बुधबार, मंसिर २५, २०७६

हिन्दु राज्य मात्रै होइन्, गणतन्त्र र संघीयतामा पनि जनमत संग्रहमा जानुपर्छ : महामन्त्री कोइराला

| तस्वीर:काठमाडौं प्रेस

काठमाडौं, चैत ६ : कांग्रेस महामन्त्री शशांक कोइरालाले हिन्दु राज्य कामय गराउने कि धर्म निरपेक्षतानै राख्ने भन्ने विषयमा जनमत संग्रहमा जानु पर्ने बताएका छन् । 

होलीको अवसरमा उनकै निवास टोखामा आयोजित कार्यक्रममा बोल्दै महामन्त्री कोइरालाले झण्डै ८० प्रतिशत हिन्दु भएको मुलुकलाई धर्मनिरपेक्ष राजनीति निर्णयबाट घोषणा गरिनु गलत भएको भन्दै जनमत संग्रहमा जानु पर्ने बताएका हुन् ।

‘८० प्रतिशतभन्दा बढि हिन्दु भएको मुलुकमा राजनीतिक निर्णय गरेर धर्मनिरपेक्ष घोषणा गर्नु गलत हो’ कोइरालाले भने, ‘यस विषयमा जनताको राय लिनै पर्छ अव तत्काल धर्मनिरपेक्ष कायम गर्ने कि हिन्दु राज्य घोषणा गर्ने भन्नेमा जनमत संग्रह गर्नुपर्छ ।’

कोइरालाले जनताले माग गरे संघीयता र गणतन्त्रका विषयमा पनि जनमत संग्रहमा जान डराउन नहुने पनि बताए । ‘माग भयो भने संघीयता राख्ने कि खारेज गर्ने भन्ने विषय र गणतन्त्र कि राजतन्त्र भन्ने विषयमा पनि जनमत संग्रहमा जानु पर्छ’ कोइरालाले भने, ‘जनमत लिन हामी किन डराउनु पर्‍यो ?’

कोइराला पार्टीले संसदमा प्रतिपक्षको भूमिका अझै प्रभावकारी बनाउने रणनीति लिएको पनि बताए । उनले पार्टी अब एकढिक्का भएर अघि बढ्ने पनि बताए । 

कोइरालाले आज आफ्नै निवासमा विभिन्न नेता तथा कार्यकर्ताहरुलाई बोलाएर होली मनाएका हुन् ।

हिन्दु राज्यको पक्षमा वकालत गर्दै आएका कोइरालाले आजको कार्यक्रममा संघीयता र गणतन्त्रमा पनि जनमतमा जानु पर्ने धारणा भने पहिलो पटक बताएका हुन् । 

संघीयता, धर्मनिरपक्षेता र गणतन्त्र कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा कायम भएको हो ।  

 Published Date: Wednesday, 20th March 12:01:55 PM