सोमबार, भदौ ३०, २०७६

सरकार समृद्धिको दिशामा अघि नबढे लोकतान्त्रिक गणतन्त्र धरापमा : प्रचण्ड

नेकपा अध्यक्ष प्रचण्ड | तस्वीर:फाइल फोटो

काठमाडौं, भदौ २०ः सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आर्थिक क्षेत्रमा प्रगति गरे मात्र प्राप्त राजनीतिक परिवर्तनलाई जोगाउन सकिने बताएका छन् । 

काठमाडौंमा शुक्रबारबाट सुरु भएको ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) को ४१ औं साधारण सभाको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले निजी क्षेत्रलाई विश्वासमा लिएर मात्रै मुलुकमा आर्थिक रुपान्तरणको यात्रालाई अघि बढाउन सकिने बताएका हुन् । उनले सरकारलाई सोही अनुसारको नीति र कानुन निर्माण गरी अघि बढन पनि सुझाव दिए । 

अध्यक्ष प्रचण्डले आर्थिक समृद्धिको दिशामा बढ्न नसकेमा मुलुकले प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्र पनि धरापमा पर्ने खतरा औंल्याउँदै भने, ‘राजनीतिक नेतृत्व, नागरिक समाज र निजी क्षेत्रले मिलेर मुलुकको आर्थिक विकासमा लाग्नुपर्ने आवश्यक्ता छ। निजी क्षेत्रलाई विश्वासमा लिएर मात्रै मुलुकको आर्थिक समृद्धिको यात्रालाई सफल बनाउन सकिन्छ। सरकारले यसतर्फ पनि ध्यान दिनुपर्छ।’  

प्रचण्डले पर्यटन क्षेत्रको प्रचुर सम्भावनालाई सदुपयोग गरेर मुलुकलाई समृद्ध बनाउन सकिने पनि स्मरण गराए । साधारण सभाले टानको आगामी दुई वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

टानको आगामी नेतृत्वका लागि सत्तारुढ नेकपाको समर्थनमा अध्यक्षको उम्मेदवार अञ्जन थापा र महासचिवमा सरिता लामाले उम्मेदवारी घोषणा गरेका छन् । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस निकट खुमबहादुर सुवेदी समूहबाट सुवेदीले अध्यक्ष र कर्मा शेर्पाले महासचिवमा उम्मेदवारी घोषणा गरेका छन् । दुवै समूहले आ–आफ्नो समूहको विजयी हुने दावी गरेका छन ।

निर्वाचनमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्धितीय उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष र सदस्यहरुसहित  १७ पदका लागि निर्वाचन हुनेछ ।

 Published Date: Friday, 6th September 13:22:33 PM