बुधबार, फागुन ७, २०७६

भारतीय प्रहरीले श्रीमान् समातेपछि रोहिंग्या महिलाको काठमाडौंमा बिचल्ली

| तस्वीर:रमेश पोख्रेल

काठमाडौं, वैशाख ९ : जन्मे–हुर्केको देश म्यान्मारबाट रातारात भागेर शरणार्थीको रुपमा सैयौं कोश दूर नेपाल आइपुग्दा पनि रोसिदा बेगमले त्यति कमजोर र असहाय महशुस गरेकी थिइनन्, जति अहिले गर्दैछिन्। 

काठमाडौंको कपनस्थित रोंहिग्या शरणार्थी शिविरको एउटा सानो झुप्रोमा बेगम अहिले ६ नाबालक सन्तानसहित श्रीमानकाे प्रतीक्षा गर्दैछिन्। उनलाई थाहा छैन – श्रीमान् फर्केर आउँलान् कि नआउँलान्, आएनन् भने यी लालाबाला बोकेर कहाँ जाने, के गर्ने?

उनका श्रीमान् ३८ वर्षीय जुबैर अहमद मजदुरी काम गर्दागर्दै चार महिनाअघि काठमाडौंबाट झापा पुगेका थिए। त्यहाँ काम सकेपछि श्रीमती र छोराछोरीका लागि सस्ताे कपडा किन्न सीमापारिको भारतीय बजार सिलीगुडी पुगेका थिए। त्यहाँ उनलाई भारतीय प्रहरीले पक्राउ गर्‍यो। 

रोसिदा बेगमका सबै ६ सन्तान सानै छन्। सबैभन्दा सानो छोरा भर्खर दुई वर्ष पुगेको छ। तस्वीरहरूः रमेश पोख्रेल

अहमदसँगै सिलीगुडी पुगेका एक मजदुरले झापाबाट फोन गरेर रोसिदा बेगमलाई उनका श्रीमान् भारतीय प्रहरीद्वारा पक्राउ परेको जानकारी दिए। तर, बेगमलाई अझै थाहा छैन – आवश्यक कागजातबिनै भारत छिरेकाले श्रीमान् पक्राउ परेका हुन् कि उनले त्यहाँ कुनै गैरकानूनी काम गरे?

बेगम निरीह छिन्। श्रीमान् खोज्न जान सक्दिनन्। काम गर्न जान पनि सक्दिनन्। उनका सबै ५ सन्तान सानै छन्। सबैभन्दा जेठो सन्तान नै भर्खर १५ वर्ष पुगेको छ। सबैभन्दा सानो सन्तान दुई वर्षका मात्रै भए।

यही शिविरमा बस्ने रोहिंग्या शरणार्थी रसिद आलमका अनुसार, रोसिदा बेगमका श्रीमान् पक्राउ परेपछि उनी र उनका बच्चाहरूलाई सबै शरणार्थीले मिलेर आर्थिक सहयोग गर्दै आएका छन्। 

रोसिदा बेगमका श्रीमान जुबैर अहमदले संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायोगबाट पाएको परिचयपत्र

बाहिरफेर जाँदा बुर्का ओढ्ने रोसिदा बेगमले नेपाली बोल्न सिकिसकेकी छैनन्। उनी नेपाल आएकी तीन वर्ष मात्रै भयो। 

रसिद आलमले उनको भनाइ अर्थ्याउँदै हिन्दीमा काठमाडौं प्रेससँग भने, ‘पति हुँदासम्म कमाउने गर्थे, बच्चाहरू र आफूलाई हातमुख जोर्न कठिन थिएन। अब के गर्ने थाहा छैन।’

श्रीमान् जेल परेपछि उनका छोराछोरी स्कूल जान पनि छाडेका छन्। 

नेपाल यात्रा
म्यानमारमा राज्यद्वारा भइरहेको ‘जातीय सफाया’बाट बच्न त्यहाँका लाखौं अल्पसंख्यक रोहिंग्याहरू भाग्ने क्रम जारी छ। उनीहरू डुंगा चढेर समुद्रका छालहरूसँग हेलिँदै बंगलादेश आइपुग्छन्। बंगलादेको कक्स बजारमा ठूलो रोहिंग्या शरणार्थी शिविर बनेको छ। अहिलेसम्म करिब ७ लाख रोहिंग्याले म्यानमार छाडिसकेका छन्।

सबैभन्दा धेरै रोहिंग्याहरू बंगलादेशमै छन्। करिब ३ सय जति रोहिंग्या शरणार्थीहरू भारत हुँदै नेपाल समेत आइपुगेका छन्। उनीहरू कपनका दुई शिविरमा बस्छन्। म्यानमारसँग दौत्य सम्बन्ध रहेको नेपालले रोहिंग्याहरूलाई शरणार्थीेको दर्जा दिएको छैन। तर, मानवीयताको आधारमा नेपालबाट धपाएको पनि छैन। 

रोसिदा बेगम पनि श्रीमान र ६ जना बच्चासहित डुंगा चढेर ३ दिन लामो समुद्र यात्रापछि बगलादेश आइपुगेकी थिइन्। त्यहाँ दुई महिना बिताएपछि उनको परिवार भारत आयो। भारतीय प्रहरीले उनलाई त्यहाँ बस्न दिएनन्। त्यसपछि उनीहरू नेपाल आए। 

काठमाडौंमा सुरुमा संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायोग (यूएनएचसीआर)ले रोसिदा बेगमका श्रीमान् जुबैर अहमदलाई शरणार्थीको दर्जा दिएको थियो। तर, नेपालले रोहिंग्याहरूलाई शरणार्थीको मान्यता नदिने नीति लिएपछि यूएनएचसीआरले पनि उनीहरूलाई काँध थाप्न सकेन। रोहिंग्याहरूले यूएनएचसीआरबाट पाउँदै आएको सहयोग बन्द भयो। बालबालिकाले पाउने शिक्षा अनुदान पनि कटौती भयो। 

 Published Date: Monday, 22nd April 17:24:34 PM