष्ट्रिय उडान नियन्त्रण गरे। तर पश्चिममा एउटा देश भने अपवादको रूपमा देखा परेको छ।

स्वीडेनले बन्दाबन्दी वा सङ्कटकाल घोषणा गरेन। त्यसको साटो नागरिकलाई प्राय: स्वेच्छिक आधारमा सामाजिक दूरी अभ्यास गर्न आग्रह गर्योो। संक्रमण फैलिन नदिनलाई स्वीडेनले ५० भन्दा धेरै भेला हुने सार्वजनिक कार्यक्रम, बार बन्द गर्योो। त्यसैगरी, हाइ स्कूल र विश्वविद्यालयका लागि दूर शिक्षा पनि लागू गर्‍यो।

तर कठोर नियम, जरिवाना र प्रहरी परिचालन गरेन। अन्य पश्चिमा लोकतन्त्रको दाँजोमा कमै भए पनि स्वीडेनले व्यवहारमा परिवर्तन गरेको छ। धेरै रेस्टुरेन्ट खुल्लै छन्। बालबालिका विद्यालय गइरहेका छन्। छिमेकी देश नर्वे र केही एसियाली देशको तुलनामा स्वीडेनले “लोकेसन ट्रेसिङ” प्रविधि वा एप प्रयोग गरेको छैन। यसरी गोपनीयता र व्यक्तिगत स्वायत्तताको जोखिमबाट स्वीडेन टाढै बसेको छ।

स्वीडेनका अधिकारीले “हर्ड इम्युनिटी” को लक्ष्य औपचारिक रूपले घोषणा गरेको छैन। कुल जनसंख्याको ६० प्रतिशतभन्दा धेरै भाइरसबाट संक्रमित भए त्यस्तो अवस्थामा पुगिने अधिकांश वैज्ञानिकको विश्वास छ। प्रतिरोधात्मक क्षमता वृद्धि गर्नु सरकारको वृहत रणनीति भएकोमा कुनै शङ्का छैन वा भनौं विद्यालय, रेस्टुरेन्ट र अधिकांश व्यवसाय खुलै राख्नाले यस्तो परिणाम आउनेछ।

स्टकहोल्म शहरमा यो महिनासम्म “हर्ड इम्युनिटी” विकास भइसक्ने स्वीडेनको पब्लिक हेल्थ एजेन्सीका प्रमुख एपिडेमियोलोजिस्ट आन्डर्स टेग्नेलले प्रक्षेपण गरेका छन्।
स्टकहोल्म विश्वविद्यालयका गणितज्ञटम ब्रिटनले भाइरसको प्रसार रोक्नलाई ४० प्रतिशत इम्युनिटी पर्याप्त हुने र यस्तो जुनको मध्यसम्म हुने बताएका छन्।

अर्थतन्त्रलाई केही मात्रामा भए पनि जोगाउन तथा बेल्जियम, फ्रान्स, इटाली, नेदरल्यान्ड्स, स्पेन र संयुक्त अधिराज्यको तुलनामा मृत्युदर कम राख्न सकेकोमा स्वीडेनले प्रशंसा बटुलेको छ। तर अन्य नोर्डिक देशभन्दा बढी मृत्युदर भएको र विशेष गरी वृद्ध र आप्रवासी जनसंख्यालाई सुरक्षित राख्न नसकेकोमा आलोचित पनि छ। कोभिड १९ का कारण मृत्यु हुने आधाभन्दा धेरैले स्वास्थ्य उपचार गराइरहेको र वृद्ध स्याहार सेवा लिइरहेका थिए। टेग्नेलले बताए अनुसार मास्क लगाउनेजस्ता सुरक्षाका आधारभूत उपाय अवलम्बन गर्न ढिलाइ हुनु यसको आंशिक कारण हो।

आप्रवासी पनि एकदमै प्रभावित छन्। औसतमा उनीहरू गरिब छन्। टाढा बसेरकाम गर्न नसकिने क्षेत्रको रोजगार भएकाले पनि यस्तो भएको हो। तर दूरदर्शी भएर हेर्दा देशको उच्च मृत्यु दर तुलनात्मक रूपले कम हुने स्वीडेनका अधिकारीको तर्क छ। धेरैमा देशमा भाइरस नियन्त्रणका प्रयास असफल भइरहेको छ। अन्तत: ठूलो जनसंख्या संक्रमित हुनेछन्। अधिकांश विश्वमा खतरनाक “सेकेन्ड वेभ” चलिरहेको बेला, स्वीडेनमा महाव्याधिको अवस्था झनै गम्भीर हुनसक्छ।

स्वीडेनको प्रतिकार्य उत्कृष्ट होइन तर युवा र स्वस्थमाझ प्रतिरोधी  क्षमता वृद्धि गर्न सफल भएको छ। थप संक्रमण फैलिन पनि दिएको छैन। त्यहाँको सघन उपचार केन्द्रमा चाप छैन। दबावमा भए पनि अस्पतालका कर्मचारीलाई बालस्याहारको थप जिम्मेवारी उठाउनु परेको छैन। दिवा सेवा र प्राथमिक विद्यालय सञ्चालनमै छन्।

स्वीडेनको पद्धती खुला रूपले अङ्गिकार गरे वा नगरे पनि अन्य धेरैले यसबारे विचार गरिरहेका छन्। डेनमार्क रु फिन्ल्यान्ड दुवै देशले बालबालिकाको विद्यालय खोलेका छन्। जर्मनीले बिस्तारै साना पसलहरू खोल्दैछ। इटालीले चाँडै नै पार्क खोल्नेछ।

फ्रान्सले कृषि बजार, साना संग्रहालय, विद्यालय र दिवा सेवा केन्द्र खोल्ने योजना बनाउँदैछ। हालसम्म कोभिड १९ का कारण सबैभन्दा धेरै मृत्यु अमेरिकामा भएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको आग्रहमा थुप्रै राज्य खुकुलो बनाइएको छ। स्वीडेनको मोडेलको आलोचना गरे पनि ट्रम्पले अमेरिकालाई त्यहि दिशामा बढाइरहेका छन्।

नियन्त्रण खुकुलो बनाउँदै जानका लागि थुप्रै कारण छन्। भाइरसका कारण हुने कुल मृत्यु संख्या, टाट पल्टिएका व्यवसाय, कर्मचारी/कामदार कटौती, आत्महत्या, मानसिक स्वास्थ्य समस्या, कुल ग्राहस्थ उत्पादन र लगानीमा भएको घाटा र अन्य लागत लेखाजोखा गर्न वर्षौं लाग्नेछ। यसमा भाइरस नियन्त्रण गर्नलाई अवलम्बन गरिएका उपायको पनि उत्तिकै महत्वपूर्ण भूमिका हुनेछ।

बन्दाबन्दीको आर्थिक तथा सामाजिक भार असाधारण हुने निश्चित छ। ओइसिडीको अनुमान अनुसार हरेक महिना महाव्याधि सम्बन्धी कडाइले विकसित देशको अर्थतन्त्र दुई प्रतिशतले घट्छ। फ्रान्स, जर्मनी, इटाली, स्पन, संयुक्त अधिराज्य र अमेरिकाको अर्थतन्त्र एकै वर्षमा २५ प्रतिशतभन्दा धेरैले खुम्चिनेछ। बेरोजगारी सन् १९३० को दशकको हाराहारीमा पुगेको छ। यसले राजनीति गतिरोध उत्पन्न भएको छ र सामाजिक विभाजन गहिरिएको छ।

खोप विकास हुने अवधिसम्म बन्दाबन्दी दिगो छैन। खोले आर्थिक, सामाजिक र राजनीतिक दबाब कम हुनेछ। यसले जनसंख्याको प्रतिरोधी क्षमता पनि बढ्नेछ। दीर्घकालीन रूपमा कोभिड १९ सँग लड्ने यो एउटा उपाय हुनसक्छ। रोगबारे पूर्ण ज्ञान भइसकेको छैन। तर बन्दाबन्दी देशले नयाँ र अझ गम्भीर महामारी सामना गर्नुपर्ने हुनसक्छ। ती देशले स्वीडेनकै बाटो पछ्याए महाव्याधिको कुला व्यय भार घट्नेछ र सायद चाँडै समाधान पनि हुनेछ।

स्वीडेनको कोभिड १९ प्रतिकार्यले देशको विशिष्ट संस्कृति झल्काउँछ। यसका विविध पक्ष अन्यत्र नक्कल गर्नु सजिलो पनि नहोला। विशेषगरी, आधिकारिक सुझाव र व्यक्तिगत जिम्मेवारी स्क्यान्डिनाभियाभन्दा पर नपुग्ला। स्वीडेनमा विश्वासको स्तर उच्च छ। जनताबीच मात्रै नभएर जनता र सरकारी निकायबीच पनि उत्तिकै बलियो छ। स्वीडेनका नागरिक स्वेच्छिक सुझावलाई गम्भीर रूपमा लिन्छन्। यस्तो अन्यत्र देखिँदैन।

अन्य थुप्रै देशको तुलनामा स्वीडेनका नागरिक बढी स्वस्थ छन्। त्यसैले अन्य देशमा बिरामीको सुरक्षाका लागि थप सावधानी आवश्यक हुनसक्छ। बन्दाबन्दी खुकुलो बनाउने देशले वृद्ध र आप्रवासीको सवालमा स्वीडेनले गरेको गल्तीबाट सिक्न सक्छन्। स्वास्थ्य उपचार/स्याहार केन्द्रमा मास्क र सुरक्षाका अन्य उपकरण तुरून्तै उपलब्ध गराउनुपर्छ। उमेर वा रोगका कारण अधिक जोखिममा रहेका सेवा क्षेत्रका कर्मचारीको सुरक्षामा विशेष ध्यान र जोड दिनुपर्छ। पुरै समाज बन्द नगरी जोखिममा रहेका व्यक्तिलाई सुरक्षित राख्नमा जोड दिनुपर्छ।

एकातिर वैज्ञानिकले भाइरसबारे नयाँ ज्ञान सिकिरहेका छन्। सम्बन्धित निकायले संक्रमण रोकथाम गर्न नयाँ र प्रभावकारी उपाय पनि विकास गरिरहेका छन्। अर्कोतिर, बन्दाबन्दीको औचित्य कमजोर बन्दै गएको छ। अमेरिका र संयुक्त अधिराज्यमा जोखिम बढी छ। तर सबैलाई घरभित्रै बस्न बाध्य बनाउनुभन्दा जोखिमा रहेका व्यक्तिको सुरक्षाको लागत कम छ। हर्ड इम्युनिटीको बाटो व्यवस्थापन गर्नु जोखिममा रहेको सुरक्षा गर्नु हो। यो बुझ्न स्वीडेनले ठूलो मुल्य चुकाएको छ। तर अब त्यहाँको परिस्थिति नियन्त्रणमा छ।

देशव्यापी बन्दाबन्दीको पीडा बढ्दै गएको छ। महाव्याधि पराजित गर्नुभन्दा व्यवस्थापन गर्नु नै यथार्थपरक विकल्प भएको राष्ट्रहरूले बुझ्दै गएका छन्। अब धेरै देशहरू खुल्न थाल्नेछन्। स्वास्थ्य स्याहार प्रणालीमा चाप कम गर्न स्मार्ट सामाजिक दूरी, पीडितका लागि सुधारिएको थेरापी र जोखिमा रहेका समूहका लागि प्रभावकारी सुरक्षाले मानवीय क्षति घटाउन सहयोग गर्न सक्छ।

अन्तिममा हर्ड इम्युनिटी नै रोगविरूद्ध एक मात्र व्यवहारिक प्रतिरक्षा हुनसक्छ। तर जोखिममा रहेका समूहको सुरक्षा पहिलो शर्त हुनुपर्छ। महाव्याधि व्यवस्थापनमा स्वीडेनको जेजस्तो मूल्याङ्कन भए पनि देश निकै अघि बढिसकेको अन्य देशले देख्न थालेका छन्।
फरेन अफेर्स 

 Published Date: Tuesday, 19th May 06:38:03 AM