बुधबार, साउन २१, २०७७

साउन ७ पछि सार्वजनिक यातायात चलाउन व्यवसायी तयार

| तस्वीर:फाइल फाेटाे

काठमाडौं, असार २१ : सरकारले चालक र सहचालकको सुरक्षासम्बन्धी कार्यक्रम ल्याए साउन ७ गतेपछि सार्वजनिक यातायात चलाउन तयार रहेको यातायात व्यवसायीले बताएका छन्।

कोरोना भाइरसको महामारीका कारण साउन ७ गतेसम्म सरकारले लकडाउन घोषणा गरेको छ। त्यसपछि सार्वजनिक यातायात सञ्चालन गर्न सकिने व्यवसायीले बताएका हुन्।

गत चेत ११ गतेदेखि गरिएको देशव्यापी लकडाउनले सार्वजनिक यातायात ठप्प छ। लकडाउन खुकुलो भएसँगै निजी सवारी साधन भने जोर विजोर गरेर सञ्चालन भइरहेका छन्।

अब सार्वजनिक यातायात सञ्चालन गर्न पनि सरकारले तयार हुनुपर्ने यातायात व्यवसायी बताउँछन्। यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले सुरक्षित रुपमा सार्वजनिक यातायात सञ्चालनका लागि सरकारसँग पहल भइरहेको बताए।

लामो लकडाउनले यातायात क्षेत्र धरासायी भएको बताउँदै अब चलाउने व्यवस्था गर्नुपर्ने उनको भनाइ छ। ‘सरकार मौन छ। साउन ७ गतेसम्म यातायात व्यवसायी धैर्य गरेर बस्छौं,’ कर्माचार्यले भने।

सार्वजनिक सवारी साधन सञ्चालन गर्नको लागि सरकारले केही नीति ल्याउछ की भनेर आशामा रहेको उनले बताए। ‘चालक र सहचालकको सुरक्षासहितको नीति आएमा गाडी चलाउन तयार छौं,’ उनले भने।

यातायात क्षेत्रमा आश्रित परिवार समस्यामा परेका छन्। यातायात व्यवसायीले पनि ऋणमा डुब्न लागेको जनाएका छन्। बैंकको किस्ता तिर्न नसकिएको उनीहरुको भनाइ छ।

तर, सरकार यातायात व्यवसायी र मजदुरका समस्याप्रति गम्भीर नभएको उनीहरुको गुनासो छ । ‘सार्वजनिक यातायात मात्र रोकियो, निजी गाडीले यात्रु ओसारपसार गरिरहेका छन्। त्यसैले आफैँ निर्णय गरेर चलाउने कि भन्ने विषयमा छलफल चलाइरहेका छौं,’ अध्यक्ष कर्माचार्यले भने।

सार्वजनिक यातायात सञ्चालन गर्न सरकारले केही पहलकदमी लिनुपर्ने महासंघले जनाएको छ। सार्वजनिक यातायातका चालक र सहचालकको कोरोना बिमा गर्नुपर्ने, बैंकको किस्तालाई तत्काल तिर्न नसकिने भएकाले केही समय पछि तिर्ने व्यवस्था गर्नुपर्ने उनीहरुको माग छ।

त्यस्तै, मास्कको प्रयोग, बसपार्कमा स्यानिटाइजर र साबुन राखेर तथा यात्रुको दूरी कायम गरेर गाडी चलाउन सकिने उनीहरुको भनाइ छ।

यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाल भने तत्काल सार्वजनिक यातायात सञ्चालन गर्न मुस्किल भएको बताउँछन्। कोरोना संक्रमितको संख्या बढिरहेकाले सार्वजनिक यातायात सञ्चालन गर्दा अझ जोखिम बढ्ने उनको भनाइ छ। ‘सुरक्षित रुपमा सञ्चालन गर्ने भने पनि नियम कार्यान्वयन कमै मात्रामा हुन्छ,’ महानिर्देशक हमाल भन्छन्।

तैपनि सार्वजनिक यातायातका विषयमा छलफल चलिरहेको उनले बताए। उनले भने, ‘सार्वजनिक यातायात सञ्चालन गर्ने कि नगर्ने भन्ने पक्षमा छलफल चलिरहेको छ। अहिले निष्कर्षमा पुग्न सकिएको छैन।’

 Published Date: Sunday, 5th July 11:23:04 AM