बिहीबार, असोज ३०, २०७६

नेपालको नेदरल्याण्ड्सबिरुद्ध शानदार जीत, करण केसीको उत्कृष्ट प्रदर्शन 

| तस्वीर:फाइल फोटो

काठमाडौं, असोज २० : ओमनमा भैरहेको पाँच देशको टी–२० क्रिकेट श्रृंखलाको आफ्नो दोस्रो खेलमा आज नेपालले नेदरल्याण्ड्सलाई ४ विकेटले पराजित गरेको छ । नेपालको जीतमा अलराउण्डर करण केसीको उत्कृष्ट अलराउण्ड प्रदर्शन रह्यो ।    

आइतबार हङकङलाई हराएको नेपालले आज नेदरल्याण्ड्सले दिएको १३४ रनको लक्ष्य करण केसीले १४ बलमा बनाएको ३१ रन मद्दतले भेट्टाउन सफल रह्यो । बलियो टोली नेदरल्याण्ड्सलाई पराजित गर्नु नेपालको राम्रै सफलता हो । यसअघि, नेदरल्याड्सलाई सस्तैमा समेट्ने क्रममा करण र सन्दिप लामिछानेले ४/४ विकेट लिएका थिए ।

टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याड्सले १९.३ ओभरमा सबै विकेट गुमाएर १३३ रन बनाएको थियो भने नेपालले एक बल बाँकी छँदा छ विकेट गुमाएर सो लक्ष भेट्टाएको हो । 

यसअघि, आइतबार भएको खेलमा नेपालले हङकङलाई हराउँदै पाँच देशको टी-२० श्रृंखलामा सुखद सुरुवात गरेको थियो ।

आइतबार भएको आफ्नो पहिलो खेलमा नेपालले हङकङलाई ४ विकेटले हराएको थियो । हङकङले दिएको १२६ रनको लक्ष्य नेपालले १९ ओभर खेल्दै ६ विकेट क्षतिमा भेट्टाएको थियो । 

 Published Date: Monday, 7th October 14:42:54 PM