शुक्रबार, असोज १६, २०७७

प्रचण्डको ब्रिफिङ- ओलीलाई सुधार्न सकिएन भने पार्टी विभाजनको स्थिति आउन सक्छ, तयार रहनू

फाइल

काठमाडाैं, साउन २१ :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यक्ष केपी शर्मा ओलीले विभाजनमा देखाएको सक्रियता र निषेधात्मक व्यवहारले पार्टी विभाजन हुन सक्ने भन्दै त्यो परिस्थितिको सामना गर्न तयार हुनुपर्ने बताएका छन्।

काठमाडाैंको थापागाउँस्थित प्रेसिडेन्टल कलेजमा बुधबार सञ्चारकर्मीहरुसँग छलफल गर्दै अध्यक्ष प्रचण्डले अध्यक्ष ओलीका कारण पार्टी विभाजन हुनसक्ने भन्दै त्यसका लागि मानसिक रुपमा तयार हुन कार्यकर्तालाई अपिल गरेका छन्। ओलीले पार्टी फुटको पक्षमा लगातार गतिविधि गर्दै आएको आरोप प्रचण्डको छ। 

पार्टीमा बहस भइरहेका बेला निर्वाचन आयोगमा नेकपा एमाले दर्ता गर्नु र जनताको बहुदलीय जनवाद, दलाल र राष्ट्रवादीको नारा दिएर सडकमा नारा जुलुस लगाउन आदेश दिने गतिविधिबाट ओलीले विभाजन चाहेको प्रष्ट हुने प्रचण्डको भनाइ छ। आफूले विभाजन रोक्न पहल गरिरहे पनि परिणाम सुखद् आउने अवस्था क्षिण हुँदै गएको उनको भनाइ थियो। 

“राम्रोभन्दा राम्रो परिस्थिति तयार गर्न हामी लाग्नुपर्छ। हामी कम्युनिष्टहरू खराबभन्दा खराब परिस्थितिका लागि पनि तयार चाहिँ हुनुपर्छ। सबै कुरा हाम्रो मात्रै हातमा हुँदैन,” प्रचण्डले सम्बोधनका क्रममा भने,” खराबभन्दा खराब परिस्थितिका लागि पनि तयार भएर बस्नुपर्छ । किन भने खराब परिस्थितिका लागि मानसिक रूपमा तयार भइएन भने परिस्थिति आइहाले मानिस अताल्लिएर डिप्रेसनमा जाने खतरा पैदा हुन्छ।”

पार्टीमा हाल भइरहेको बहस पद बाँडफाँड र लेनदेनका लागि नभई अध्यक्ष ओलीलाई रुपान्तरण गर्न र पार्टी एकता सुदृढ  गराउनका लागि भएको उनको भनाइ थियो। ओलीले पार्टीमा निषेधात्मक राजनीतिक अभ्यास गरेको प्रचण्डको भनाइ थियो। उनले ओलीबाट बारम्बार अपमानित हुनु परेको गुनासो गरेका छन्।

 ‘मैले गरेका निर्णयहरु उल्ट्याउने, मसँग भेट्न गएकै कारण अपमानित गर्नेदेखि पार्टी बैठकमा कुर्सी हटाउने कामसमेत भयो,' प्रचण्डले भने,‘त्यो निषेधात्मक सोच र अरुलाई अपमानित गर्दा आनन्द मान्ने प्रवृत्ति थियो।’

छलफलमा  वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष ओलीको व्यक्तिवादी प्रवृत्तिले पार्टी एकता संकटमा परेको बताए। ओलीको  आफू नै राज्य, आफू नै पार्टीको शैलीका कारण एकता कागजमा सीमित भएको नेपालको भनाइ थियो। उनले ओलीलाई महाधिवेशनबाट निर्वाचित अध्यक्ष हुँ भन्ने भ्रम नराख्न समेत आग्रह गरेका छन्। माओवादी र एमाले विघटन गरी नेकपा निर्माण भएकाले पार्टीको बहुमतको निर्णय सबैले मान्नु पर्ने उनको भनाइ थियो। 

‘हामीले फरक मत राख्दा हुन्छ भने अध्यक्षले राख्न हुँदैन भन्ने हुन्न। सचिवालयमा बहुमतले निर्णय भए स्थायी कमिटी हुँदै केन्द्रीय कमिटीसम्म जाने र त्यसले गर्ने निर्णयलाई सबैले मान्नुपर्छ,' नेपालले भने।
 
वरिष्ठ नेता झलनाथ खनालले पनि अध्यक्ष ओलीले चरम गुटबन्दी गरिरहेको आरोप लगाए। मदन भण्डारी फाउण्डेशनका नाममा वडासम्म कमिटी बनाउने, गुटबन्दी गरेर आफ्ना विरोध गर्नेलाई बदनाम गरिरहेको उनको भनाइ थियो।

कार्यक्रममा  प्रवक्ता नारायणकाजी श्रेष्ठले ओलीलाई रुपान्तरण गर्ने प्रयास असफल भएको बताए।  रुपान्तरणको प्रयासका रुपमा मंसिर ४ र वैशाख २० को सहमति गरेको भए पनि त्यो कार्यान्वयन नभएको र विश्वासको संकट पैदा भएको श्रेष्ठको भनाइ छ।

 Published Date: Wednesday, 5th August 2020 12:43:29 pm