शनिबार, माघ ११, २०७६

प्रहरी हवल्दारको शव तीन दिनदेखि अस्पतालमा, छानविन गर्न विशेष टोली परिचालन

जाजरकोट, पुस २९ : प्रहरी हवल्दारको मृत्यु घटनाबारे छानविन गर्न विशेष टोली घटनास्थल पुगेको छ।

जाजरकोटको दल्लीस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दारको मृत्यु घटनाको विशेषमा अनुसन्धान गर्न सुर्खेतबाट प्रहरी उपरीक्षक (एसपी) सञ्जीव शर्मा दासको नेतृत्वमा  छानविन टोली घटनास्थल पुगेको हो।

नलगाड नगरपालिका–७ दल्लीमा कार्यरत ३५ वर्षीय प्रहरी हवल्दार भोजबहादुर कठायतको पुस २७ गते मृत्यु भएको थियो। उनले आफ्नै कञ्चडमा गोली हानेको प्रहरीको भनाइ थियो।

उनका परिवारले भने आत्महत्या नभएको बताउदै आएका छन्। उनकी पत्नी निशा खत्री कठायतले आत्महत्या नभएको भन्दै शव बुझ्न मानेकी छैनन्। उनले शङ्कास्पद रहेको जनाउँदै छानविनका लागि अनुरोध गरेकी थिइन्।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) पूर्णचन्द्र जोशीले घटनाको विशेष छानविनका लागि प्रहरी उपरीक्षक दास नेतृत्वमा तीन सदस्यीय टोली गठन गरेको बताए। टोलीलाई अनुसन्धान तथा छानबिनका लागि जाजरकोट पठाएको बताए। ‘टोलीले घटनाबारे छानबिन गर्नेछ, पाँच दिनभित्र त्यसको प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ,’ डीआईजी जोशीले भने।

जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरी उपरीक्षक नेतृत्वको उच्चस्तरीय छानबिन टोलीले छानबिन अगाडि बढाएको बताए। मृतकको शव परिवारलाई बुझाउने तयारी भएको उनको भनाइ छ। मृतक हवल्दार कडायतको शव जाजरकोट अस्पतालमा राखिएको छ। तर, तीन दिनसम्म पोस्टमार्टम गरिएको छैन।

प्रदेश प्रहरी कार्यालयबाट गठित प्रहरी उपरीक्षक दास नेतृत्वको टोली र जाजरकोटका प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठसहित घटनास्थल दल्ली पुगिसकेको छ।

पीडित परिवारले भने तीन दिन भइसक्दा पनि स्थानीय प्रशासनले शव बुझाउन कुनै चासो नदेखाएको आरोप लगाएका छन्। बाजुरा घर भई हाल नेपालगञ्ज बस्दै आएका कठायत चार महिनादेखि घुमुवा प्रहरीका रुपमा त्यहाँ काम गर्दै आएका जनाइएको छ।

 Published Date: Tuesday, 14th January 16:06:10 PM