बिहीबार, साउन २, २०७६

शेयर बजार लगातार उकालो, सूचकसँगै कारोबारमा पनि वृद्धि

काठमाडौं, जेठ १ : खुलेदेखि नै बजार स्थिर तर बढ्दो प्रवृत्तिमै थियो। पौने २ सम्म बढ्दो प्रवित्तिमै भए पनि त्यसपछि भने अलिकता विक्री चाप आएको थियो।

बजारमा कारोबार रकम १ अर्ब माथि हुनु र नेप्से प्रवृत्ति केही समयदेखि सकारात्मक प्रवृत्तिमा हुनुले बजारमा खरिदकर्ताहरु नै बलियो रहेको देखाउँछ। निरन्तर केही समयदेखि उत्पादन तथा प्रशोधन उपसूचकमा देखिएको वृद्धि भने बुधबार रोकिएको छ। आज सबैभन्दा धेरै होटल उपसूचक गिरावट देखियो भने ट्रेडिङ्ग उपसूचक सर्वाधिक बढ्यो।  

साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक ५ दशमलव ५५ ले वृद्धि भएर १३२१ को विन्दुमा पुगेको छ। आज दोस्रो बजार परिसूचकमा ० दशमलव ४२ प्रतिशतकोे वृद्धि देखिएको छ। आज दोस्रो बजार १३१५ दशमलव ४५ को विन्दुमा खुलेको थियो भने १३३४ दशमलव ०६ को उच्च विन्दुसम्म पुगेको थियो। 

आज बजारको न्यून विन्दु १३१५ दशमलव ४५ थियो। आज दिनभरमा १ अर्ब ३३  करोड बराबरको शेयर किनबेच भएको छ। केही दिनबाट शिवम सिमेन्टसमा दिनहुँ जस्तो १० प्रतिशतको वृद्धि देखिए पनि आज भने सो क्रममा ब्रेक लागेको छ। शिवम सिमेन्टको शेयर मूल्य ४ दशमलव ७६ प्रतिशतले घटेको छ।

आजको बजारको अवस्था 

आज सर्वाधिक कारोबार हुने 

आज सबैभन्दा धेरै नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको शेयर किनबेच भएको छ। नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको १४ करोड ८२ लाख बराबरको शेयर किनबेच भएको छ। 


आज सर्वाधिक कमाउने र गुमाउने 
आज नेपाल कम्युनिटी डेभेलपमन्ट बैंकका शेयरधनीले सर्वाधिक ७ दशमलव ९७ प्रतिशतले कमाए भने हिमालयन डिष्ट्रिलरीका शेयरधनीले सर्वाधिक ६ दशमलव ०३ प्रतिशतले गुमाए। 


शेयर सूचीकरण 
आज नेप्सेमा ग्लोबल आईएमई लघुवित्त र कृषि विकास बैंकका बोनस शेयर सूचीकृत भएका छन्। 

अन्य गतिविधि 
साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले भागर्व विकास बैंकलाई गाभ्ने सहमति गरेसँगै  भागर्व विकास बैंकको शेयर कारोबार रोकिएको छ। 

प्राविधिक विश्लेषण 

अघिल्लो कारोबार दिनको निष्कर्ष अनुसार यदि बजार १३२५ भन्दा माथि स्थिर रहेमा बजार अझ केही सकारात्मक हुन सक्ने भनिएको थियो। आज बजार यो प्रतिरोधभन्दा माथि गएपनि स्थिर रहन सकेको देखिँदैन।  

चित्र नं १ : दैनिक मैनबत्ती प्रवृत्ति

चित्र नं १, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्तिले अझै पनि लगानीकर्ताहरु अन्योल अवस्थामा देखिएको छ। चित्रमा देखिए बमोजिम प्रवृत्ति रेखाहरुभन्दा नेप्से अंक माथि रहेकाले बजार हालसम्म सकारात्मक क्षेत्रमा रहेको जनाउँछ। आजको मैनबत्तीले सुटिङ्ग स्टारको आकृति बनाएको छ। यसले बजारको तत्कालीन प्रवृत्तिमा परिवर्तन हुन सक्ने संकेत गरे पनि अर्को दिनको मैनबत्तीलाई पनि हेर्नु जरुरी हुन्छ। आजको परिमाणले क्रेता र विक्रेता दुबैको चाप रहेको संकेत गरेको छ। 

चित्र नं. २ : ५ मिनेट मैनबत्ती प्रवृत्ति

चित्र नं.२, आजको कारोबार कस्तो रह्यो भनेर हेर्नलाई ५ मिनेट समयावधिको मैनबत्तीहरुलाई प्रयोग गरिएको छ। आज कारोबार खुलेदेखि बजार बढ्दो प्रवृत्तिमा रहे पनि पछिल्लो समयमा विक्रेताको चाप रहेको र हाल बजार १३२० को टेवा क्षेत्रमा रहेको देखिन्छ। 

२१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरुले खरिद चाप कमजोर हुँदै गएको संकेत गरेको छ। रिलेटिभ स्ट्रेन्थ इन्डेक्स ३२ दशमलव ६१ अंकमा रहेको छ। यसको प्रवृत्तिले कारोबारको अन्तिम समयमा विक्रीकर्ताको चाप रहेको र शेयर बढी विक्री हुन सक्ने संकेत गरेको छ।

स्टोकास्टिक अक्सिलेटरले कारोबारको अन्तिम समयमा विक्रेताको चाप कम हुँदै गएको जनाए पनि बजार सकारात्मक भई हाल्ने संकेत गरेको देखिँदैन। 

निष्कर्ष

माथि उल्लेखित छोटो समयको नेप्से प्रवृत्तिहरु र सूचकहरुले मिश्रित संकेत गरेको छ। त्यसैले पर्ख र हेरको रणनीति अपनाउनु नै उपयुक्त देखिन्छ।

हालको तत्कालीन सामान्य टेवाहरु १३२० र १३१० मा रहेको देखिन्छ भने मुख्य टेवा १३०० मा देखिन्छ। यो आफैमा पनि मनोवैज्ञानिक टेवा क्षेत्र हो। अब बजार फेरि केही सकारात्मक हुनलाई १३३५ भन्दा माथि स्थिर रहनु आवश्यक देखिन्छ। 
 

 Published Date: Wednesday, 15th May 18:47:30 PM