मंगलबार, चैत्र १८, २०७६

रवीन्द्र अधिकारी चढेको हेलिकोप्टर खराब मौसम र चालकको ‘ओभर कन्फिडेन्स’ले दुर्घटना : प्रतिवेदन

काठमाडौं, फागुन १३ : पूर्वमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर खराब मौसम र चालकको ‘ओभर कन्फिडेन्स’ले दुर्घटना भएको प्रतिवेदन सार्वजनिक भएको छ। गत वर्ष ताप्लेजुङको पाथिभरमा अधिकारी चढेको हेलिकोप्टर दुर्घटना भएको थियो।

दुर्घटना लगत्तै सरकारले पूर्वपर्यटन सचिवको नेतृत्वमा गठन गरेको छानविन समितिले दुर्घटना भएको एक वर्षपछि प्रतिवेदन सार्वजनिक गरेको हो। जसमा खराब मौसम र चालकको ‘ओभर कन्फिडेन्स’लाई दुर्घटनाको कारण देखाइएको छ।

पूर्वपर्यटन सचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा गठिन समितिमा नेपाली सेनाका सहायक रथी दीपकप्रसाद बास्तोला, क्याप्टेन प्रमोद लामा सदस्य रहेका थिए भने पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने सदस्यसचिव रहेका थिए।

गैर सैनिक हवाई उडान दुर्घटना जाँच नियमावली, २०७१ बमोजिम दुर्घटना जाँच आयोगले दुर्घटनासम्बन्धी तथ्य संकलन, सम्बन्धित प्राविधिक एवं व्यवस्थापन पक्षका पदाधिकारीहरुसँग छलफलरअन्तर्वार्ता, दुर्घटनास्थलको स्थलगत अध्ययन भ्रमण गरेर प्रतिवेदन तयार गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ।

त्यस्तै समितिका पदाधिकारीले मौसमी अवस्थाको मनोवैज्ञानिक अध्ययन, सामाजिक एवं मानवीय अवस्थाको मनोवैज्ञानिक अध्ययन, उडान कागजातहरु र म्यानुअल समेतको विस्तृत अध्ययन र तथ्यगत विश्लेषण गरेर अन्तिम प्रतिवेदन तयार पारेको जनाएको छ।

२०७५ फागुन १५ गते ताप्लेजुङको पाथिभरास्थित तारेढुंगा सिस्नेभिरमा एयर डाइनेस्टिको हेलिकोप्टर दुर्घटना हुँदा तत्कालीन पर्यटनमन्त्री अधिकारीसहित सात जनाको मृत्यु भएको थियो।

दुर्घटनामा एयर डाइनेस्टीका सिइओ तथा पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, निर्देशक ध्रुवदास भोछिभया, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, मन्त्री अधिकारीका अंगरक्षक नेपाली सेनाका जमदार अर्जुन घिमिरे र हेलिकोप्टर चालक प्रभाकर केसीको मृत्यु भएको थियो।

समितिले हेलिकोप्टर दुर्घटना भएको झन्डै ९० दिनपछि अर्थात् असार ११ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढासमक्ष प्रारम्भिक प्रतिवेदन पेस गरेको थियो। समितिले तयार पारेको प्रतिवेदनलाई असोज १० गते मन्त्रालयले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)लाई ६० दिन अर्थात दुई महिनाको समय राखेर बुझाएको थियो।

यससँग सम्बन्धित सरोकारवाला निकायको राय÷सुझावपछि मन्त्रालयले अन्तिम प्रतिवेदन सार्वजनिक गरेको हो।

 

 Published Date: Tuesday, 25th February 13:35:50 PM