मंगलबार, असार ३०, २०७७

जघन्य घटनाका अपराधीलाई कडा कारवाही गर्न सरकार तयार : प्रधानमन्त्री ओली 

काठमाडौं, जेठ २१ : प्रधानमन्त्री केपी शर्मा ओलीले छुवाछूतसम्बन्धी जघन्य घटनाका अपराधीलाई कडाभन्दा कडा सजाय दिन सरकार दृढतापूर्वक लागेको बताएका छन् ।

छुवाछूत विरुद्धको राष्ट्रिय दिवसका अवसरमा  शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले जघन्य घटनाका अपराधीलाई कारवाही गर्ने कुरामा सरकारले कुनै सम्झौता नगर्ने समेत स्पष्ट पारे ।

सन्देशमा उनले जातीय छुवाछूत, विभेद वा छुवाछूतको पीडामा परेको निश्चित समुदायको मात्र नभई हरेक व्यक्ति, परिवार, समाज र राष्ट्रको समस्या रहेको भन्दै जातीय छुवाछूतका पीडितको मानव अधिकार संरक्षण गर्न, हिंसा अन्त्य गर्न सम्पूर्ण व्यक्ति, परिवार, समाज र सम्बन्धित सबै निकायलाई संवेदनशील हुन आग्रह गरेका छन् ।

“छुवाछूत तथा भेदभाव अन्त्य गर्न म तीनै तहका सम्पूर्ण सरकारी निकाय, राजनीतिक दल, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घसंस्था, नागरिक समाज, मिडिया र आम नागरिकलाई आह्वान गर्दछु”, उनले सन्देशमा उल्लेख  छ ।

प्रधानमन्त्री ओलीले वर्तमान सरकारले समृद्ध नेपालः सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पहिचान गरेर त्यसलाई प्राप्त गर्ने सङ्कल्प गर्दै त्यहाँसम्म पुग्ने बाटो तय गरेकाले त्यसका निम्ति भेदभावरहित सामाजिक न्याय र समानतासहितको समृद्धिलाई आफ्नो उद्देश्य बनाएको बताए ।

उनले मानव सभ्यताको कलङ्कका रुपमा रहेको यस अमानवीय प्रथालाई  कानूनी रुपमा अन्त्य गरेको भन्दै यसलाई सामाजिक रुपमा समूल अन्त्य गर्नका लागि आ–आफ्नो स्थानबाट सक्रिय रहन सबैमा उनले आह्वान समेत गरेका छन् । 

 Published Date: Wednesday, 3rd June 08:25:49 AM