शुक्रबार, फागुन १६, २०७६

नेप्से परिसूचक टेवा क्षेत्रमा, अब के होला ?

काठमाडौं, माघ २६ : नेप्से परिसूचक १३ दशमलव ७० अंकले अर्थात १ दशमलव ०३ प्रतिशतले घटेर १३१९ दशमलव ९९ को विन्दुमा बन्द भएको छ।

आइतबार उत्पादन तथा प्रशोधन उपसूचकबाहेक अरु सबै उपसूचकमा गिरावट आएको छ। सर्वाधिक गिरावट हुनेमा होटल, निर्जीवन विमा र बैंकिङ्ग उपसूचकहरु छन्। यी उपसूचकमा क्रमशः २ दशमलव ७३, २ दशमलव १८ र १ दशमलव ०७ प्रतिशतको गिरावट छ।

दोस्रो बजार १३३२ दशमलव ९१ को विन्दुमा खुलेको थियो भने १३३३ दशमलव ८६ को उच्च विन्दुसम्म पुगेको थियो। बजारको न्यून विन्दु १३१६ दशमलव १०  थियो। ९५ करोड ४ लाख रुपैयाँ बराबरको शेयर किनबेच हुँदा कारोबार रकम भने घटेको छ।

आजको बजार अवस्था  

सर्वाधिक कारोबार हुने 
सबैभन्दा धेरै नेको इन्स्योरेन्सको शेयर किनबेच भएको छ। नेको इन्स्योरेन्सको ३ करोड ९२ लाख बराबरको शेयर किनबेच भएको छ। 

आज सर्वाधिक कमाउने र गुमाउने 
आज स्वाभिमान लघुवित्तका शेयरधनीले सर्वाधिक ३ दशमलव ८८ प्रतिशतले कमाए भने प्रुडेन्सियल इन्स्योरेन्सका शेयरधनीले सर्वाधिक ५ दशमलव ७५ प्रतिशतले गुमाए।

छोटो समयावधिको प्राविधिक विश्लेषण 

अघिल्लो दिनको विश्लेषणको निष्कर्ष अनुसार बजार घट्दो प्रवृत्तिमा रहेको र तत्कालीन टेवा १३२५ को क्षेत्रमा रहेको देखिन्छ भनिएको थियो। आज बजार झरेर १३१९ दशमलव ९९ विन्दुमा बन्द भएको छ। 

चित्र नं १ : नेप्से दैनिक मैनबत्ती प्रवृत्ति

चित्र नं १ मा दैनिक मैनबत्ती विश्लेषण अनुसार बजारले १३५५ मा प्रतिरोध सामना गरी बजार सच्चिरहेको छ। आज बजारले ‘बियरिस’ मैनबत्ती आकृति बनाएको छ, यसले बजारमा विक्रेताको चाप रहेको संकेत गरेको छ। आजको परिमाण घटेको छ। 

चित्र नं.२ : पाँच मिनेट मैनबत्ती प्रवृत्ति

चित्र नं.२ मा, दुई दिनको कारोबार कस्तो रह्यो भनेर हेर्नलाई पाँच मिनेट समयावधिको मैनबत्तीलाई प्रयोग गरिएको छ। अघिल्लो दिन घट्दो प्रवृत्तिमा रहेको बजारले आज पनि निरन्तरता पाएको छ। 

२१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरुले “डेड क्रस” बनाए पछि बजार घट्दो प्रवृत्तिमा रहेको देखिन्छ। रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ४१ दशमलव ७८ अंकमा रहेको छ। कारोबारको अन्तिम समयमा आरएसआई र स्टोकास्टिक अक्सिलेटरले बजारमा शेयर बढी विक्री भएको र क्रेताको चाप हुन थालेको संकेत गरे पनि बजारको प्रवृत्तिले समर्थन गरेको देखिँदैन। 

निष्कर्ष : छोटो समयावधिको बजारको प्रवृत्ति र सूचकले बजार हाल १३०० देखि १३२० को टेवा क्षेत्रमा रहेको देखिन्छ। यदि बजार १३२८ भन्दा माथि स्थिर रहेमा बजार केही सकारात्मक हुन सक्ने संकेत गर्दछ। 
 

 Published Date: Sunday, 9th February 17:34:22 PM