बुधबार, माघ १५, २०७६

रातिदेखि दुई दिन वर्षा र भारी हिमपात हुने

काठमाडौं, मंसिर २५ : इरान र अफगानिस्तानमाथि रहेको पश्चिमी वायुको प्रणाली आज साँझसम्म नेपालको पश्चिमी भूभागमा प्रवेश गर्ने भएको छ। यसले आज रातिदेखि दुई दिनसम्म वर्षा र भारी हिमपात हुन सक्ने जनाएकाे छ।

त्यस प्रणालीको प्रभावले नेपालको पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपातको सम्भावना रहेकाले जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

यो प्रणाली बिहीबार अझै सशक्त भई देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली भूभागमा पुग्ने जनाएको छ। जसले गर्दा मध्य र पूर्वका उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना रहेको मौसमविद् मञ्जु वासीले बताइन्।

यस प्रणालीको प्रभावले देशैभरि बदली भई अधिकतम र न्यूनतम तापक्रममा गिरावट आई चिसो बढ्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

त्यस्तै, यस प्रणालीका कारण देशका पश्चिमी भूभागका धेरै स्थानमा, मध्य र पूर्वी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावनासमेत रहेको जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हालसम्म नेपालमा उल्लेखनीय मौसमी प्रणाली विकास नभए पनि रातिदेखि भने पश्चिमी न्यूनचापीय प्रणाली विकास हुनेछ।

महाशाखाले आगामी २४ घण्टाको मौसम पूर्वानुमान जारी गर्दै पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा भारी र मध्य तथा पूर्वी उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्कादेखि मध्यम हिमपात हुने बताएको छ।

मौसमविद्का अनुसार यो क्रम आगामी शुक्रबारसम्मै जारी रहनेछ। भारी हिमपात हुने र चिसो बढ्ने भएकाले सतर्कता अपाउन मौसमविद्ले आग्रह गरेका छन्। (रासस)

 Published Date: Wednesday, 11th December 14:48:35 PM