सोमबार, मंसिर ३०, २०७६

डा. केसीलाई समर्थन गर्दै टिचिङ अस्पतालका विद्यार्थी आन्दोलनमा

काठमाडौं, कात्तिक २५ : प्राध्यापक डा. गोविन्द केसीको सत्याग्रहमा समर्थन जनाउँदै त्रिवि शिक्षण अस्पताल महाराजगंजका विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् । डा. केसीको मागलाई समर्थन गर्दै तत्काल माग पुरा गरेर अनशन तोडाउने पहल नगरेसम्म चरणबद्ध आन्दोलनका कार्यक्रम जारी राख्ने जनाएका छन्।

डडेल्धुरामा  १७ औं सत्याग्रहमा रहेका केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि आफ्नो गुरुको जीवनरक्षाको माग गर्दै विद्यार्थीहरुले आन्दोलन गर्ने घोषणा गरेका हुन्र।  

'जब डा. केसी यहाँ हुनुहुन्थ्यो तब उहाँले दिनरात नभनी बिरामी जाँच्नुभयो , हामीलाइ अर्थोपेडिक्सको कखरा चिनाउनु भयो । त्यतिमात्र हाम्रो इन्स्िटच्युटलाई राजनैतिक भागबन्डाले थङथिलो बनाएको थियो, त्यस्तो अवस्थामा सरले आफ्नो ज्यानको बाजि थाप्दै टिचिङ अस्पतालका लागि लडिरहनु भयो । तसर्थ अहिले सेवानिवृत्त हुनु भयो भन्दैमा हामीले यहाँ चुप बस्न मिल्दैन,' आन्दोलनका कार्यक्रम घोषणा गर्दैगर्दा नेपाल मेडिकल स्टुडेन्ट सोसाइटिका अध्यक्ष डा। शक्ति चौरासियाले बताए।

धर्ना , र्‍याली लगायतका कार्यक्रम घोषणा गरेका विद्यार्थीहरुले आफ्ना गुरुको स्वास्थ्य अवस्था बिग्रदै जाँदा पनि सरकार गम्भीर नभएमा अस्पतालको सेवा ठप्प पार्ने सम्मको कठोर आन्दोलन गर्ने चेतावनी दिएका छन्  ।

 Published Date: Monday, 11th November 21:22:40 PM