मंगलबार, जेठ ७, २०७६

कांग्रेसले भन्यो–बालुवाटार जग्गा प्रकरणमाथि गहिरो छानविन गरेर दोषीलाई कारबाही गरियोस्

काठमाडौं, वैशाख १७ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बालुवाटारको सरकारी जग्गा प्रकरणबारे गहिरो र गम्भीर छानविन गरेर दोषीमाथि कारबाही गर्न माग गरेको छ। 

कांग्रेसले मंगलबार विज्ञप्ति जारी गरी बालुवाटारको जग्गा प्रकरणबारे गहिरो छानविन गरेर दोषीमाथि कारबाही गर्न माग गरेको हो। प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा प्रतिनिधिसभाको बैठकमा सभापति शेरबहादुर देउवाले बालुवाटार प्रकरणमा संलग्नमाथि कारबाही गर्न माग गरिसकेको स्मरण गराउँदै त्यसमाथि गहिरो छानविन गरेर दोषीलाई दण्डित गर्न माग गरिएको छ।

जग्गा प्रकरणका दोषीलाई जोगाउने ढंगले विषयलाई ढाकछोप र मोड्ने तथा विषयान्तर गर्ने गरी गरिएका प्रचारप्रति कांग्रेस सजग रहेको पनि विज्ञप्तिमा उल्लेख छ।

‘बालुवाटारको जग्गा को ब्यक्तिका नाममा, कसरी पुग्यो?  त्यसमा को संलग्न थिए र छन्? भन्ने विवरण यसबीचमा तथ्य प्रमाणका साथ सार्वजनिक भैसकेको छ,’विज्ञप्तिमा भनिएको छ,‘ दोषीलाई जोगाउने ढंगले, विषयलाई ढाकछोप गर्ने, मोड्ने र विषयान्तर गर्ने ढंगले गरिने कर्म र प्रचारहरुप्रति सजगताका लागि कांग्रेस सबैमा अपिल गर्दछ।’

कांग्रेसले बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएका विषय लगायत विसंगतिविरुद्ध वैशाख २५ मा शुरु हुने ‘राष्ट्रिय जागरण अभियान’ मा राष्ट्रव्यापी रुपमा आवाज उठाउने पनि जनाएको छ।
 

 Published Date: Tuesday, 30th April 18:52:30 PM