शुक्रबार, साउन ३०, २०७७

प्रचण्डले ओलीलाई भने - 'साउन २ को स्थायी कमिटी बैठक नसरोस्'

काठमाडाैं, असार ३० : नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साउन २ गतेको स्थायी कमिटी बैठक नटार्न केपी ओलीलाई दबाब दिएका छन्। मंगलबार बालुवाटारमा भएको वान टू वान वार्तामा अध्यक्ष प्रचण्डले साउन २ गतेको स्थायी कमिटी बैठकमा हरहालतमा ओली सहभागी हुनुपर्ने मत राखेको प्रचण्डको सचिवालयले जनाएको छ। 

दुई नेताबीच आज भएको छलफल भने विवाद समाधानका लागि कुनै योजना बनाउन नसकेको विष्णु सापकोटाले जानकारी दिए।'अध्यक्ष प्रचण्डले २ गतेको स्थायी कमिटी बैठक हरहालतमा हुनुपर्ने अडान राख्नुभयो आजको बैठकबाट कुनै निष्कर्ष नआएपछि भोली फेरी बस्नेगरी छलफल स्थगित भएको छ,' सापकोटाले भने।

प्रधानमन्त्री ओलीले पटक पटक स्थायी कमिटी बैठक टार्न खोजेपछि प्रचण्ड चिढिएका छन्। नेकपा विवाद स्थायी रुपमा समाधान हुनुपर्ने मत उनको छ। त्यसका लागि आफूले एकल रुपमा अध्यक्ष चलाउन पाउनुपर्ने र ओलीले कुनै हस्तक्षेप  गर्न नहुने उनको अडान छ।  सरकारको नेतृत्व गरिरहेका ओलीलाई सरकार सञ्चालनमा पूर्ण सहयोग गर्ने र पार्टीमा आफू शक्तिशाली हुने उनको दाउ छ। आजको बैठकमा अनौपचारिक रुपमा प्रचण्डले सर्वशक्तिमान एकल अध्यक्षको प्रस्तावसमेत राखेको बुझिएको छ। 

भेटवार्तमा प्रधानमन्त्री ओलीले भने प्रचण्डले शनिबार गृह जिल्ला चितवनमा गरेको भाषणबारे गुनासो गरेका थिए। नेकपा विवाद समाधानका लागि दुबै जनाको उतिकै जिम्मेवारी रहेकाले अतिरञ्जनापूर्ण अभिव्यक्ति दिँदै नहिँड्न ओलीले प्रचण्डलाई सुझाएको उनको सचिवालयले जनाएको छ।'विवाद समाधानका लागि दुबैको भूमिका महत्वपूर्ण छ, एक पक्षले मात्रै समाधान चाहेको जसरी प्रचारवाजी गर्नु जायज होइन भन्ने प्रधानमन्त्रीको मत थियो,' सचिवालयका ती सदस्यले भने।

नेकपा स्थायी कमिटी बैठक साउन २ गतेका लागि तय गरिएको छ। बाढी पहिरोको राहत वितरणमा केन्द्रित हनुपर्ने र शीर्ष नेतालाई समेत संवादका लागि समय चाहिएको भन्दै बैठक सारिएको थियो। अध्यक्षद्वयबीच एकसातापछि फेरी वान टू वान वार्ता भएको हो।

 Published Date: Tuesday, 14th July 14:53:49 PM