मंगलबार, कात्तिक २६, २०७६

राष्ट्रपति भण्डारी म्यानमारबाटै जापान जाने, नयाँ सम्राटकाे राज्याभिषेकमा सहभागी हुने

राष्ट्रपति विद्यादेवी भण्डारी म्यानमार प्रस्थान गर्नुअघि विमानस्थलमा । | तस्वीर:काठमाडाैंप्रेस

काठमाडौं, असोज २९ : म्यानमारको पाँच दिने भ्रमणमा त्यसतर्फ प्रस्थान गरेकी राष्ट्रपति विद्यादेवी भण्डारी उतैबाट जापानी सम्राट नुरो हितोको राज्याविषेक समारोहमा सहभागी हुन टोकियो जाने भएकी छिन् । 

राष्ट्रपति भण्डारी म्यानमारको राजधानी याङ्गुनबाट कात्तिक ३ गते टोकियोतर्फ प्रस्थान गर्नेछिन् । परराष्ट्र मन्त्रालयले म्यानमार भ्रमणबारे औपचारिक जानकारी दिए पनि जापान भ्रमणबारे केही उल्लेख गरेको छैन । भ्रमणमा राष्ट्रपतिका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली पनि रहने छन् ।

म्यानमारको पाँचदिने औपचारिक भ्रमणका लागि बुधबार बिहान साढे १० बजे राष्ट्रपति भण्डारी नेपाल वायुसेवा निगमको विमानबाट बैंककका लागि प्रस्थान गरेकी हुन् । उनी आजै म्यामार पुग्ने छिन् । 

म्यानमारका राष्ट्रपति विन माइन्टको निमन्त्रणामा म्यानमार पुगेकी भण्डारीले बिहीबार राष्ट्रपति माउन्ट र प्रजातन्त्रवादी नेतृ आङसाङ सुकीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । 

परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिका अनुसार, म्यानमार बसाइका क्रममा राष्ट्रपति भण्डारीले पियान ऊ लिन क्षेत्रमा स्थायी बसोबास गरिरहेको नेपाली समुदायसँग पनि भेट गर्ने छिन् । उनले त्यहाँस्थित युनेस्केको विश्व सम्पदा क्षेत्र– बागनको भ्रमण गर्ने छिन । साथै, राजधानी याङ्गुनस्थित ऐतिहासिक र सांस्कृतिक महत्वका क्षेत्रको पनि भ्रमण गर्ने छिन् । 

भ्रमणका क्रममा परराष्ट्रमन्त्री ज्ञवालीले म्यानमारसँग पर्यटन प्रवद्र्धनसँग सम्बन्धित दुई वटा सन्धिमा हस्ताक्षर गर्ने कार्यक्रम छ ।

म्यानमारपछि तीन दिनका लागि जापान प्रस्थान गर्ने राष्ट्रपति भण्डारीले जापानी नयाँ सम्राट नुरो हितोको राज्याभिषेक समारोहमा सहभागिता जनाउने कार्यक्रम छ । उनी कात्तिक ६ गते मात्र स्वदेश फर्कने छिन् । 
 

 Published Date: Wednesday, 16th October 12:41:40 PM