मंगलबार, चैत्र १८, २०७६

अखिलका पूर्वनेता राईको मुद्दामा फरेन्सिक रिपोर्टले भन्यो- युवतीमाथि बलात्कार भएको छैन

अनेरास्ववियुका पूर्वकेन्द्रीय सदस्य इन्द्रहाङ राई।

काठमाडौं, फागुन ९ : विधि विज्ञान प्रयोगशालाले बलात्कारको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका अनेरास्ववियुका पूर्वकेन्द्रीय सदस्य इन्द्रहाङ राईले १८ वर्षीया युवतीलाई बलात्कार गरेको पुष्टि नभएको रिपोर्ट अदालतलाई बुझाएको छ। 

युवतीमाथि बलात्कार गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका राईको मुद्दालाई काठमाडौं जिल्ला अदालतले निरन्तर सुनुवाइ गरिरहेको छ। गत तिहारमा  देउसी खेल्न बोलाएर बलात्कार गरेको भन्दै युवतीले राईविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन्।

युवतीको उजुरी परेपछि रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसका पूर्वस्ववियु सहसचिवसमेत रहेका राईलाई महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले दक्षिणढोका माकलबारीबाट पक्राउ गरेको थियो।

देउसी खेल्न अत्तरखेलस्थित मेडिकल कलेज आसपास बोलाएर नाताले ससुरा पर्ने व्यक्तिको माकलबारीस्थित घरमा लगेर राईले आफूलाई बलात्कार गरेको युवतीले जाहेरी दिएकी थिइन्। घटनास्थलबाट प्रहरीले बियरको बोतल, खाजाको पोका, बलात्कार हुँदा प्रयोग गरिएको तन्नालगायत बरामद पनि गरेको थियो। 

फरेन्सिक रिपोर्टमा के छ ?

सेतो कपडामा वीर्य जस्तो देखिएको तन्ना, युवती र राईले लगाएको भित्री बस्त्र, ‘लो र मिड’ भेनाइनल स्वावलाई परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाइएको थियो। ति सबै ‘नट फाउन्ट’ अर्थात् नमिलेको भनी रिपोर्ट तयार गरेर अदालतलाई बुझाइएको छ। 

यस्तो छ सर्वोच्च अदालतको फैसलाको नजिर  ः

– सर्वोच्च अदालतका तत्कालीन न्यायाधीशद्वय बलराम केसी र सुशीला कार्कीले गरेको फैसलाले डिएनए परीक्षणलाई अस्वीकार गरेको एउटा नजितर छ। ०५८ सालमा नीता गुरुङले जन्माएको छोरा राजीव गुरूङको भएको भन्दै नीताले नाता कायम गर्न चितवन जिल्ला अदालतमा मुद्दा दायर गरेकी थिइन्। जतिबेला जिल्ला अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाले छोराको जैविक बाबु राजीव नै भएको फैसला सुनाएका थिए।

सो फैसलाविरूद्ध राजीवले तत्कालीन पुनरावेदन अदालत हेटौंडामा पुनरावेदन गरे। सो अदालतका न्यायाधीशद्वय हरिराम कोइराला र लोकेन्द्र मल्लिकको संयुक्त इजलासले पनि जिल्लाकै फैसला सदर गरेको थियो। त्यसपछि फेरि राजीव सर्वोच्च पुगे। सर्वोच्चका तत्कालीन न्यायाधीशद्वय केदारप्रसाद गिरी र कल्याण श्रेष्ठको संयुक्त इजलासले २३ पुस ०६४ मा डिएनए परीक्षण गर्ने आदेश दिएको थियो। विधिविज्ञान प्रयोगशालाबाट डिएनए परीक्षण नमिलेको प्रतिवेदन तयार पारेर सर्वोच्चमा पेस गरिएको थियो। 
सर्वोच्चका न्यायाधीशद्वय केसी र कार्कीको संयुक्त इजलासले डिएनए परीक्षणप्रति नै शंका गर्दै जैविक बाबु राजीव नै भएको भन्दै ११ जेठ ०६७ मा नाता कायम हुने फैसला सुनाएका थिए।

– ५ कात्तिक ०६१ मा धादिङ्गस्थित तत्कालीन सांकोस गाविस–३ का अर्जुनबहादुर पाण्डेले ७ वर्षीया बालिकालाई बलात्कार गरेका थिए। पाण्डेले पिङ्ग खेल्ने ठाउँबाट जवरजस्ती बोकेर नजिकैको बनमा लगेर बालिकालाई बलात्कार गरेका थिए। सो मुद्दा जिल्ला र तत्कालीन पुनरावेदन हुँदै सर्वोच्च अदालतसम्म आइपुगेको थियो।

सर्वोच्चका तत्कालीन न्यायाधीशद्वय रामकुमारप्रसाद शाह र गौरी ढकालको संयुक्त इजलासले ‘लिङ्गको पूर्ण प्रवेश र बीर्य योनीमा स्खलन नभएको अवस्थामा यसैलाई आधार बनाएर यसैको अभावमा करणी नगरेको र करणीको उद्योग मात्र गरेको भनी ठहर गर्नु न्यायसंगत नदेखिने’ भनी फैसला गरेको छ। 

 

 Published Date: Friday, 21st February 17:03:06 PM