बिहीबार, साउन २, २०७६

प्रचण्डको प्रश्न–लाइन लगाएर प्रधानमन्त्री बनाउने म अस्थिर कि क्या गज्जबको मान्छे?

युवा संघ नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड।

काठमाडौं, जेठ १ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन एमालेका नेताहरुलाई लाइन लगाएर प्रधानमन्त्री बनाउने मान्छे भएकाले आफ्नो सही मूल्यांकन गर्न आग्रह गरेका छन्। 

तत्कालीन एमालेको युवा संगठन युवा संघ नेपालको २९ औं स्थापना दिवसका अबसरमा आयोजित कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै प्रचण्डले आफूले एमाले नेताहरु माधव नेपाल, झलनाथ खनाल र केपी ओलीलाई प्रधानमन्त्री बनाएको दाबी पनि गरे। उनले भने,‘भए भरका एमालेका नेताहरुलाई लाइन लगाएर प्रधानमन्त्री बनाउने मान्छे मै हुँ। अब तपाईँहरु हिसाव गर्नुस्, मलाई तपाईँहरुले अस्थिर खालको मान्छे भन्नु हुन्छ कि क्या गज्जबको मान्छे रैछ भन्नु हुन्छ।’

उनले नेपालका निम्ति कसले गर्‍यो, कसले गरेन भन्नेबारे विचार गर्न पनि नेता तथा कार्यकर्तालाई आग्रह गरे। प्रचण्डले भने,‘तपाईँहरुप्रति मेरो विश्वास छ, मेरो पार्टीप्रति विश्वास छ। जनताप्रति विश्वास छ र मेरो तपाईँ युवाहरुप्रति अझ बढी विश्वास छ।’ 

उदारता पूर्वक लचिलो हुन पनि आफूलाई कठिन नभएको भन्दै प्रचण्डले बलियो साथ भए बाँकी जीवनमा अझै केही नयाँ गरेर मर्न मन भएको बताए। ‘ तपाईँहरुको बल भयो भने म बाँकी जीवन अझै केही नयाँ नयाँ गरेर मर्न मन छ,’ उनले भने,‘त्यसकारण तपाईँहरुको साथ चाहिएको छ। युवाहरुको साथ अझ बढी चाहिएको छ। नेताहरुको साथ चाहिएको छ मेरो तर्फबाट हुन सक्ने जति साथ सबै हुन्छ।’ 

 केही मान्छेहरु प्रचण्डले के-के गर्‍यो गर्‍यो भन्ठानेर आफूलाई गाली गर्दै हिडिरहेको पनि बताए। ‘मलाई केही साथीहरु हुनुहुन्छ के के गर्‍यो भनेर गाली गर्दै हिडिरहनु भएको छ,’ उनले भने,‘उहाँहरु कहाँ हुनुहुन्छ। म यहाँ तपाईहरुको अगाडि मञ्चबाट केही सम्बोधन गरिरहेको छ। सही के हो गलत के हो तपाईँहरु नै विचार गर्नुस्।’

एकताका बाँकी काम केही दिनमै टुंगिन्छ

उनले पार्टी एकताका बाँकी काम केही दिनमै टुंगिने बताए। ‘तपाईँहरुको चासो र चिन्ता छ। कहिले पार्टी एकताका बाँकी काम टुंगिन्छन् भनेर,’ प्रचण्डले भने,‘अब यो बुझ्नुस् पार्टी एकता टुंगिसक्यो।’

जिल्ला कमिटी टुंग्याएर फलामे ढोका उघारिसकेको भन्दै उनले जेठ ३ भित्रै जनवर्गीय संगठनको एकताको काम टुंगो लाग्ने दाबी गरे। ‘एकताका बाँकी काम हुन्छन् तर, एक दिनअघि पछि हुन सक्छ,’ उनले भने,‘हल्ला भएको दिन भन्दा हल्ला नभएकै दिन त्यो टुंगिन सक्छ।’

 Published Date: Wednesday, 15th May 19:38:51 PM