सोमबार, मंसिर २३, २०७६

आठ स्वर्णसहित नेपालले जित्यो ११ पदक

तेक्वान्दोमा स्वर्ण पदक जितेपछि नेपाली झण्डा फहराउँदै सीना मादेन लिम्बु। | तस्वीर:रिवाज राई

काठमाडौं, मंसिर १६ : १३औं दक्षिण एशियाल खेलकुद (साग)को पहिलो दिन मध्याह्नसम्म नेपालले ११ पदक जितेको छ।

नेपालले आठ स्वर्ण, दुई रजत र एक कास्य पदक जितेको हो। नेपालका लागि पहिलो स्वर्ण मण्डेकाजी श्रेष्ठले दिलाएका थिए। उनले कराँतेमा व्यक्तिगत कातामा स्वर्ण जितेका हुन्।

त्यस्तै, उनको टीम कातामा पनि स्वर्ण दिलाएका छन्। मण्डेकाजी, महसुस तामाङ र प्रविन मानन्धरले टीम कातामा स्वर्ण जितेका हुन्।

कराँतेमा नै लक्ष्मण तामाङले व्यक्तिगत कातामा स्वर्ण जितेका छन्। उनले फाइनलमा बंगलादेशलाई पराजित गर्दै स्वर्ण जितेका हुन्।

कराँतेमै यस अघि निर्मला तामाङ, सरु कार्की र संगिता मगरले टीम कातामा स्वर्ण जितेका थिए। उनीहरुले फाइनलमा पाकिस्तानको टोलीलाई पराजित गरेका थिए। कराँतेमा नेपालले चार स्वर्ण जितेको छ।

यस्तै, तेक्वान्दोमा दुई स्वर्ण जितेको छ। तेक्वान्दोमा कलम श्रेष्ठ र सीना मादेन लिम्बुले स्वर्ण पदक दिलाएका हुन्।

तेक्वान्दाेमै पार्वती गुरुङले नेपाललाई तेस्राे स्वर्ण दिलाएकी छन्। उनले तेक्वान्दाे पुम्सेकाे महिला एकलतर्फ २३-२९ उमेर समूहमा स्वर्ण जितेकी हुन्।

आजै पोखरामा भएको ट्रायथलनमा सोनी गुरुङले स्वर्ण जितेकी हुन्। उनले महिला इभेन्टतर्फको फेवातालमा ७५० मिटर पौडी, २० किमी साइकल र पाँच किमी दौड एक घण्टा १३ मिनेट ४५ सेकेण्डमा पूरा गरी नेपाललाई स्वर्ण पदक दिलाएकी हुन्।

त्यस्तै, पुरुष ट्रायथलनमा नेपालले कास्य पदक जितेको छ। नेपालका वसन्त थारुले एक घण्टा तीन मिनेट ६ सेकेण्डमा तोकिएको दूरी पार गरी काश्य पदक जितेका हुन्।

१३औं सागमा नेपाललाई पहिलो पदक चञ्चला दनुवारले दिलाएकी थिइन्। उनले कँरातेको व्यक्तिगत कातातर्फ रजत पदक जितेकी हुन्।

यस्तै, तेक्वान्दोको पोम्सेतर्फ पुरुष एकलको १७–२३ वर्ष उमेर समूहमा नेपालका कृष्णबहादुर तामाङले रजत पदक जितेका छन्।

 Published Date: Monday, 2nd December 14:44:31 PM