मंगलबार, भदौ ३, २०७६

प्रदीप गिरीले भने- भारतले सकेको दिन नेपाललाई सिक्किम बनाइदिन्छ

काठमाडौं, साउन २९ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले भारतको क्षमताले भ्याएका दिन ‘नेपाललाई सिक्किम बनाइदिने’ चेतावनी दिएका छन्।

संघीय संसद, प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय समितिको बुधबार बसेको बैठकमा सांसद गिरीले आफ्नो क्षमताले भ्याए भारतले नेपाललाई सिक्किम बनाइदिने बताएका हुन्।

नेपालको सीमा अतिक्रमण गरेको, दशगजामा सडक निर्माण गर्नुको साथै असमान सन्धि सम्झौता लगायतबारेमा समितिको बेठकमा छलफल भइरहँदा समिति सदस्य गिरीले यस्तो अभिव्यक्ति दिएका हुन्।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति इंकित गर्दै उनले नेपाल–भारत सिमानामा काँडेतार लगाउने र सुरुङ युद्ध गर्ने उद्घोष गर्ने नेताहरु नै अहिले सत्तामा रहेको र भारतका गतिविधिमा टाउको हल्लाउने मात्रै काम गरेको टिप्पणी गरे। 

नेपालको कमजोर कूटनीति जारी रहे सकेको दिन भारतले नेपाललाई सिक्किम बनाउने तथ्यपूर्ण यथार्थतालाई समयमै आत्मसाथ गरेर पहलकदमी गर्न गिरीले सरकारलाई आग्रह गरे।

‘कूटनीति भनेको चुनाव लड्दा गर्ने भाषण होइन। सबैभन्दा ठूलो विफलता कूटनीतिक विफलता हो। हिन्दुस्तानले सकेदेखि नेपाललाई सिक्किम बनाउँछ। भुटान बनाउँछ। तथ्य यही हो,’ उनले भने।

सांसद गिरीले बोलेर मात्रै कूटनीतिक समस्या समाधान नहुने भएकाले समयमै कूटनीतिक सक्षमता देखाउन सरकारको ध्यानाकर्षण गराए।
 

 Published Date: Wednesday, 14th August 17:20:09 PM