सोमबार, मंसिर २३, २०७६

महाराष्ट्रको राजनीति उलटपुलट गर्ने पर्दा पछाडिकी खेलाडी

छाेरा आदित्य (दायाँ) र पति उद्धव ठाकरे (बायाँ)सँगै रष्मी ठाकरे। | तस्वीर:एजेन्सी

काठमाडाै‌ं, मंसिर १२ : रश्मी ठाकरेलाई भारतको महाराष्ट्रमा कतिपयले बालासाब ठाकरेकी बुहारी, नवनिर्वाचित विधायक आदित्यकी आमा र मुख्यमन्त्री बनेका उद्धव ठाकरेकी श्रीमतीको रुपमा मात्रै चिन्छन्। तर उनमा राम्रो राजनीतिक कौशल भएको कुरा धेरै थोरैलाई मात्र थाहा छ।

शिवसेनाको समर्थकदेखि ‘माँ’का रुपमा चिनिने रश्मि ठाकरे अब पार्टीको मुख्य वस्तुकारमध्ये कि एक हुन्। जसले आफ्ना श्रीमान उद्धव ठाकरेलाई मुख्यमन्त्री बनाउन अहम भूमिका निभाएकी छन्। शिवसेनाकै विश्वस्त सुत्रको दावी मान्ने हो भने महाराष्ट्रको विधानसभा चुनावको बेला भाजपासँग सिट बाँडफाडमा रश्मि ठाकरेले बराबरीको अडान लिएकी थिइन्।

विधानसभा चुनावअघिको एक घटना स्मरण गर्दै शिवसेनाका एक नेताले भने, ‘सिट बाँडफाडको विषयलाई लिएर शिवसेना र भाजपा नेताहरुको बैठकपछि रश्मि ठाकरेले पनि शिवसेना प्रमुखसँग गठबन्धनको विषयमा छलफल गरेकी थिइन्।’ रश्मिका विश्वासपात्रले मुम्बईको 'मिड डे' पत्रिकालाई बताएअनुसार रश्मिको सल्लाह थियो कि, ‘शिवसेनालाई बराबर सिट र पावर सेयरिङबाहेकमा सम्झौता हुनु हुँदैन।’

पार्टी बैठकमा सँधै सहभागी

रश्मिले यस्तो पहिलोपटक भने गरेकी होइनन्। उनी पहिलेदेखि नै राजनीतिक घटनाक्रममा चासो दिइरहेकी हुन्थिन्। पहिले पनि नारायण राणेले पार्टी छोड्दा होस् वा उद्धवका काकाका छोरा राज ठाकरेलाई पार्टीबाट अलग गर्दा होस्, रश्मि ठाकरे पार्टीको बैठकमा उपस्थित भएकी थिइन्। यस क्रममा रश्मिले पार्टीको महिला विभागले आयोजना गरेका कतिपय कार्यक्रमको नेतृत्व पनि गरेकी छन्।

मुम्बई नगरनिगमदेखि अन्य निर्वाचनका क्रममा उनले पार्टीका उम्मेदवारको प्रचारप्रसारमा पनि निकै सक्रियता देखाएकी थिइन्। जब पार्टीमा परिवार र नेतृत्व विवाद थियो, त्यतिबेला पनि पार्टीलाई उक्त अवस्थाबाट पुनः दुरुस्त बनाउनमा रश्मिले अहम भूमिका निभाएको बताइन्छ।

शिवसेनाको निर्णयमा रश्मिको खास भूमिका

रश्मिले आफ्नो राजनीतिक कौशलको प्रयोग सन २००५ देखि बढी गरेको पार्टीका एक नेताले बताएको मिडियाले उल्लेख गरेकाे छ। त्यहीबेलादेखि उनले पार्टीको निर्णयमा आफ्नो सक्रियता बढाएकी हुन्। पार्टी कार्यकर्ताको भनाइ छ कि, शिवसेनामा रश्मि ठाकरेको विशेष भूमिका छ।

छोरा आदित्यलाई सबैभन्दा युवा मुख्यमन्त्री हेर्न चाहन्थिन्

महाराष्ट्र विधानसभाको चुनाव प्रचार र चुनावको परिणामका बेला रश्मि ठाकरेले आफ्ना छोरा आदित्यलाई महाराष्ट्रको सबैभन्दा युवा मुख्यमन्त्रीका रुपमा हेर्ने आकांक्षा पालेकी थिइन्। चुनाव जितेपछि मुख्यमन्त्रीका रुपमा प्रस्तुत गर्न २९ वर्षीय आदित्यको पोस्टर शहरका विभिन्न क्षेत्रमा टाँस्ने काम पनि गरिएको थियो।

शिवसेना क्याम्पबाट मुख्यमन्त्रीको उम्मेद्वार आदित्यबाट उद्धव ठाकरे बने। जब उद्धव ठाकरेको नाममा सर्वसम्मती भयो तब रश्मि बुधबार बिहान आफ्ना श्रीमानसँग राज्यपाल भगतसिंह कोशियारीलाई भेट्न गएकी थिइन्।

(एजेन्सीको सहयोगमा)

 Published Date: Thursday, 28th November 13:26:05 PM