आईतबार, असोज ५, २०७६

प्रधानमन्त्री ओलीले युरोपबाटै दिए सगरमाथा आरोहणको छानविन गर्न निर्देशन 

काठमाडौं, जेठ ३० :  सगरमाथा आरोहणको समस्या बुझ्न भन्दै सरकारले छानविन समिति गठन गरेको छ। सगरमाथा लगायत अन्य हिमाल आरोणमा ट्राफिक जाम भएर आरोहीको मृत्यु हुनेक्रम बढेको भन्दै संसारभर आलोचना भएपछि सरकारले छानविन तथा सुझाव समिति गठन गरेको हो। 

बिहीबार प्रधानमन्त्रीस्तरीय निर्णय अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायको संयोजकत्वमा अध्ययन तथा सुझाव समिति गठन गरिएको हो।

युरोप भ्रणमको क्रममा गत मंगलबार लण्डनमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग  बीबीसीले लिएको अन्तर्वार्तामा अन्तर्वार्ताकारले हिमाल आरोणमा अनुमति धेरै दिएर आरोहीको संख्या मृत्यु भएको भन्ने प्रश्न गरेका थिए। 

तर, प्रधानमन्त्री ओलीले यो विषय प्रोपोगान्डा गरिएको भन्दै सबै आरोही मौसम खुल्ने आशमा बसेको र खुलेसँगै सबै आरोहणतर्फ लागेको बताएका थिए। बीबीसीले अनुमति पत्रपनि विगतका वर्षहरुमा भन्दा बढी दिएको भन्दै प्रधानमन्त्री ओलीलाई प्रश्न सोधेको थियो।

प्रधानमन्त्री ओलीको अन्तर्वार्ताका क्रममा दिएको जवाफलाई लिएर समाजिक सञ्जालमा समेत आलोचना भएको थियो। पर्यटन मन्त्रालय स्रोतले दिएको जानकारी अनुसार प्रधानमन्त्रीले युरोपबाटै प्रधामन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई आरोहणको विषय छानविन गर्न निर्देशन दिएसँगै छानविन समिति गठन गरिएको हो। 

सगरमाथासहित अन्य हिमालका आरोहण र समस्यामा छानविन तथा सुझाव समितिले दिनेगरी गठन गरिएको पर्यटन विभागका महानिर्देशक डन्डुराज घिमिरेले जानकारी दिए। यो सिजनमा २८१ जनाले सगरमाथा आरोहण गरेका थिए। यसपटक अघिल्लो वर्षको तुलनामा आरोहण अनुमति लिने आरोहीको संख्या ३५ जनाले बढेको थियो।

 Published Date: Friday, 14th June 00:28:55 AM