शुक्रबार, साउन ३०, २०७७

जुम्लामा सलह देखिएपछि प्रतिकार्य योजना बन्दै

जुम्ला, असार ३० : जुम्लाको पूर्वी भेग पातारासी गाउँपालिका हुँदै चन्दननाथ नगरपालिकामा सलह किरा देखिएपछि यसको रोकथाम तथा नियन्त्रण र प्रतिकार्य योजना बनाउन थालिएको छ। कृषि तथा खाद्य सुरक्षा समितिको बैठकले सलह नियन्त्रण तथा प्रतिकार्य योजना बनाउने निर्णय गरेको हो। 

जुम्लामा सलह पुगेपछि बालीमा क्षति हुन नदिन प्रशासनमा आकस्मिक बसेको बैठकले यस्तो निर्णय लिएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए। उनले भने,'बैठकमा सलहको विषयमा कृषि विज्ञसँगको राय, सल्लाह, सुझावसहित क्षति कम गर्ने तयारी भइरहेको छ।'

कृषि तथा खाद्य सुरक्षा समितिका संयोजक तथा कृषि कार्यालयका प्रमुख बालकराम देवकोटाले सलहको परिचयसहित यसले पुर्‍याउने क्षतिको विषयमा कृषिविज्ञले सरोकारवालालाई जानकारी दिइने बताउए। बैठकमा सलह किरा डोल्पा हुँदै जुम्ला पुगेको जानकारी दिइयो। उनले फिल्डमा समेत अनुगमन भइसकेकाले किसान आफैँले बाजा बजाउने, थाल बजाउने र आगो बालेर भगाउने काम भइरहेको जानकारी दिए। जुम्ला पुगेको सलहले भने कुनै बालीमा बसेमा पूरै सखाप पार्ने गरेको छ।

स्याउ सुपरजोन जुम्लाका प्रमुख तथा वरिष्ठ कृषि विकास अधिकृत नवराज भण्डारीका अनुसार जुम्लामा आएको सलह हजारौँको संख्यामा छ। 

कृषि अनुसन्धान कार्यालय जुम्लाका निर्देशक डा तीर्थ रिजालले जुम्लामा आठदेखि १० हजार सलह आइरहेको देखिएको बताए। 

अहिले जुम्लामा आएको सलहले धान, आलु, मकै, सिमी, स्याउमा क्षति पुर्‍याउन शुरु गरेको छ। यहाँको पातारासी, गुठीचौर गाउँपालिका र चन्दननाथ नगरपालिकाको पूर्वी भेगतिर बालीमा क्षति पुर्‍याएको छ ।  

यहाँको पातारासी गाउँपालिकामा सलहले मकै, गहुँ र आलु बारीमा क्षति पुर्‍याउन थालेपछि गाउँपालिकाले सलह मारेर ल्याउनेलाई प्रतिकिलो दुई सय रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।

 Published Date: Tuesday, 14th July 12:55:27 PM