मंगलबार, जेठ ७, २०७६

जलवाष्पयुक्त वायु सक्रिय हुँदा देशभर वर्षा 

काठमाडौं, वैशाख ४ : काठमाडौं लगायत देशभरको मौसममा बदली भएर पानी परिरहेको छ। यो क्रम बुधबार साँझसम्म जारी रहने मौसमविद्हरूले बताएका छन्। 

वर्षासँगै हावाहुरीसहित चट्याङ पर्न सक्ने भन्दै सचेत रहन मौसमविद्ले आग्रह गरेका छन्। पश्चिमी वायुका कारण नेपालमा लामो समयदेखि लगातार हावाहुरीसहित पानी परिरहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए।

उनका अनुसार भोलि (बिहीबार) पनि देशका अधिकांश ठाउँमा हावाहुरीसहित पानी पर्ने सम्भावना छ। शुक्रबार (पर्सि) भने आंशिकरुपमा मात्रै मौसममा खराबी आउने सम्भावना छ। गत चैत १९ गते बारा र पर्सामा हावाहुरी आउँदा २८ जनाको मृत्यु भएको थियो भने ६ सयभन्दा बढी घाइते भएका थिए। 

नेपालमा प्रि–मनसुन सक्रिय 

यो वर्ष लामो समयदेखि वर्षासहित हावाहुरी र चट्याङ परेको छ। अहिले नेपालमा प्रि–मनसुन सक्रिय छ। मनसुन सक्रिय हुँदा स्थानीय वायुको प्रभावबाट वर्षासहित गड्याङ गुडुङ हुने, हावाहुरी चल्ने, चट्याङ पर्ने सम्भावना हुन्छ।

केही दिनदेखि बंगालको खाडी र अरब सागरबाट जलवाष्पयुक्त वायुको प्रभाव नेपालमा परिरहेकाले लगातार मौसम बद्ली भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  यो वायु भू–मध्य सागरमा विकसित हुँदै नेपालको पश्चिमी क्षेत्रबाट सक्रिय हुने गर्दछ।  

मौसमविद् प्रधानाङ्गका अनुसार यो वर्ष पश्चिम वायुको प्रभाव पनि मिसिदा गत वर्षभन्दा छिट्टै पानी परेको हो। राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्रका अनुसार २०७५ सालमा चट्याङबाट १ सय २७ जनाको मृत्यु भएको थियो भने २ सय ८९ जना घाइते भएका थिए। 
 

 Published Date: Wednesday, 17th April 16:59:24 PM