मंगलबार, असार ३०, २०७७

रुकुमपश्चिम घटना : दोषीमाथि कारवाही गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री

| तस्वीर:फाइल फोटो

काठमाडौं, जेठ २० : गृहमन्त्री रामबहादुर थापा 'बादल'ले रुकुमपश्चिम घटनामा संलग्नलाई कडाभन्दा कडा कारवाही गर्ने प्रतिबद्धता दोहोर्‍याएका छन्। संघीय संसद्को कानून, न्याय तथा मानवअधिकार समितिको आजको बैठकमा उनले सरकार कानूनको कार्यान्वयन गर्न पूर्ण प्रतिबद्ध रहेको बताए।

उनले सो घटनाको तीन तहबाट अनुसन्धान चलिरहेको बताए। 'संघ, प्रदेश र स्थानीय तहबाट छानबिन भइरहेको छ,' उनले भने, 'नेपाल प्रहरीका साथै गृह मन्त्रालयको सहसचिवको संयोजकत्वमा पनि अनुसन्धान भइरहेको छ।' छानबिन अन्तिम चरणमा पुगेको उनको भनाइ थियो। 

गृहमन्त्रीले छानबिन समितिको प्रतिवेदनपछि दोषीमाथि कडा कारवाही हुने र पीडितलाई राज्यका तर्फबाट उचित क्षतिपूर्ति दिइने बताए। 'घटनाको ढाकछेप र दोषी उम्कन सक्ने अवस्था सरकारबाट हुँदैन,' उनले भने। सरकारले कोरोना संक्रमण फैलन नदिन लकडाउनको घोषणा गरेको अवस्थामा घटना घटेको भन्दै उनले गृह प्रशासनको कुनै कमजोरी पाइए कारवाही हुने बताए।

'उक्त समयमा प्रहरी टुलुटुलु हेरेर बसेको होइन, कमजोरी गर्ने प्रहरीमाथि पनि कारवाही हुन्छ, छानविन समितिले अध्ययन गर्छ,' उनले भने। 

महान्यायाधिवक्ता अग्नि खरेलले अनुसन्धानमा महान्यायाधिवक्ताको कार्यालयको पूर्ण सहयोग हुने उल्लेख गर्दै अनुसन्धान प्रभावित हुन्छ कि भनेर शंका नगर्न आग्रह गरे।'कसैको पनि भनसुन हुँदैन, तपाईंहरु ढुक्क हुनुस्, अनुसन्धान तथा अभियोजनमा कुनै शंका नगर्नुहोस्, यो मुद्दालाई बिग्रन दिइँदैन,' उनले भने। 
    
गृहसचिव महेश्वर न्यौपानेले गृहमन्त्रालयका सहसचिवको संयोजकत्वमा गठन गरिएको उच्चस्तरीय छानबिन समितिले त्यसबारेमा अनुसन्धान गरिरहेको बताए। सो सम्बन्धमा गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै उनले घटनाको सत्यतथ्य अनुसन्धान गरेर अभियोजन प्रक्रियामा लैजाने बताए।

प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले पीडित पक्षले २० जनाको नाममा जाहेरी दिएको र अनुसन्धानका लागि १८ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए। सो प्रकरणमा संलग्न भनिएको अन्य दुई जना फरार रहेको उनले जानकारी दिए। घटनाको गाम्भीर्यतालाई हेरेर प्रहरीको उच्च अधिकारीको नेतृत्वमा अनुसन्धान भइरहेको उनले बताए।

 Published Date: Tuesday, 2nd June 19:16:02 PM