मंगलबार, असार ३, २०७६

राप्रपा संयुक्तको चेतावनी–गुठीसम्बन्धी विधेयक तत्काल फिर्ता नगरे आन्दोलन गर्छौं 

काठमाडौं,  जेठ ३० : राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले गुठीसम्बन्धी विधेयक तत्काल फिर्ता लिन सरकारलाई आग्रह गरेको छ। 

बिहीबार पत्रकार सम्मेलन गरी राप्रपा संयुक्तले विधेयक तत्काल फिर्ता नलिए कडा आन्दोलन गर्ने चेतावनी पनि सरकारलाई दिएको छ। राप्रपा संयुक्तका अध्यक्ष पशुपति शमशेर जबराले संसदमा दर्ता भएको गुठी विधेयकले नेपालको परम्परागत सहकार्य र समन्वयमा अडेको धार्मिक र सांस्कृतिक संरचना भत्काउने दाबी गरे।

उनले विधेयकले नेपालीहरुको धार्मिक निष्ठा र विश्वासको जगलाई खल्बलाउने, सनातन धर्ममाथि घात, धार्मिक र सांस्कृतिक क्रियाकलापको राजनीतिकरण गर्ने, परम्परागत गुठीको सामूहिकताको व्यवस्थालाई सखाप पार्ने र सरकारी सहयोगबाट गुठीको सम्पत्ति भूमाफियाको स्वार्थमा परिचालन गर्ने संभावनालाई अगाडि बढाउने देखा परेको आरोप लगाए। 

अध्यक्ष जबराले भने,‘जुन रुपमा यो विद्येयक पेश भएको छ, त्यो पारित हुन गए नेपाली जनताको सांस्कृति विनास भई देशप्रति अपराध गरेको ठहरिनेछ।’ उनले नेपालीको गुठीको संरचनाले नेपाली संस्कृति, कला र आस्थाको अभिव्यक्तिको रुपमा छरिएर रहेका काठमाडौंमा उपत्यका र देशभर छरिएर रहेका धार्मिक र सांस्कृतिक संस्थाहरुको व्यवस्थापनमा विकेन्द्रित संरचना कायम गर्दै आएको बताए। 

अध्यक्ष जबराले आफूहरु हिन्दूराष्ट्र पूर्नस्थापनाको लागि पनि सडकमा उत्रिने जनाए। उनले भने,‘हिन्दूराष्ट्र स्थापनाको लागि यदि कांग्रेसपनि सडकमा आउँछ भने उसको नेतृत्वमा आन्दोनलमा जान हामी तयार छौं।’

अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले विधेयकले अक्षयकोष खडा गर्ने नाममा गुठीका जग्गा व्यक्तिकरण गरी सरकारी मूल्यांकनको २५ प्रतिशत लिएर विक्री  गर्न पाउने गरी हजारौं रोपनी÷विगाह जमिनलाई कौडीको भाउमा बेच्ने नियत राखेको आरोप लगाए। 

लोहनीले उक्त विद्येयकमार्फत सरकारले व्यवसाय गर्ने दाउ राखेको पनि आरोप लगाए। उनले भने,‘सरकार यसमा राजनीतिकरण गर्ने दाउमा छ।’ उनले वर्तमान सरकार वामपन्थी नभई द्रव्यपन्थी भएको पनि आरोप लगाए।

 Published Date: Friday, 14th June 01:03:31 AM