मंगलबार, चैत्र २५, २०७६

प्रधानमन्त्री भेट्न दैनिक बालुवाटार जान्छन् प्रचण्ड

काठमाडौं, असार १९ः नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ केही दिनदेखि नियमित छलफलमा जुटेका छन्।

अस्ति र हिजो बालुवाटार गएका दाहाल बिहीबार बिहान पनि प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका छन्। दैनिक एक-डेढ घण्टा बसेर निस्कने गरेको प्रधानमन्त्रीको निजी सचिवालयबाट थाहा भएको छ। 

केही समयअघि प्रधानमन्त्री आलोपालो गर्ने सहमतिबारे सार्वजनिक अभिव्यक्ति र त्यसपछि सचिवालय बैठकमा ‘जनताको बहुदलीय जनवाद’ बारे विवाद भएपछि सम्बन्ध चिसिएको अनुमान गरिएका दुई नेता नियमित छलफलमा जुटेका छन्। छलफल दुई नेता एक्लाएक्लै बसेर हुने गरेको बालुवाटार स्रोतले जानकारी दियो। 

ओली–दाहाल सम्बन्ध चिसिएसँगै केन्द्रीय सचिवालय बैठक पनि बसेको छैन। बीचमा एकपटक बसेको बैठक पनि पार्टीको राजनीतिक प्रतिवेदनबारे ‘भद्र विवाद’ पछि बीचैमा स्थगित भएको छ।

कहिले बस्ने अझै निश्चित छैन। अध्यक्ष दाहाल तत्काल मन्त्रिमण्डल पुनर्गठनका लागि दबाब दिँदै आएका छन् तर प्रधानमन्त्री ओलीले यो पनि दशैंअघि नगर्ने संकेत गरिसकेका छन्।    दुई अध्यक्षबीच केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाटबारे छलफल भइरहेको नेकपा स्रोतको दाबी छ। प्रधानमन्त्री ओलीले यो काम असारभित्रै सकिने संसदीय दलको बैठकमा जानकारी दिइसकेका छन्। 

पोलिटव्युरो गठन चाहिँ नहुने दिशातर्फ गएको छ। ओली माधव नेपाल गुटका मान्छे धेरै पर्नसक्ने संभावना भएकाले यसै टार्न चाहन्थे तर प्रचण्डसँग दोब्बरभन्दा बढी आकांक्षी भएका कारण नपर्नेको असन्तुष्टिबाट बच्न पनि यो गठन नगर्ने पक्षमा छन्। 
 

 Published Date: Thursday, 4th July 15:01:30 PM