मंगलबार, जेठ ७, २०७६

सर्वोच्चले भन्यो–अर्को आदेश नभएसम्म एनसेलबाट लाभकर नउठाउनू 

काठमाडौं, वैशाख २४ : सर्वोच्च अदालतले एनसेलबाट उठाउनु पर्ने लाभकरबारेको विवाद पूर्ण इजलासमा पठाएको छ।

न्यायाधीशद्वय सपना मल्ल र प्रकाशकुमार डुंगानाको इजलासले एनसेलबाट उठाउनु पर्ने लाभकरबारे बृहत पूर्ण इजलासबाटै किनारा लागेकाले फेरि पूर्ण इजलासमै पठाउने आदेश दिएको हो।

इजलासले अर्को आदेश नभएसम्म एनसेलबाट लाभकर नउठाउन पनि आदेश दिएको छ। ठूला करदाता कार्यालयले एनसेलबाट उठाउनु पर्ने लाभकरबारे टुंगो लगाउन जेठ २१ का लागि पूर्ण इजलास तोक्न पनि आदेश दिइएको छ। 

यसअघि सर्वोच्चले टेलियासोनेरा कम्पनीले मलेसियाको एक्जियटा कम्पनीलाई एनसेलको ८० प्रतिशत सेयर स्वामित्व विक्री गर्दा भएको पूँजीगत  लाभको करबापत एनसेलले नै तिर्नुपर्ने भनेपछि ठूला करदाता कार्यालयले ६० अर्ब ७१ करोड कर निर्धारण गरेको थियो।

ठूला करदाता कार्यालयले २१ अर्ब ५४ करोड ८० लाख ५५ हजार ९ सय रूपैयाँ अग्रिम र विलम्ब शुल्कवापत २ अर्ब २६ करोड २३ लाख ४ हजार ८ सय ५१ रूपैयाँ  तिरिसकेकाले  अब एनसेलले ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रूपैयाँ तिर्न बाँकी रहेको ठहर गरेको थियो।

तर, एनसेलले भने अब १४ अर्ब ३६ करोड  ५३ लाख ७० हजार ६ सय रूपैयाँमात्र तिर्न बाँकी रहेको भन्दै सर्वोच्चमा रिट दायर गरेको थियो।

 Published Date: Tuesday, 7th May 19:15:13 PM