सोमबार, भदौ ३०, २०७६

प्रचण्ड भन्छन्- केपी, शेरबहादुरजी र म एक्लै हिड्न सक्ने अवस्थामा छैनौं

चितवन, असार १० : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र आफू एक्लाएक्लै हिड्न सक्ने अवस्थामा नरहेको बताएका छन्। 

भरतपुर महानगरपालिकाको चौथो नगरसभाको मंगलबार उद्घाटन गर्दै प्रचण्डले आफूहरु एक्लाएक्लै हिडे अर्को दुर्घटना हुने बताएका हुन्। उनले शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्न पनि तीन नेता एक ठाउँमै रहनु पर्ने अवस्था रहेको बताए। 

‘हामी एक्लै हिड्न सक्ने अवस्थामा छैनौँ, शान्ति प्रक्रियामा मिलेर गर्‍यौँ, संविधान मिलेर ल्यायौँ, हामी एउटै डुङ्गामा यसरी चढेका छौँ, त्यहाँबाट फुत्किनु भनेको अर्को दुर्घटना हुनुबाहेक केही होइन,’ प्रचण्डले भने।

उनले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न प्रतिपक्षी दल कांग्रेससँग मिल्नुको विकल्प नरहेको बताए। ‘हामीले नचाहेपनि शान्ति प्रक्रियाका काम पूरा गर्न प्रतिपक्षसँग मिल्नैपर्छ। शान्तिप्रक्रियाका बाँकी काम पूरा गर्न हामी तीन नेताबीच लगातार छलफल भइरहेको छ,’ उनले भने।

फरक प्रसंगमा प्रचण्डले नेत्रविक्रम चन्द विप्लव समूहको नेकपा ढिलो चाँडो मुलधारमै आउने बताए। ‘जसरी साथी फर्किरहनुभएको छ त्यसरीनै विप्लवजी मुलधारको राजनीतिमा फेरि आउनु हुन्छ,’ उनले भने।

शान्ति सम्झौतापछि दुई वर्षसम्म चन्द आफ्नो सचिवालयको मुख्य सचिवको रुपमा काम गरेको स्मरण गर्दै प्रचण्डले भने,‘चन्दमा केही असन्तुष्टि त्यतिबेला पनि थियो। मलाई विश्वास छ उहाँ मुलधारको राजनीतिमा आउनु हुन्छ।’
 

 Published Date: Tuesday, 25th June 19:17:18 PM