सोमबार, भदौ ३०, २०७६

व्यवसायीहरूले भने-तत्काल प्यान दर्ता र बैंकमार्फत तलब दिन सक्दैनौं

काठमाडौं, साउन २ :  नेपाल घरेलु तथा साना उद्योग महासंघले तत्काल प्यान दर्ता गरी बैंकमार्फत तलब भुक्तानी गर्न नसकिने अवस्था रहेको जनाएको छ। यसका लागि थप समय उपलब्ध गराउन आग्रह गरेको छ।

आर्थिक वर्ष २०७६/७७ देखि निजी क्षेत्रमा काम गर्ने सवै कर्मचारी र मजदुरहरुलाई समेत अनिवार्य प्यान दर्ता गरी बैंकमार्फत तलव भुक्तानी गर्ने व्यवस्था तत्काल लघु, घरेलु तथा साना उद्योगमा लागू गर्ने अवस्था नरहेको महासंघले जनाएको छ।

साथै सामजिक सुरक्षा कोषको व्यवस्था पनि पहिले ठूला र मझौला उद्योगमा लागु गरि त्यसको व्यवहारिक अनुभववाट मात्र क्रमशः लघु, घरेलु तथा साना उद्योगमा लागु गर्न श्रम मन्त्रालय र निजि क्षेत्रका बिच मौखिक सहमति भएको पुष्ठभुमिमा यस्ता उद्योगमा काम गर्ने कर्मचारी र मजदुरलाई प्यान दर्ता गर्ने प्रयोजनको तयारीका लागि ६ महिना अवधि उपलब्ध गराउन महासंघका अध्यक्ष श्याम प्रसाद गिरीले आग्रह गरेका छन्।

आन्तरिक ढुवानीमा गरेको काम तर्फ आ. व. २०७६/७७ देखि लागु गर्न खोजिएको मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भिसिटिएस) र ढुवानीमा मुल्य अभिबृद्धि कर लगाउने व्यवस्थाले लघु, घरेलु तथा साना उद्योगका कच्चा पदार्थ र उत्पादनको ढुवानी ओसार र पसारमा प्रतिकुल प्रभाव पारी त्यसको उत्पादन प्रणालीलाईनै तहस नहस पार्ने हुँदा मुलुककै आपुर्ति व्यवस्था, बैदेशिक निर्यात व्यापार र रोजगारीमा समेत नकारात्मक प्रभाव पर्नेतर्फ महासंघले सरकारको ध्यानाकर्षण गराएको छ।

भिसिटिएसका लागि मोबाईल एप र अनलाईन पोष्टिङ्ग गर्ने जनशक्तिलाई सक्षम बनाउन र भरपर्दो ईन्टरनेट सेवा उपलब्ध गराउन समय लाग्ने हुँदा  ढुवानीमा मुल्य अभिबृद्धि कर कार्यान्वयनका तयारीका लागि कम्तीमा एक वर्षको समय उपलब्ध गराउन महासंघले आग्रह गरेको छ।

मैदा, चिनीलगायतका विभिन्न खाद्य पदार्थमा लगाईएको मूल्य अभिबृद्धि करले स्वदेशी खाद्यवस्तुको मूल्य बृद्धि हुन गई साधारण जनताको जनजीवनमा प्रतिकुल प्रभाव पर्ने हुँदा बाढी पहिरो र प्राकृतिक विपत्तीको यस परिस्थितीमा यसलाई स्थगित गर्न पनि महासंघले आग्रह गरेको छ।

 Published Date: Thursday, 18th July 12:29:38 PM