मंगलबार, भदौ ३, २०७६

प्रधानमन्त्री ओलीको सिङ्गापुर बसाइ लम्बिने

| तस्वीर:फाइल

काठमाडौं, साउन २३ : स्वास्थ्य परीक्षणका लागि सिङ्गापुरको नेशनल युनिभर्सिटी अस्पतालमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको बसाइ केही दिन लम्बिने भएको छ। 

स्वास्थ्य परीक्षणको काम नसकिएकाले उनको बसाई लम्बिन सक्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। नियमित स्वास्थ्य परीक्षणका लागि साउन १८ गते सिङ्गापुर पुगेका प्रधानमन्त्री ओली शुक्रबार राति ८ बजे काठमाडौं अवतरण गर्ने कार्यतालिका थियो। 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन आर्यालले अस्पतालको सबै रिपोर्ट हेरेपछि मात्र कहिले फर्कने भन्ने टुंगो लाग्ने जानकारी दिए। काठमाडौंप्रेससँग उनले भने, ‘आज बिहान मात्र प्रधानमन्त्रीज्यूका प्रमुख सल्लाहकार विष्णु रिमालजीसँग मेरो कुरा भएको थियो। उहाँले सबै रिपोर्ट आएपछि मात्र फर्कने दिन टुंगो लाग्ने बताउनुभयो।’

प्रधानमन्त्रीको सचिवालयका अनुसार डिस्चार्ज अघि केही थप स्वास्थ्य परीक्षण गर्नुपर्ने देखिएको छ। त्यसैले पनि प्रधानमन्त्रीको सिंगापुर बसाई लम्बिने भएको हो। कुन दिन फर्कने भन्ने मिति अहिले नै भन्न सक्ने अवस्था नरहेको सचिवालयले जनाएको छ। 
 

 Published Date: Thursday, 8th August 17:59:51 PM