मंगलबार, मंसिर १६, २०७७

बिरामीको आरडीटी टेष्ट पोजेटिभ आएपछि नेपाल मेडिकल कलेजका डाक्टरसहित ३० जना क्वारेन्टाइनमा 

काठमाडौं, जेठ ५ : नेपाल मेडिकल कलेज अत्तरखेलमा डेलिभरीका लागि भर्ना भएकी सुत्केरी महिलाको कोरोनाको आरडीटी टेष्ट पोजेटिभ देखिएपछि ३० जना स्वास्थ्यकर्मी क्वारेन्टाइनमा बसेका छन्।

आइतबार राति डेलिभरीका लागि अस्पताल भर्ना भएकी सुत्केरी महिलाको आरडीटी टेष्ट पोजेटिभ आएको थियो। शल्यक्रियामार्फत बच्चाको जन्माएकी सुत्केरी महिलाको कोरोनाको आरडीटी टेष्ट पोजेटिभ देखिएपछि उनको सम्पर्कमा आएका डाक्टरसहित ३० जनालाई क्वारेन्टाइनमा राखिएको कलेजका प्रवक्ता डा. प्रकाश पौडेलले जानकारी दिए। 

उनको स्वाब पीसीआर परीक्षणका लागि टेकुस्थित राष्ट्रिय प्रयोगशालामा पठाइएको छ। ‘महिलाको स्वाब टेकु पठाएका छौं, रिपोर्टको प्रतीक्षामा छौं,’ उनले भने, ‘सम्भवत रातिसम्म रिपोर्ट आउला। महिलाको उपचारमा संलग्न भएका र सम्पर्कमा आएका करिब ३० जनालाई क्वारेन्टाइनमा राखेका छौँ।’

 Published Date: Monday, 18th May 2020 12:40:03 pm